प्लेन टिकट किनिदिएर अपहरण

केपी ढुंगाना, काठमाडौं, असार ३०- विभिन्न बहानामा कतै बोलाएर अपहरण गरिएका घटना सार्वजनिक भइरहन्छन्, तर प्लेन टिकटसहित निम्तो पठाएर भारतबाट नेपाल बोलाउने र ससम्मान गाडीमा राखेर जंगलतिर हुँइँक्याउने नपत्याउँदो अपहरणकारी समूह पक्राउ परेको छ। व्यापारिक 'डिलिङ' का लागि भन्दै भारतीय व्यापारीलाई प्लेन टिकटसहित निम्तो दिएर नेपाल बोलाई अपहरणमा संलग्न समूहका नाइकेसहित छजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो। पक्राउ परेका मध्ये नाइकेसहित चारजना भारतीय र दुईजना नेपाली छन्। प्रहरीका अनुसार अपहरणमा संलग्न एक भारतीय र २ नेपाली फरार छन्। भारतीय व्यापारी जोगिन्दर पाल र सलामत अलीको अपहरणमा संलग्न भारत देहरादूनका ३८ वर्षीय मन्जिल राई, भारत झारखण्डका ६९ वर्षीय शिवनारायण यादव र ३८ वर्षीय समेल हेम्ब्रम, २३ वर्षीया रिया दास, पोखरा महेन्द्रपुलका ३५ वर्षीय राकेश शाक्य र कास्की, शिद्ध गाविसका ३४ वर्षीय सन्तोष घिमिरेलाई प्रहरीले फिरौती दिने नाटकीय योजना बनाई पक्राउ गरेको हो।  यसरी भयो अपहरण प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार अपहरणकारीले दुर्लभ सामग्रीको कारोबार गर्ने भन्दै भारतमा रहेका भारतीय व्यापारीलाई आफैं टिकट किनिदिएर नेपाल बोलाउने गरेका थिए। त्यस्ता व्यापारीलाई विमानस्थलमै रिसिभ गरेर त्यहीँबाट गाडीमा बन्धक बनाई जंगलतिर लगेर राख्ने गरेको अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार दुई महिनायता मात्र यो समूहले यस्ता चार भारतीय व्यापारीको अपहरण गरिसकेको छ।  अपहरण योजनाअनुसार मञ्जिलले भारतीय व्यापारीसँग सम्पर्क गरी आफूसँग रहेको बहुमूल्य नागमणि र एकमुखे रुद्राक्ष किन्न नेपाल बोलाउँथे। व्यापारीको छनोटमा उनलाई अन्य भारतीयले सहयोग गर्दै आएका थिए।  'व्यापारीलाई उनीहरू आफैँ हवाई टिकट किनेर नेपाल बोलाउँथे,' एसपी रिजालले भने,  'व्यापारी त्रिभुवन विमानस्थलमा ओर्लिनासाथ कारमा राखेर डिल गर्न भन्दै जंगलतिर लगेर बन्धक बनाई फिरौती माग्दथे।' अपहरितका नातेदारलाई सम्पर्क गरी फिरौती असुल्न उनीहरू सक्रिय थिए।  प्रहरीका अनुसार देहरादूनका मञ्जिल काठमाडौं बसेर अपहरण योजना बनाउँथे। व्यापारीको विवरण संकलन गरी मञ्जिललाई पठाउने काममा भारतीय शिवनारायण, समेह ब्रेहम र रियाले राकेश कुमारलाई सहयोग गर्दै आएका थिए।  रिया आसामवाट छ महिना अघिमात्र नेपाल आएकी थिइन्। पोखराको रेस्टुरेन्टमा काम गर्ने क्रममा उनी अपहरणकारी समूहको सम्पर्कमा आएकी थिइन्। यादव र ब्रह्म बहुमूल्य दुर्लभ सामानको व्यापार सिलसिलामा मञ्जिलको सम्पर्कमा पुगेका थिए।  मञ्जिलका मुख्य सहयोगी सन्तोष नेपाली सेनाका भगौडा हवल्दार हुन्। सहयोगी राजेश कुमार यसअघि मञ्जिलकै अपहरणमा परेका व्यापारी हुन्। प्रहरी प्रतिवेदनअनुसार राकेश शाक्य, सुनिल केसी र सुरज थापा रेखदेखमा खटिएका थिए।  प्रहरीका अनुसार उनीहरूले डेढ महिनाअघि भारतीय नागरिक मनीषकुमार र राजेशको अपहरण गरेका थिए। 