कारागार सुरक्षामा खटिएका २० प्रहरी निलम्वित
सुर्खेत, अषाढ २८ - सुर्खेत कारागारबाट मंगलबार बिहान दुई जना कैदी पर्खाला फोडेर भागेका छन् । अपहरण तथा शरीर बन्धक र जर्वजस्ती करणी मुद्दामा कारागारमा रहेका दुई जना पश्चिम तिरको सुरक्षा पोष्ट नजिकैबाट पर्खालमा प्वाल पारी विहान ६ बजे भागेका हुन् । हातहतियार खरखजना, अपहरण तथा शरीर बन्धक मुद्दा लागेका विजयविक्रम शाह र जर्वजस्ती करणी मुद्दाका पुन्नबहादुर शाही फरार भएको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले बताएका छन् । लेखगाउँ-३ सुर्खेत घर भएका शाहलाई लागेका दुई मद्दा मध्ये हातहतियार खरखजनामा तीन वर्ष कैद सजाय फैसला भएको र अपहरण तथा शरीर बन्धक मुद्दामा थुनुवा रहका थिए । हुम्ला अदालतले जर्वजस्तीकरणी मुद्दामा ८ वर्ष कैद सजाय र २५ हजार जरीवानाको फैसला तोकेका शाही दुई वर्ष देखि सुर्खेत कारागारमा रहेको कारगार प्रशासनले जनाएको छ । हिमाल तराई टाइगर्स नामक भूमिगत संगठनको नाममा आतंक सृजना तथा लुटपाट गर्ने समूह मध्येका विजयविक्रम शाह सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालयले गत माघ १३ गते पक्राउ गरेको थियो । उनीसंगै चन्दा असुल गर्ने र व्यापारिक प्रतिष्ठानमा प्रेसकुकर बम राखि आतंकीत गर्ने समूहका दाहा-३ कालिकोट घर भएका सरोज भन्ने अबराज शाही, विद्यापुर-८ सुर्खेत घर भएका चिन्तामणि घिमिरे भन्ने दिनेश शर्मा, वीरेन्द्रनगर-११ निवासी भरत शाही, लाम्म्रा-९ जुम्लाका समिर भिनिने विशाल खड्का, तातोपानी-१ जुम्लाका अग्रज भनिने नरेन्द्रबहादुर कठायतलाई प्रहरीले पक्राउ गरेको थियो । कारगारको पर्खाल तोडी कैदी फरार भएपछि जिल्ला प्रशासन कार्यालयले जेलर प्रकाश न्यौपाने र सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक मिनबहादुर शाही सहित २० जना सुरक्षाकर्मीलाई निलम्बन गरेको जनाएको छ । कैदी फरारको घटना छानवीन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजकत्वमा प्रहरी नायव उपरीक्षक आनन्दप्रसाद मराठा, प्रमुख अनुसन्धान अधिकृत योगेन्द्र केसी र प्रशासकीय अधिकृत बुद्धिप्रसाद सापकोटा सदस्य रहेको चार सदस्यीय समिति गठन गरेको जनाएको छ । प्रशासकीय अधिकृत यज्ञबहादुर बुढाद्वारा जारी विज्ञप्तीमा सात दिन भित्र प्रतिवेदन पेश गर्न समितिको निर्देशन गरिएको कुरा उल्लेख छ ।
source:-ekantipur










0 commentaires