काठमाडौ, श्रावण ३० - चर्चित कत्थक नृत्याङ्गना शोभना नारायणन तेस्रो पटक नेपाल आउँदै छिन् । यी कत्थक गुरुलाई भारतको ६५ औं स्वतन्त्रता दिवस अवसरमा भारतीय दूतावास र बीपी कोइराला नेपाल-भारत फाउन्डेसनले निम्त्याएका हुन् । उनले काठमाडौं, विराटनगर र वीरगन्जमा नृत्य पस्किनेछिन् । 'उनको प्रस्तुतिलाई नेपालीहरूले धेरै मन पराएकोले यसपटक पनि निम्त्याएका हौं,' दूतावास काउन्सिलर अपूर्वा श्रीवास्तवले भनिन्, 'फेरि उनी काम पनि राम्रै गर्ने प्रतिभा हुन् ।' पद्मश्री, संगीत नाटक अवार्ड, गान्धी पुरस्कार लगायतबाट सम्मानित शोभना कत्थककी गम्भीर अध्येता एवं कत्थक सिद्धान्त पुनर्परिभाषित गर्ने विद्वान्का रूपमा समेत चिनिन्छिन् । उनले सयौं राष्ट्रका प्रमुख तथा सरकार प्रमुखका अगाडि नृत्य कौशल देखाइसकेकी छन् । शोभनालाई कारण सहितकी नृत्याङ्गनाको रूपमा समेत लिइन्छ, जो संगीतलाई मानवता र जनताको प्रत्यक्ष समस्यासँग समेत जोड्न चाहन्छिन् । कारगिल युद्ध तथा सुनामी पीडित परिवारलाई सहयोग जुटाउन उनले सांगीतिक अभियान नै गरेकी थिइन् । कत्थकलाई 'मन्दिरहरूको नाच' भन्दै केही मन्दिरहरूको दर्शन र इतिहासको अवधारणा विकास गरी नृत्य भिडियो निकाल्ने उनी नै प्रथम नृत्याङ्गना हुन् । कत्थक सम्बन्धी करिब एक दर्जन पुस्तक समेत लेखिसकेकी शोभना भारत तथा विदेशका धेरै विश्वविद्यालयमा अतिथि प्राध्यापकको रूपमा समेत क्रियाशील छिन् । 'बहुआयामिक र गतिशील शोभना वास्तविक कत्थकको एक शास्त्रीय उदाहरण हुन्,' श्रीवास्तवले शोभनाको कामबारे भनिन्, 'जसले आजका दर्शकहरूलाई एक चुनौती प्रस्तुत गर्छिन् ।' शोभना पछिल्लो पटक सन् २००८ मा नेपाल आएकी थिइन् । त्यति बेलाको दर्शक चाप र जिज्ञासालाई ख्याल राखी यस पटक तीन ठाउँमा उनको प्रस्तुति राख्न लागेको दूतावासले जनाएको छ ।
source:-ekantipur









0 commentaires