'आपसी झगडाले बारा अमलेखगन्जको जंगलबाट मनीष भाग्न सफल भएछ,' परिसरका डिएसपी आभुषण तिमल्सिनाले भने, 'अपहरणमा परेका भारतीय व्यापारी राजेश कुमारले मसँग पैसा छैन, बरु अरू व्यापारीको अपहरणमा सहयोग गर्छु भनेर मञ्जिलको समूहमा छिरेका थिए।'  प्रहरीका अनुसार राजेशकै सूचनाबाट मञ्जिलले दिल्लीका जोगिन्दर पाल र सलामत अलीसँग नागमणि र एकमुखे रुद्राक्ष व्यापारका लागि प्रस्ताव गरेका थिए। उनीहरू प्रस्ताव स्विकार गर्दै नेपाल आउन राजी भएपछि राजेशले नेपाल एयरलाइन्सको इ-टिकट पठाइदिएका थिए।  असार २३ गते पाल र सलामत काठमाडौं उत्रिएपछि राईले रिसिभ गरेर सामान देखाउने भन्दै पोखरा नलगी ताल्चोकको उत्तरमा रहेको कालिका जंगलमा बन्धक बनाएर राखेका थिए। पाल र अलिलाई सन्तोष घिमिरे, राकेश शाक्य, सुनिल केसी र सुरज थापाले पेस्तोल देखाएर हातखुट्टा बाँधेर जंगलको बीचमा रहेको पाटीमा राखेका थिए। दुई दिन जंगलमा राखेपछि मात्र उनीहरूले पालको परिवारको नम्बर लिएर भारतमा फोन गरी परिवारसँग ५०/५० लाख फिरौती मागेका थिए।  अनुसन्धानले यो अहिलेसम्मकै अनौठो अपहरण भएको काठमाडौं प्रहरीले जनाएको छ। 'अपहरणकारीले प्रहरीबाट जोगिन यसअगाडिका अपहरणका घटनामा अपनाइएका मोडल छाडेर टार्गेट चयन, अपहरणको शैली फरक छ,' काठमाडौं परिसरका एसपी केदार रिजालले भने, 'उनीहरूले व्यापार गर्ने भनेर भारतीय व्यापारीलाई नेपाल बोलाएर अपहरण गरी  जंगलमा लगेर राख्ने गरेका रहेछन्।'  यसरी पक्राउ पर्‍यो अपहरणकारी समूह असार २५ गते नेपालमा व्यापार गर्ने एक भारतीय महिलाले दुई भारतीय व्यापारी अपहरणमा परेको र अपहरणकारीले उनीहरूको परिवारसँग ५०-५० लाख फिरौती मागेको प्रहरीलाई सूचना दिएपछि प्रहरीले अपहरणकारीको खोजीका लागि सई दीपेन्द्र चन्दको नेतृत्वमा विशेष टोली परिचालन गरेको थियो।  अपहरणकारी २५ लाख फिरौती दिन राजी भएपछि मञ्जिलले रकम लिन राजेश कुमारलाई भारत पठाएर आफू काठमाडौं आएका थिए। उता पोखरामा रहेका सन्तोषले अपहरितको परिवारसँग सम्पर्क गरेर आफूलाई ६ लाख रकम दिए दुवैलाई छाडिदिने प्रस्ताव गरेका थिए। परिवार रकम दिन राजी भएपछि उनले दुवैजनालाई जंगलबाट पोखराको होटल तिरुपतिमा ल्याए।  'परिवारका सदस्यसँग मञ्जिल र सन्तोषले छुट्टाछुट्टै रकम मागिरहेका थिए,' अनुसन्धानमा संलग्न एक अधिकृतले भने, 'हामीले परिवारका सदस्यलाई दुवैलाई रकम दिने आश्वासन दिन लगाएका थियौं।'  सन्तोषले पोखरा बोलाएपछि परिवारका सदस्यसँगै चन्दको टोली पनि पोखरा पुगेको थियो। असार २६ गते परिवारका सदस्य रित्तो ब्रिफकेस लिएर पृथ्वीचोक पुगे। रकम लिन आएका सन्तोषलाई प्रहरीले पक्राउ गरी अपहरितलाई होटलबाट उद्धार गरेको थियो।  प्रहरीले सन्तोषलाई प्रयोग गरेर अन्य अपहरणकारीलाई पक्राउ गरेको थियो। २६ गते थानकोटमा राकेश शाक्य पक्राउ परे, २८ गते बिहान ठमेलको एक होटलबाट रिया पक्राउ परेपछि मध्याह्न बौद्धबाट मञ्जिल पक्राउ परेका थिए। राजेश रकम लिन भारत गएकाले पक्राउ गर्न नसकिएको र अन्य दुईजनाको पहिचान भइसकेको एसपी रिजालले बताए।


source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login