चौबिसै घण्टा प्रहरीले पहरा दिने ठाउँमै अन्तर्राराष्ट्रिय कुस्ती खेलाडीको हत्या
गौर (रौतहट), अषाढ २३ - अज्ञात समूहले रौतहटका पूर्व अन्तर्राराष्ट्रिय कुस्ती खेलाडीको बिहीबार साँझ गोली हानी हत्या गरेको छ । सदरमुकाम गौरको मुख्य चौकमा साँझ साढे आठ बजे दासमामाथि पछाडिबाट गोली प्रहार गरी उक्त समूह फरार भएको थियो । उनलाई गोली प्रहार गरेको स्थानमा प्रहरीे चौबिसै घण्टा ड्युटी बस्ने गर्छ । तर दासमाथि गोली प्रहार भएको प्रहरीले समेत पत्तो पाएन । सदरमुकाम गौर नगरपालिका- ८ स्थित कर्मचारी मिलन केन्द अगाडि सवा ८ बजे साथी सँग गफ गरिरहेको बेला अज्ञात समुहले पछाडीबाट अन्तर्राराष्ट्रिय खेलाडी उपेन्द्र दास बैरागीमाथि गोली प्रहार भएको हो । ४५ वर्षीय दासको पछाडीबाट गोली वारपार भएको थियो । दासलाई तत्कालै उपचारको लागि अस्पताल लैजाँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक घनश्याम अर्यालले दासमाथि लोडसेडिङको फाईदा उठाउँदै अपराधी समुहले गोली प्रहार गरी फरार भएको बताए । अँध्यारोले गर्दा त्यहाँ खटेको सुरक्षाकर्मीले समेत थाहा नपाएको अर्यालले जनाए । उनले घट्नामा सलग्न चाँडै पक्राउ पर्ने बताए । विगत एक दसक बढि समयदेखि दास असुरक्षाको कारण जनाउँदै आफ्नो गाँउ प्रेमपुर गोनाही गाविस छाडेर सदरमुकाम गौर बस्दै आएका थिए । नेपालमा भएको आठौं साफ खेलकुद प्रतियोगितामा दासले कुस्ती खेलमा कांस्य पदक जितेका थिए । सुरक्षाकर्मीको पहराको बाबजुद पनि दासको हत्या भएको भन्दै रौतहट फुटबल सघ रौतहटका अध्यक्ष नेपाल कार्की र सितोरिया कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले घट्नाको भर्त्सना गरेका छन् । उनीहरुले फितलो सुरक्षाको कारण खेलाडीको हत्या भएको भन्दै संलग्नलाई कारबाहीको माग गरेका छन् ।
ekantipur