अवैध असुलीमा सशस्त्र प्रहरी

राजु अधिकारी, झापा, असार २९- राजस्व चुहावट रोक्न सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी अवैध असुलीमा केन्द्रित भएका छन्। भन्सार नतिरी ल्याएका सामान पैसा असुल्दै छोड्ने तर रित पूरा गरेर ल्याएका सामान पक्रिने सशस्त्रको शैलीले पूर्वी नाकामा असन्तोष उत्पन्न गराएको छ।       सशस्त्र प्रहरीले नाका क्षेत्रको छोटो इलाकामा आधा दर्जन चेकपोस्ट राखे पनि पैसा लिँदै छोड्ने चलनले ती सामान बेरोकटोक ढुवानी भइरहेका छन्। काँकडभिट्टास्थित राजस्व गस्ती टोलीको फौज मेची पुलदेखि आयाबारीसम्मको ४ किलोमिटर क्षेत्रभित्र तीन ठाउँमा स्थायी जाँच केन्द्र बनाएर वर्षौंदेखि बसिरहेको छ।  धुलाबारीदेखि बिर्तामोडसम्मको अर्को १३ किलोमिटर क्षेत्रमा थप तीन ठाउँमा सशस्त्रको जाँच केन्द्र छ। तर, उसको सबै जाँच केन्द्र छिचोलेर अवैध सामान दमकसम्मै पुग्ने गरेका छन्। लखनपुरमा रहेको सशस्त्रकै पाथीभरा गणले बितेको वर्षदिनभित्र अवैध भन्दै समातेको सामानको परिमाणले त्यसको पुष्टि गर्छ।  गण प्रमुख एसपी रामकृष्ण लामाका अनुसार यस अवधिमा गणले 'अवैध' भन्दै १ करोड २६ लाख रुपैयाँ बराबरको सामान पक्रेको छ। मोटर पार्टस्, कम्प्युटर पार्टस् र कपडालगायत ती भारतीय सामान छ ठाउँको सशस्त्र चेकजाँच पार गरेर त्यहाँ पुगेका हुन्। ती सामान 'दुई नम्बरी' भएकैले दमकसम्म पुगेको एसपी लामा स्वयम् स्वीकार्छन्। 'विर्तामोड क्षेत्रसम्म दुई नम्बरी भएको पाइएको छ,' लामाले भने 'त्यसलाई रोक्न सुरक्षा बढाइएको छ।'   व्यवसायीहरु भने यसमा सशस्त्रको मिलेमतो भएको बताउँछन्। 'जाने काँकडभिट्टा नाकाबाटै हो,' मेची उद्योग वाणिज्य संघका सचिव अजय घिमिरे भन्छन् 'ती सामान यति कडा जाँच पार गरेर कसरी दमकसम्म पुग्छन्, यसले मिलेमतोको पुष्टि गर्छ।' राजस्व चुहावट रोक्न भनेर राजमार्ग क्षेत्रमा खडा गरिएका बाक्ला जाँच केन्द्रहरुको औचित्य नभएको पनि उनले बताए।   ठूला सामानमा असुल्ने बानी परेका सुरक्षाकर्मीका लागि भारतीय सीमा बजारबाट साइकलमा खाद्य सामग्री ल्याउने सर्वसाधारण पनि असुलीका मुख्य स्रोत हुन्। साइकलमा दैनिक सामान ओसार्ने सयौंबाट जाँच केन्द्रैपिच्छेका सुरक्षाकर्मीले सय-पचास लिने गरेका छन्। 'मेची पुलदेखि धुलाबारीसम्म आइपुग्दा तीन ठाउँमा पैसा तिर्नुपर्छ', मेचीनगर १ का किराना व्यवसायी इन्द्रकुमार शर्मा भन्छन् 'जनपदलाई त उल्टै थर्काइन्छ तर सशस्त्रलाई पैसा नदिए सामान खोस्दिन्छ।' अहिले अनिवार्य भन्सार गर्नै पर्ने भए पनि असुल्न अभ्यस्त सशस्त्रका सुरक्षाकर्मीले 'हामी हुँदा हुँदै किन त्यस्तो झन्झट गरेको' भन्दै नतिरी आउन प्रोत्साहित गर्ने गरेको व्यापारी बताउँछन्।   सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्रको गलत शैलीले स्वदेशको आन्तरिक कारोबारमा पनि धक्का पुग्ने गरेको छ। जिल्लाको एउटा बजारबाट खरिद गरेर अर्को ठाउँमा सामान लैजाँदा पनि सशस्त्रले व्यर्थैमा दुःख दिने गरेको छ। गएको शुक्रबार मात्रै दमकका व्यापारी शिवप्रसाद साहा सशस्त्रको त्यही कार्यशैलीको सिकार बने।   