काठमाडौं, साउन ३० - जन्मिएलगत्तै फ्याकिएका जुम्ल्याहा शिशु नयाँ अभिभावकको घर पुगेका छन्। तीन दिनको उपचारपछि उनीहरूलाई जोरपाटीको शंकरापुर अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो। ती शिशु साउन २३ मा डाँछी चौरनजिकै टिनको छाप्रोमा सालनालसहित फालिएको अवस्थामा फेला परेका थिए। जन्मनासाथ चिसोमा राखिएकाले छातीमा संक्रमण देखिएका उनीहरूलाई अस्पताल भर्ना गरिएपछि त्यहीं रवि कार्कीले बालक र कृष्ण दाहालले बालिकालाई धर्म सन्तानका रूपमा ग्रहण गरेका थिए। अस्पतालले डिस्चार्ज गरेपछि महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएर उनीहरूले ती शिशुलाई आ-आफ्नो घर लगेका हुन्। दाहालले 'एक मात्र छोरा रहेको र छोरीको चाहना भएकाले बालिकाको अभिभावकत्व पाउँ' भनेका छन् भने कार्कीले 'कुनै सन्तान नभएकाले बालकलाई धर्मसन्तानका रूपमा ग्रहण गर्न चाहेको' उल्लेख गरेका छन्। उनीहरूले शिशुको उपचार खर्चसमेत बेहोरेका थिए। 'उनीहरूलाई धर्म सन्तानका रूपमा स्वीकारेका दुवै जनाले प्रमुख जिल्ला अधिकारीलाई भेटेर कार्यालयमा निवेदन दिएकाले प्रक्रिया सुरु गरिसकेका छौं,' बौद्ध वृत्तका प्रमुख श्यामलाल ज्ञवालीले भने। कानुनी व्यवस्था अनुसार पहिलोपटक ३५ दिने र दोस्रोपटक १५ दिने सार्वजनिक सूचना जारी गरी अभिभावक वा आफन्त दाबी गर्न नआए धर्म सन्तानका रूपमा अभिभावकत्व दिन सकिन्छ।
source:-nagriknews