
बिनोद नेपाल श्रावन १ अमेरिकाको कोलम्बियामा बस्दै आएका एक नेपालीले पर्यटन वर्षको अवसर पारेर विदेशीलाई नेपाली खानाको स्वाद दिन त्यहाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
सिन्धुलीजन्म भई हाल सर्लाही मुर्तीया ४ घर भएका छत्रबहादुर मैनालीले पत्नी मारिया इमा डियाजसँग मिलेर राजधानी बोगोटा डिसीमा नेपाली मौलिक खाना मात्र पाइने सगरमाथा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका
हुन् । मैले यहाँ नेपालबारे कसैले जानकारी नपाएको पाएपछि आफ्नो मुलुकलाई चिनाउन नेपाली खानाको रेस्टुरेन्ट खोलेको हुँ, मैनालीले फोनमा कान्तिपुरसँग भने, 'यसैमार्फत नेपालमा मनाइँदै गरेको पर्यटन वर्षमा पर्यटकलाई भ्रमण गराउने मेरो चाहना हो ।' उनले आफ्नो रेस्टुरेन्टमा 'एभरेस्टभूमिको खानाको स्वादका लागि आमन्त्रण' भनेर नारा लेखेका छन् । उनले रेस्टुरेन्ट खोलेर पैसा कमाउनेभन्दा आफ्नो मुलुकलाई चिनाउन चाहेको बताए ।
आफ्नो रेस्टुरेन्टमा नेपाली मौलिक खाना ढिंडो गुन्द्रुकका साथ मम, रोटी, पालक पनिर, दालभातलगायत माछामासुका परिकार पाइने जानकारी दिए । आफ्नो देशमा नयाँ रेस्टुरेन्ट खुुलेको देखेर कोलम्बियाली उत्सुक हुँदै आउने गरेको जानकारी दिए ।
उनले आफ्नो रेस्टुरेन्टमा आउनेलाई नेपालबारे जानकारी दिने गरेका छन् । रेस्टुरेन्टभरि नेपालका प्राकृतिक सम्पदा, पर्यटकीय स्थल, धार्मिक स्थलहरूको तस्बिर टाँगेका छन् । नेपालबारे जिज्ञासा राख्दै आउने विदेशीहरूलाई आफूले सगरमाथाको देश भनेर जानकारी गराएपछि उनीहरूले एकपटक भ्रमण गर्ने इच्छा जाहेर गरेको उनले बताए । उनले नेपालका पयर्टन मन्त्रालय, पर्यटन बोर्ड, ट्राभल एजेन्सीलगायतले नेपालको प्रचारसामग्री उपलब्ध गराए आफूले सक्रिय भएर कोलम्बिया लगायतका दक्षिण अमेरिकी मुलुकमा भ्रमण वर्षलाई सघाउने गरी स्वदेशको प्रचारप्रसार गर्ने बताए । 'म सम्बन्धित निकायलाई त्यस्ता सामग्री उपलब्ध गराइ दिन आग्रह गर्छु, उनले भने, आफ्नो मुलुकलाई विदेशमा चिनाउन पाउदा मलाई गौरव लाग्छ ।
सगरमाथा आरोहण गर्ने केही कोलंबियाली नागरिकले आफूले रेस्टुरेन्ट खोलेपछि सम्पर्क गरेको उनले जानकारी दिए । उनीहरूले पनि नेपालका बारे मेरो रेस्टुरेन्टमा आएर यहाँका नागरिकलाई जानकारी गराउने भएका छन्, उनले भने, तिनीहरूलाई पर्यटन वर्षको सद्भावना दूत बनाउन सके अझ फाइदा लिन सकिन्छ ।
आफ्नो व्यवसाय र मुलुकको प्रचार गर्न उनले वेबसाइटसमेत सञ्चालनमा ल्याएका छन् । सगरमाथा डट यालासाइट डट कम नामको साइटमा नेपालको चिनारी, घुम्न लायक स्थलहरू, सामाजिक, सांस्कृतिक परिवेशबारे जानकारी राखेका छन् ।









0 commentaires