अब शिवजीलाई लिएर डिस्कोतिर...


कोमल वलीको गायकी संधै चर्चामा रहने गर्छ । लगभग एक दर्जन एल्बम निकालिसकेकी यी गायिका कहिले 'पोइल जान पाम...' भन्छिन्, कहिले, 'गोजीमा गाँठ भाको मर्द भेटिएन...', कहिले 'झ्वाँक तन्नेरी...' त कहिले 'धत्तेरिका शिवजी रहछौ बद्मास...' भन्छिन् । उनको अर्को विशेषता हो लगातार 'शिवजी शृंखला' मा तीज एल्बम । 'पोइल जान पाम' देखि वर्षैपिच्छे 'कान्छी बूढी नल्याओस् मेरा बूढाले', 'झकास', 'भेटिएन कोही', 'बदमास' एल्बम निकालेकी उनले यस पटक भने नयाँ थिममा काम गरेकी छन् । हालै बजारमा आएको 'बबाल तीज' मा उनले डिस्को कल्चरमा तीजलाई भित्र्याउने कोसिस गरेकी छन् ।

पाँच वर्षअघि 'पोइल जान पाम’ एल्बमदेखि पछयाएका शिवजीलाई यसपटक छाड्नुभयो नि ?
शिवजीले मनको कुरा नै सुनिदिनुभएन । अब शिवजीलाई लिएर डिस्कोतिर पो जाँदै छु यसपटक, धुवाँ उडाउन ।
तीज एल्बममा डिस्कोको कुरा...
यो बिलकुल न्यु जेनेरेसनलाई हेरेर तयार पारिएको गीत हो । तीज हिन्दु नारी समुदायको आस्था, परम्परा र संस्कृति भए पनि नयाँ पुस्ता विमुख हुँदै छ । यो पुस्तालाई तीजतिर तान्न यसो गरेकी हुँ । फेरि यो समय अनुसारको कुरा पनि हो ।
भन्नाले ?
समय अनुसार मान्छेको इच्छा, आकांक्षा र शैली बदलिँदै जान्छ । मैले पहिलो तीज एल्बम निकालेको समय  (२०५०) र अहिलेको समयबीचमै पनि धेरै बदलाब आइसक्यो । पहिलोमा मैले 'मेरो बाबा हुँदा हुन् तो चोलिया दाइजो दिँदा हुन्, लेऊ न भाउजू मलाई जोली परेवा...' गाएकी थिएँ । दाइजोमा परेवा दिने जमाना थियो त्यो, छोरी बिहानै उठोस् भनेर । अचेल श्रीमतीहरू घाम उदाएसम्म सुत्छन् र लोग्नेहरू मर्निङ-वाक गइवरि कफी बनाउन भ्याइसक्छन् ।
यो त सहरी परिवेशको कुरा... 
एल्बममा म एकदमै ब्यालेन्समा छु । सहर र गाउँ दुवैलाई मन पर्ने गीत छन् । इन्फरमेसन टेक्नोलजीको जमाना हो, अब गाउँ पनि सहरबाट कति नै टाढा छ र ?
भनेपछि, आधुनिक बजारिया संस्कृतिलाई यसपटकको एल्बममा समेट्नुभएको छ ?
सबैजना अहिलेभन्दा एक स्टेप एड्भान्स हुन चाहन्छन् । पुराना सोच र संस्कारहरू परिमार्जन हुँदै जान्छन् । यस पटक यही थिममा काम गरेकी छु । 
डिस्को पुस्तालाई समेट्ने अवधारणा कसरी आयो ?
कन्सर्टहरूमा गाउन जाँदा यस्तो अवधारणा आयो । मैले गाइन्जेल लोकलयमा ताली बजाएर दर्शकहरू नाच्छन्, त्यसपछि त डिजेले बजाएको फास्ट विट म्युजिकतिर तन्नेरी पुस्ता झुम्मिहाल्छ । कतै 'मुन्नी बदनाम हुई...' त कतै 'शिला के जवानी...' । जहाँ पनि यस्तै हो भने उनीहरूलाई नचाउन किन अरूको गीतको साहरा लिने ? अनि फास्ट डान्सिङ बिटमा काम गरें । रमेश बिजीका श्ाब्द र दण्डपाणि पाण्डेको संगीत साँच्चै बोल्ड लाग्नेछ श्रोतालाई ।
अंग्रेजी र्‍याप पनि हाल्नुभएछ ?
हो, नयाँ पुस्ताका लागि काम गर्ने भएपछि किन नगर्ने भन्ने लाग्यो । अनि गीतको बीचबीचमा घुसाइदिएँ- 'लेट्स हयाभ अ सेलिब्रेसन, दिस इज आवर ट्रेडिसन...' ।
परम्पराको कहाँ आयो त ?
कुरा परम्परा, संस्कृतिकै हो । तीजकै हो । शैली मात्रै फरक । मेरा जति पनि तीजका गीत छन्, दिदीबहिनीकै एंगलबाट दृष्टिकोण दिन खोजेकी छु । हरेक लोग्नेमान्छे स्वास्नी सधैं चुरा, पोते र सिन्दुरमा चिटिक्क सजिऊन् भन्ठान्छन् । अब प्रेमको शैली पनि बदलिँदै गएको देख्छु । पतिभक्त हुनलाई चुरा, पोते र सिन्दुर नै लाउनुपर्छ र ?
तपाईंलाई अलिक छाडा गायिका भन्ने पनि छन् नि ?
हाम्रो संस्कारले जे भन्छ, मैले त्यही गाएकी हुँ । तीजमा राम्रो पतिकै लागि प्रार्थना गर्ने हुन्, गाउने हुन्, नाच्ने हुन् । हिन्दु संस्कारले नारीलाई यसरी नै मनोवैज्ञानिक रूपमा दीक्षित पार्छ । म सानैमा तीजको व्रत बस्दा मलाई केही थाहा थिएन, आमाले 'शिव सम्झेर राम्रो पोई (वर) माग्' भन्नुभो । यसैलाई मैले गीत बनाएँ अपन म कसरी छाडा ? गीत अश्लील थियो भने देशविदेशका कन्सर्टमा किन त्यही गीत रुचाइन्छ, किन ५० हजार एल्बम बिक्छ ?
यसपटक पनि जाँदै हुनुहन्छ हैन विदेश ?
बिहीबार बेलायत उड्दै छु । प्रायः विदेशमा कन्सर्ट भई नै रहन्छन् । 'पोइल जान पाम' एल्बमको बेला सबैभन्दा बढी विदेश यात्रा गरें । कोरिया, जर्मनी, बेल्जियम, मलेसिया, हङकङ, इटली, फिनल्यान्ड लगायत डेढ दर्जन देश गएँ ।
कन्सर्टमै फयानहरूले बिहेको प्रस्ताव राख्छन् होला है ?
राख्छन्, (हाँस्दै) तर उनीहरू स्टेजभन्दा तल हुन्छन् नि । प्रस्ताव राख्नेहरूको नजिकै गएर के छ विचार भन्दा चैं हच्किन्छन् । हक्की स्वभावले गर्दा उनीहरू तर्सिन्छन् कि क्या हो ।  

कन्तिपुरबाट

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login