सुनसरी, १९ असार गाउँमा बाढी पसेपछि विस्थापित भोक्राह-७ सुनसरीका बाढीपीडित बिरामी परेका छन् । विस्थापित एक हजार ६ जनालाई प्रहरीले उद्धार गरी इनरुवामा रहेको ज्ञानोदय निम्नमाध्यमिक विद्यालय भनवमा राखेको थियो । चिउराकै भरमा चिसो भुँइमा रात काट्नुपर्ने बाध्यता भएपछि उनीहरू बिरामी परेका हुन् । बाढीपीडितमध्ये ३९ बिरामी परेको जिल्ला रेडक्रस तथा उप्का नेपालका प्रतिनिधिले बताए । उप्का नेपालका शुभचन्द्र राईका अनुसार ज्ञानोदय विद्यालयमा राखिएका बाढीपीडितमध्ये धेरैजसो बिरामी परेका छन् । बिरामी पर्नेमा बालबालिका, महिला, सुत्केरी र वृद्धवृद्धा रहेका छन् । उनीहरूलाई झाडापखाला, ज्वरो र रुघाखोकीले समोतेको छ । 'बिरामीलाई तत्काल उपचार नगरे महामारी फैलन सक्छ,' राईले भने, 'बाढीपीडितले उप्का नेपाल र रेडक्रसको साझेदारीमा शुक्रबार साँझ चिउराबाहेक केही सहयोग पाएका छैनन् ।' बर्खा लाग्न साथ सुनसरीखोलामा आएको बाढी मानव बस्तीमा पस्नेे गर्छ । बाढी गाउँ पस्दा स्थानीयको सधैँ यस्तै बिजोग हुन्छ । भोक्राह-७ का केसरी सदाले भने, 'गत वर्ष पनि हाम्रो घर बाढीले बगायो । त्यसवेला प्रमुख जिल्ला अधिकारीले अर्को वर्ष यस्तो हुँदैन भनेका थिए ।' सुनसरीका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले बाढीपीडित आश्रय लिइरहेको विद्यालय छाड्न भनेको जिन ऋषिदेवले बताए । बाढीपीडित तारादेवी ऋषिदेव भनिन्, 'कतिपयको घर बाढीले बगायो । कतिको घर बाढीमा डुबेको छ । अब हामी कहाँ जाने ?' सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बाढीपीडितलाई आज बिहानसम्मका लागि खानेकुराको व्यवस्था गरी उनीहरूकै घर पठाउन लागिएको छ ।
नयाँ पत्रिका










0 commentaires