दिलीप पौडेल, बाग्लुङ, असार २६- आफूलाई जन्म दिने आमाले नै दोस्रो बिहे गरी घरसमेत बेचेपछि छोराछोरी कहाँ जालान्? बानपा-३ गुठीकी एक महिलाले काल्पनिक जस्तो लाग्ने यस्तै घटनालाई यथार्थ बनाएपछि १३ वर्षीय छोरी बिचल्लीमा परेकी छिन्। २०६१ सालमा बाबु तीर्थबहादुर सार्कीको मृत्युपछि आमा गंगा सार्कीले दोश्रो बिहे गर्दा कक्षा आठमा पढ्दैगरेकी सन्तोषीको बेहाल भएको हो। सन्तोषी केही समय आमासँग बसेकी थिइन्। तर, सौतेलो बाबुले कुटपिट गर्न थालेपछि उनी फेरि घरै फर्केकी थिइन्। चार छोरीमध्ये तीन दिदीको बिहे भइसके पनि लालनपालन त परैजाओस् भएको अंशसमेत नपाउँदा सन्तोषी अलपत्र परेकी हुन्। छोरीलाई थाहा नदिई गंगाले छिमेकी नन्दकुमारीलाई सुटुक्क अंश बेचेकी थिइन्। त्यसपछि सन्तोषीले अंश, सम्पत्ति फिर्ता, लिखत बदर तथा हक कायमको माग गर्दै जिल्ला र पुनरावेदन अदालतमा मुद्दा हालेकी थिइन्। दुवै अदालतले विपक्षमा फैसला गरेपछि सन्तोषीले फेरि सर्वोच्च गुहारेकी थिइन्। सर्वोच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै प्रहरीले घर खाली गरिदिएपछि सन्तोषीलाई आपत परेको छ। उनले घर बेच्ने र किन्ने दुवैलाई विपक्षी बनाएर मुद्दा हालेकी थिइन्। अदातलले नाबालिकाको हितमा फैसला नगर्दा सन्तोषीको बिचल्ली भएको कानुन व्यवसायी केशवराज पराजुलीले बताए। 'जग्गा किन्नेको सम्पत्तिमाथि हक भए पनि नाबालिकाको बिषयमा चाहिं अदालतले विचार गर्नुपर्थ्यो,' सन्तोषीको वकिलसमेत रहेका पराजुलीले भने। यसअघि दुवै अदालतले फैसला गरिसकेकाले सर्वोच्चको फैसला कुरिरहनुपरेन,' जिल्ला अदालत बागलुङका रजिष्ट्रार खिमबहादुर थापाले भने, 'त्यसैले प्रहरी लगाएर घर खाली गरायौं।' घर खाली गर्न गएका दुइ दर्जन प्रहरीले झरी परिरहेकोबेला भित्रका सबै सामान सडकमा मिल्काएपछि स्थानीय क्रुद्ध भएका थिए। डाँको छोडेर रोएकी सन्तोषीसँगै छिमेकी दर्जनौ महिला रोइरहेका थिए। 'जन्म दिने आमाले नै यतिसम्म गर्नुहोला भन्ने लागेको थिएन,' सन्तोषीले पीडा पोखिन्, 'घरजग्गा खोसियो, अब कहाँ जाने होला!' पीडित बालिकालाई जिल्ला बालकल्याण समितिले तत्कालका लागि आश्रय दिएको छ। घर किन्ने नन्दकुमारीको पैसा चन्दा उठाएर भए पनि फिर्ता गर्ने स्थानीय महिलाले जनाएका छन्। १३ लाख रुपैयाँमा बेचेको भनिएको घर राजिनामा गर्दा ५ लाख रुपैयाँ मात्र लेखेको पाइएपछि स्थानीयले थैली फर्काइदिने आश्वासन सन्तोषीलाई दिलाएका छन्।
नागरिक