लुटेरासँग पेन गन



केपी ढुंगाना, काठमाडौं, असार १८ - जासुसी कथामा आधारित चलचित्रमा जेम्स बन्डले आफ्ना दुश्मनलाई गोप्य रूपमा सफाया गर्न पेनबाट गोली प्रहार गरेका दृष्यले दर्शक रोमाञ्चित त हुन्थे तर पत्याउन्नथे।       त्यसलाई उनीहरू गुड्दागुड्दै उड्ने कार, सहजै भित्तामा हिँड्न मिल्ने जुत्ता, एक्सरे गर्ने चश्माजस्तै कल्पनालाई चमत्कारमा ढाल्ने प्रविधिकै कमाल ठान्थे। तर, शुक्रबार महानगरीय प्रहरी परिसरका अधिकांश प्रहरी त्यस्तै दृश्यबाट अवाकमात्रै बनेनन्, पत्याउन बाध्य भए। जेम्स बन्डको चलचित्रमा झै प्रहरीको हातमै थियो पेन गन। करिब २० मिनेटसम्म पेनको सबै प्राविधिक पक्ष अवलोकनपछि मात्र पक्का भयो, त्यो वास्तविक पेन गन हो जसले बिनाकुनै संकेत निशाना लगाउन सक्छ। बिहान साढे आठ बजे स्वयम्भू प्रहरी प्रभाग टोलीले चेकजाँचका क्रममा सुवास तिमल्सिना र विजय श्रेष्ठलाई सामान्य पेस्तोल र चार राउन्ड गोली सहित पक्राउ गरेको थियो।  मोटरसाइकलको पछाडि बसेका तिमल्सिनाको साथबाट ७ दसमलब ६५ राउन्डको गोली लाग्ने बुल्गेरियन पेस्तोल र लोड भएको चार राउन्ड गोली फेला परेपछि प्रहरीले श्रेष्ठलाई पनि पक्राउ गरेको थियो।  केही समय प्रभागमै राखेर सोधपुछ गर्दा उनीहरू उपत्यकामा लुटपाटमा सक्रिय रहेको खुल्यो। लगत्तै प्रभागका प्रमुख प्रहरी निरीक्षक कुवेर चन्दले तिमल्सिना र श्रेष्ठलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइदिए।  सोधपुछका क्रममा तिमल्सिनाले श्रेष्ठलाई धम्क्याएर पैसा मागेको र पैसा लिन जाँदै गर्दा पक्राउ परेको पनि खुल्यो। तिमल्सिना भारतीय नागरिक अञ्जनीकुमार चाचानमाथि लाजिम्पाटमा भएको गोली प्रहारको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका विजेन्द्रप्रताप शर्मा समूहका सदस्य रहेको खुलेपछि प्रहरी अनुसन्धानमा गम्भीर बन्यो। परिसरका अधिकृतले थप अनुसन्धान गर्न तिमल्सिनाको स्वयम्भूस्थित डेरा छापा मार्‍यो। बरन्डामा प्लास्टिकको बाल्टीमा माटो थियो, तर कुनै बिरुवा थिएन।  प्रहरीलाई शंका लागेर बाल्टीको माटो निकाल्दा कालो प्लास्टिकको पोको फेला पर्‍यो जसमा तीन राउन्ड ७ दसमलब ६५ एमएम र पाँच राउन्ड त्योभन्दा पनि साना आकारका गोली भेटिए। 'त्यसमा तीन राउन्ड गोली त बिहान फेला परेकै पेस्तोलको थियो,' एक प्रहरीले भने, 'नौला र साना आकारका गोलीले थप रहस्य जन्मायो।' केरकारका क्रममा तिमल्सिनाले सानो गोलीमात्र आफूसँग रहेको, हतियार नभएको बताएर छक्याउने प्रयास गरे।  