चिनियाँ सामान थोक मूल्यमा पाइने धुलाबारी बजारको जानकी स्टोरबाट पंखा, राइसकुकर, आइरन लगायतका सामान किनेर दमकको आफ्नो पसलतिर जाँदै गरेका उनलाई लखनपुरस्थित सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीले सामानसहित रोके। भ्याट बिल देखाउँदा पनि उनीहरु मानेनन्। अन्डर बिलिङ भयो भन्दै सामान नियन्त्रणमा लिए। उद्योग वाणिज्य संघहरुको दवाबपछि मध्यरातमा मात्रै प्रहरीले सामान छोडिदियो।   तर, फेरि दुःख पाइने भयले घटनाबारे व्यापारीहरु खुलेर बोल्दैनन्। 'अवैध सामान गएको पत्तै नपाए जस्तो गर्ने तर प्रक्रिया पुगेर गएका सामानमा व्यापारीमाथि ज्यादति गर्ने क्रम व्यापक छ,' मेची उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष प्रल्हादमणि ओली भन्छन् 'आफ्नो काममा भन्दा अर्कै कुरामा सशस्त्र बढी केन्द्रित भयो। अवैध कारोबार नियन्त्रण उसको दायित्व हो, वैध कारोबारीलाई सास्ती दिने अधिकार उसलाई छैन।' सशस्त्र एसपी लामा भने सुरक्षाका लागि राजमार्गमा फौजको सक्रियता आवश्यक रहेको दाबी गर्छन्।  त्यसबाहेक भन्सार परिसरमा पनि सशस्त्रले कर्मचारीको कार्यक्षेत्र मिचेर आफै झोला खोतल्ने गरेका छन्। भन्सार कर्मचारीहरुका अनुसार चेकजाँच गर्न सशस्त्रका सुरक्षाकर्मीको तँछाडमछाड नै चल्छ। त्यस्तो होडबाजी रकम असुलीकै लागि हुने गरेको कर्मचारी बताउँछन्। तर, भन्सार प्रमुख लक्ष्मीप्रसाद पौडेल भने अहिले त्यो क्रम रोकिएको दाबी गर्छन्। 'म आए पछि त्यो क्रम बन्द गरेको छु,' उनले भने, 'अहिले हाम्रै कर्मचारीले जाँच गर्छन्।' गत बुधबार मेची उद्योग वाणिज्य संघले जिल्लास्थित सुरक्षा प्रमुखहरुको उपस्थितिमा गरेको अन्तरक्रियामा व्यवसायीहरुले सशस्त्रको ज्यादति अचाक्ली बढेको बताएका थिए। त्यहाँ अनेकौं प्रश्न उठेपछि उपस्थित सशस्त्रका अधिकारी नाजवाफ बनेका थिए। धुलाबारीमा भएको अन्तरक्रियामा एउटै फौजले चोकैपिच्छे चेक गर्ने शैली सुरक्षाका नाममा सास्ती भएको आवाज उठेको थियो। त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्दै उठेका सशस्त्रका अधिकारीहरु त्यसयता झन आक्रामक बनेर राजमार्गमा पेश हुन थालेका छन्। 'भन्सार तिरेका, भ्याट बिल लिएकाहरुलाई झन दुःख दिन थालिएको छ', मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला भन्छन् 'यसले सशस्त्रको नियत के हो भन्ने देखाउँछ।'  राजमार्गमा सशस्त्रको गतिविधि ठिक नभएको जनगुनासो व्यापक भएपछि काकरभिट्टा स्थित राजशव गस्ती टोलीका २० जना सुरक्षाकर्मीलाई 'कारवाही' पनि गरिएको छ। एकजना सहायक निरिक्षक, दुईजना हवल्दार र जवानलाई काकरभिट्टाबाट फिर्ता बोलाएर 'कारवाही' गरिएको सशस्त्र स्रोतको भनाई छ। लखनपुरको गण र चन्द्रगडीको सिमा सुरक्षा कार्यालयमा खटिने सशस्त्रका हरेक सुरक्षाकर्मीले काकरभिट्टा नाकामा खटिने विषयलाई 'कमाउने अवसर' का रुपमा लिने गरेको स्रोतको भनाई छ।  तर, केहि महिनायता चन्द्रगडी, शनिश्चरे र लखनपुरको फौजलाई पनि राजमार्गमा जाँच केन्द्र बनाएर तैनाथ गर्न थालिएको छ। सशस्त्रले सम्पूर्ण ध्यान राजमार्गमा केन्द्रीत गर्नुको उद्देश्य बुझिनसक्नु भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे बताउँछन्। 'खुला नाका भएको सीमा क्षेत्रमा राजमार्ग मात्रै ताक्ने काम आश्चर्यजनक छ', पाण्डेले भने।



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login