पाल्पा, असोज २३ - पूर्वी पाल्पाको दर्छा गाविस ३ गिजिन डाँडामा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। एकजनाको घटनास्थलमै र अर्का एक बालकको उपचारका लागि तानसेन लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ प्रहरीले जनाएको छ। रामपुरबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६५२६ नम्बरको टक्र आइतबार दुर्घटना हुँदा ट्रकका सहचालक दर्छा ८ खोप्टारका २५ बर्षीय रामचन्द्र पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। घाइते भएका स्याङ्गजा चिन्नेबास काँडे स्थायी घर भई रामपुर ३ मटेरीमा बस्दै आएका ९ बर्षीय बालक तेजेन्द्र रानाको उपचार गर्न सदरमुकाम तानसेन लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। उनको टाउँको र हातमा गम्भीर चोट लागेको थियो। रानाकी आमा ३४ बर्षकी देबीका राना सामान्य घाइते भएकी छन्। ट्रकका चालक दर्छा १ पाल्पाका प्रेम जर्घा गम्भीर छन्। घाइतेको प्राथमिक स्वास्थ्यकेन्द्र रामपुरमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रवास तानसेनमा उपचार भइरहेको छ। ट्रक सडकबाट करिब तीनसय मिटर तल खेतमा खसेको थियो।
source:-nagariknews