चोरी र लुटपाट रोक्न 'साइरन'



निर्मल घिमिरे, काठमाडौं, असार २६- चोरी र लुटपाटविरुद्ध सामूहिक रूपले लाग्न राजधानीका टोलहरूमा 'साइरन प्रविधि' विस्तार हुन थालेको छ। दिउँसै लुटपाट बढेका बेला यस्तो उपाय अपनाउँदा सुरक्षित महसुस गरेको टोलबासी सुनाउँछन्।      सामाखुसी प्रयासनगरमा तीन महिनाअघि स्थानीय हर्ष बज्राचार्यलाई सुतिरहेका बेला एक समूहले सांघातिक आक्रमण गरी लुटपाट गरेपछि टोलवासीले यस्तो उपाय अपनाएका हुन्। साइरन जडान गरिएको साढे दुई महिनायता एउटा पनि चोरी वा लुटपाटको घटना नभएको टोलवासी सुनाउँछन्।  स्थानीयले उपभोक्ता समिति नै गठन गरी यो योजना अघि बढाएका हुन्। यसरी गठित 'नमूना उपभोक्ता समाज'का सदस्यले टोलमा जुनसुकै घरबाट आएको संकेतका आधारमा साइरन बज्नेबित्तिकै लुटेरालाई पक्राउ गरी प्रहरीमा बुझाउने नियम बसालेका छन्।  समाजमा सामाखुसी, गोगंबु-७ र धापासी -८ का १ सय ५० सदस्यका घर समेटिएका छन्। 'कुनै पनि सदस्यले साइरन बजाउनेबित्तिकै सबै उपभोक्ता अनिवार्य रूपले घटनास्थल पुग्नैपर्ने नियम राखेका छौं,' समितिका अध्यक्ष सूर्यनाथ कोइराला भन्छन्, 'दिन-रात नभनेर एकजुट भएपछि चोरी तथा लुटपाट गर्नेको मनोबलै रहँदैन।'  जडान गरिएको साइरन बजाउन प्रत्येक घरमा दुइटा टेलिफोन नम्बरलाई यो प्रविधिअन्तर्गत सेट गरिएको छ। त्यसरी दर्ता गरिएको जुनसुकै नम्बरबाट फोन गर्नेबित्तिकै साइरन बज्न थाल्छ। साइरन बज्नासाथ प्रत्येक सदस्यको मोबाइलमा एसएमएस पनि आउन सुरु हुन्छ।   'यति भएपछि कसको घरमा समस्या परेको भन्ने सबैले थाहा पाउँछन्,' अध्यक्ष कोइरालाले भने, 'यसरी सदस्य बीच विस्तारित सूचनाका आधारमा तत्कालै भिड जुट्छ।' 'घरमा सधैं लोग्नेमान्छे हुन्छन् भन्ने छैन, केही परिहाले प्रहरीलाई फोन गर्दा पनि उठाउन वा आइपुग्न ढिला गरिदेलान्,' गृहिणी सुस्मिता ज्ञवाली भन्छिन्, 'यस्तो बेला सुरक्षाको यो व्यवस्थाले ढुक्क बनाएको छ।'  बाटो वारिपारि गरी ४-४ वटा साइरन जडान गर्न समितिले प्रत्येक घरधुरीबाट दुई हजार रुपैयाँ उठाएर कोष स्थापना गरेको छ। उठेको रकममध्ये साइरनका निम्ति १ लाख २५ हजार रुपैयाँ परेको र बाँकी पैसा अन्य विकास निर्माणमा लगाइने समितिले जनाएको छ।   गोंगबु बसपार्कसँग टासिएकाले पनि चोरीका घटना भइरहने सो क्षेत्रमा अहिले चोरी र लुटपाटको चिन्ता हटेको स्थानीय श्रीकानत कोइराला बताउँछन्। यसरी जडान गरिएको साइरन कुनै सदस्यले दुरुपयोग पनि गर्न सक्ने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा १५ सय रुपैयाँसम्म जरिवाना गर्ने नियम राखिएको छ।

नागरिक
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login