२९ असार, काठमाडौं । ‘बाबा हेर्नुस् न यो पत्रिकामा पनि मामुको फोटो रैछ ।’ ठूली छोरीले औंल्याएको ठाउँतिर शम्भुले पुलुक्क हेरे – ‘कति हेर्ने तिम्री आमालाई ? टीभी, पत्रिका, रेडियो सबैतिर छाईसकेकी छिन् ।’ ‘राम्रो काम गरेपछि आउँछ नि त ।’ छेऊमै बसिरहेकी चरिमाया दंग परेर आफ्नो फोटो हेरेर हाँस्दैछिन् । ‘म माया मात्र होईन, धेरै सम्मान पनि गर्छु चरिमायालाई’ शम्भुले भने । शम्भु तामाङ, मानव बेचबिखन बिरुद्धको अभियानमा लागे बापत अमेरिकामा सम्मानित तिनै नेपाली चेली चरिमायाका श्रीमान् । मुम्बईमा झण्डै दुई वर्ष नारकीय जीवन बिताएर नेपाल फर्केकी चरिमायालाई ऊबेला कसैले पनि साथ दिएन । सबैले छिः छिः र दूरदूर गरे । जन्म दिने बाबु आमाबाट समेत संरक्षण पाउन नसकेकी चरिमायाको जीवनमा उदाहरणीय पात्र भएर देखिए शम्भु । ‘घरमा बिहेको कुरा चल्दैथियो, त्यत्तिकैमा मैले उनको बारेमा सबै कुरा थाहा पाएँ, त्यसपछि मैले उनीसँगै बिहे गर्छु भनेर प्रण गरें’ ऊबेलाको कुरा सम्झँदै शम्भुले भने – ‘घर परिवार कसैसँग सल्लाह पनि गरिन । सोझै गएर चरिमायालाई भेटें र बिहेको प्रस्ताव गरें ।’ ‘मलाई त शुरुमा पत्यार नै लागेन’ सँगै बसेर श्रीमानको कुरा सुनीरहेकी चरिमायाले भनिन् – ‘दानवरुपी पुरुषहरुबाट शिकार भैसकेको मलाई फेरि अर्को कसैले फसाउन खोजेको हो की भन्ने शंका भयो । यसले मेरो खिल्ली उडाउँदै छ जस्तो पनि लाग्यो । पछि सबै कुरा बुझें । ईमान्दार रहेछ भन्ने थाहा भएपछि मात्र विवाहका लागि राजी भएँ ।’ ‘म त धेरै भाग्यमानी पुरुष हो । चरिमाया जस्ती जीवनसाथी पाएँ । उनको काम र नामले मलाई समेत हौसला मिलेको छ’ शम्भुले भने । मुम्बईको नारकीय जीवन भोगेर नेपाल फर्केपछि मानव बेचबिखन बिरुद्धमा उदाहरणीय काम गरे बापत चरिमाया अमेरिकामा सम्मानित भइन् । उनलाई अहिले बधाई र शुभकामना थाप्न तथा आफ्नो अनुभव बाँड्नको लागि चारतिर दौडँदैमा ठीक्क छ । श्रीमान शम्भु चाहिं घरधन्दा र आफ्नो काम भ्याएर फुर्सदका बेला चरिमायासँगै कार्यक्रममा पुग्छन् । चरिमायाको श्रीमान भनेपछि उनलाई पनि धेरैले बधाई र धन्यवाद दिने गर्छन् । ‘चरिमायासँगै मैले पनि नाम कमाएँ ।’ मुसुक्क हाँस्दै शम्भुले भने । शम्भु एकजना साधारण निर्माण मजदुर हुन् । उनी घरमा डण्डी हाल्ने काम गर्छन् । चरिमाया ‘शक्ति समूह’ नामको गैरसरकारी संस्थामा बसेर काम गर्छिन् । उनीहरुका दुई छोरी छन् । ठूली कक्षा ४ मा र सानी शिशुकक्षामा पढ्छन्् । आफ्नो कथाव्यथाको प्रत्यक्ष प्रभाव नपरोस् भनेर चरिमायाले छोरीहरुलाई अन्यत्रै राखेर पढाएकी छिन् । श्रीमान श्रीमती दुवैको कमाईले घर खर्च चलेको छ । ‘मेरो त कति पो कमाई हुन्छ र सबै उनकै भर हो ।’ शम्भुले भने । ‘दुःखमा साथ दिने उहाँ जस्तो जीवनसाथी कमैले पाउँछन्’ फुरुङ हुँदै चरिमायाले भनिन् । एकअर्काको गुणगान गाएर दुवैजना थाक्दैनन् । ऊबेला निकै कष्ट र हण्डर खेपेकी चरिमायाको जिन्दगीमा अहिले खुशीयाली छाएको छ । उनको खुशीमा साथ दिएका छन् श्रीमान शम्भु र दुई छोरीहरुले । घरपरिवार र समाजबाट तिरस्कृति एकजना बेचिएकी महिलालाई जीवनसाथी बनाउन आँट गर्ने शम्भु एकजना उदाहरणीय पात्र हुन् ।
source:-onlinekhabar










0 commentaires