तर, प्रहरीका अगाडि उनी १० मिनेट पनि टिक्न सकेनन् र कोठाको टेबुलमा रहेको करुवामा हतियार राखेको बयान दिए। करुवामा रातो कपडाले बेरेको केही सामान थियो, तर हतियारजत्रो होइन। कपडा खोल्दा पेन भेटियो। झुक्याएको भनेर प्रहरी खनिए। तर, त्यही पेन थियो पेस्तोल। 'कपडा खोलेर हेर्दा पेन निस्कियो,' अनुसन्सन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'उसले खोलेर देखाउँदा मात्र पत्यायौँ।' उनका अनुसार त्यो पेन गन नै हो भनेर विश्वस्त हुन प्रहरीलाई करिब आधा घन्टा लागेको थियो।  पेन खोलेर गोली लोड गरेर टेस्ट गरेपछि बल्ल रहस्य खुल्यो, त्यो त गन नै रहेछ। प्रहरीस्रोतका अनुसार तिमल्सिनाले तीन महिनाअघि बिजेन्द्रले सुरक्षित राख्नु भन्दै आफुलाई पेन गन दिएको बयान दिएका छन्। पेन गन कहाँबाट, कसरी, कसले खरिद गरेको हो, खुल्न सकेको छैन। अमेरिकी अनुसन्धान संस्था एफबिआईले नौ वर्षअघि आतंकवादीले पेन गन प्रयोग गर्न सक्ने भन्दै सुरक्षा एजेन्सीलाई सचेत गराएका थिए। भारतीय सुरक्षा अधिकारीले कास्मिरमा पेन गनसहित मुस्लिम मुज्जाहिद्दिनहरूलाई पक्राउ गरेपछि एफबिआईले अन्य सुरक्षा निकायलाई सचेत गराएको थियो।  सन् २००३ जनवरीमा साउदी अरेबियाको बोर्ड सुरक्षामा खटिएका सुरक्षाकर्मीले १० वटा पेन गन बरामद गरेका थिए। तर, नेपालमा पेन गन फेला परेको यो पहिलोपटक हो। काठमाडौं परिसरका प्रमुख एसपी केदार रिजालले पहिले गन देख्दा आफू पनि छक्क परेको बताए। 'हेर्दा डटपेनजस्तो थियो, गोली राखेर फायर गर्न सकिने रहेछ,' उनले भने।  प्रहरीले पक्राउ दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।   पेनकै प्रविधि प्रहरीले बरामद गरेको पेन गन बलपेन प्रविधि प्रयोग गरेर निर्माण गरिएको छ। कालो आकारको फलामे पेनको तौल सामान्य पेनभन्दा हल्का गहुँ्रंगो छ। पेनको अघिल्लो भागलाई गोली निस्कने ब्यारेल, बीचको भागलाई गोली राख्ने चेम्बरको रूपमा निर्माण गरिएको छ। एकपटकमा एक राउन्डमात्र प्रहार गर्न मिल्छ। डटपेन तलमाथि गर्न बनाइएको स्थानलाई गोली लोडका लागि कक गर्ने र डटपेनको माथिल्लो भागलाई गोली फायर गर्न मिल्ने गरी निर्माण गरिएको छ। डटपेनको लिड तलमाथि गर्न प्रयोग गरिने स्पि्रङले गोली लोड र अनलोड गर्छ भने पेन खल्तीमा अड्काउन बनाइएको लिडले गोली पड्काउने स्ट्रिङको काम गर्छ। प्रहरी अधिकारीका अनुसार यसबाट लामो दूरीमा प्रहार गर्न भने सकिन्न। नजिकैवाट संवेदनशिल स्थानमा गोली प्रहार भएमा गोली लागेका ब्यक्तिको मृत्यु हुनसक्छ। प्रहरी अधिकारीका अनुसार तीन वर्षअगाडि थाइल्यान्डमा पेन गन प्रहार गरेर एक युवतीको हत्या गरिएको थियो।

nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login