काठमाडौ, श्रावण ३० - विदेशबाट फर्किएपछि विमानस्थलमा अपरिचितले दिएको जुस वा कुनै प्रकारको पेयपदार्थ पिउने गर्नुभएको छ ? एकैछिनको प्यास मेटाउने पेयपदार्थले विदेशमा कमाएर ल्याएको सपना मेटाइदेला । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाता जोड्दै र सघाउने भन्दै आएका अपरिचितले तपाईंलाई बेहोस बनाएर लुट्लान् नि । ताप्लेजुङका खड्गबहादुर नेपाली यस्तै लुटेराको सिकार बनेका छन् । कतारमा काम गरेर फर्किएका नेपाली अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीबाट लुटिएका छन् । अनुसन्धान विभागका सहायक सूचक शशिकान्त झाबाट लुटिएका हुन् । झा महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । एक साताअघि विमानस्थलमा ओर्लिएका नेपालीलाई झाले विमानबाट ओर्लिनेबित्तिकैदेखि आफ्नो साथीको होटलमा बस्न कर गर्दै आएका थिए । 'म नजाने भन्दै विमानस्थल बाहिर आइपुग्दा पनि उनले मेरो पछि छाडेनन्,' नेपालीले भने, 'रेडबुलमा लठ्याउने औषधि हालेर मलाई लुटे ।' नेपालीका अनुसार एयरपोर्टको मुख्य ढोका बाहिर आइपुग्दा ट्याक्सी चालकले खोलेको रेडबुल खान आग्रह गरे । 'खान्नभन्दा पनि विदेशबाट आउनुभएको छ, खानुहोस्, भाइले दिएको हो भन्दै मलाई फकाए,' उनले भने, 'दुई घुड्की पिउन नपाउँदै म बेहोस भएँ ।' कहाँ जाने ? घर कहाँ हो भन्दै सोध्दै लगेर आफूलाई भुलाएको नेपालीको भनाइ छ । गौशालाको टिकट काउन्टरमा पुर्याएर उनलाई काँकडभिट्टा जाने बसमा टिकट काटेर पठाइदिन लाग्दा आफू होसमा आएको उनले बताए । 'ल भाइ राम्रोसँग जाऊ भन्दा पो होसमा आएछु, कहाँ जाने ? भन्दा उसले उत्तर दिएन, अनुहार हेरेको त विमानस्थलमा मलाई जबरजस्ती गर्ने पो रहेछ,' उनले भने, 'अनि अत्तालिएर आफ्नो पर्स हेर्दा सबै पैसा र सुन लगिसकेछ ।' उनले आफूले कतारबाट ल्याएको दुई ढिक्का सुन, दुईवटा सोनी इरेक्सन मोबाइल सेट, ११ हजार नेपाली रुपैयाँ र कतारी रियाल लुटेको बताए । 'मैले कठालामा समाएर मेरो सुन र पैसा माग्दा मलाई लडाएर भाग्न खोजेपछि अरूले सहयोग गरेर उसलाई पक्रिए,' नेपालीले भने, 'विदेशमा गएर मिहिनेत गरेको पैसा पलभरमै लुटियो ।' गौशाला प्रहरी प्रभागमा बुझाइएका उनलाई तत्काल थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको थियो । बौद्ध वृत्तका डीएसपी श्याम ज्ञवालीले लुटपाटमा संलग्न झामाथि अनुसन्धान भइरहेको बताए । पक्राउ परेका झाको साथबाट प्रहरीले राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्र र ३२ हजार रुपैयाँ नगद बरामद गरेको थियो । बरामद परिचयपत्रका बारेमा प्रहरीले अनुसन्धान गर्दा उनी राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी भएको तथ्य खुलेको थियो । 'राष्ट्रिय अनुसन्धान विभागले पनि उनी विभागकै कर्मचारी भएको प्रमाणित गरिदिएको छ,' ज्ञवालीले भने । लुटेरा झालाई प्रहरीले चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सीका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ । विभिन्न खाडी मुलुकमा काम गरेर आउने कामदार लुटिने गरेको घटना यो पहिलो भने होइन । यसअघि पनि विमानस्थलमै कार्यरत कर्मचारी र ट्याक्सी चालकबाट उनीहरू लुटिने गरेका छन् । १५ दिनअघि मलेसियाबाट आएका संखुवासभाका वीरध्वज लामा पनि लुटिएका थिए । ट्याक्सीमा राखेर रियल जुस खाएका उनी विराटनगर पुगेपछि मात्र होसमा आएका थिए । लुटेराले उनको साथमा रहेको ५० हजार नगद र ३ वटा मोबाइल सेट लगेका थिए ।
source:-ekantipur