१८ असार, वीरगञ्ज । वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली कामदार छिमेकी राज्य भारतलगायत अन्य मुलुकमा जाने गरेकाले कृषि क्षेत्र प्रभावित हुन थालेको छ । यो क्रमले कृषि उत्पादनमा पनि प्रतिकूल असर परेको पर्साका कृषकहरू बताउँछन् ।
पर्सा जिल्ला सुगौली गाविसका वरिष्ठ कृषक नेमीलालले सुगौली गाविसबाट एक वर्षमा चार सयभन्दा बढी मजदुर रोजगारिका लागि भारत पलायन भएपछि गाउँमा काम गर्ने मजदुरको अभाव भएको बताउनुभो । यो एउटा गाउँको मात्र समस्या नभई यस्ता धेरै गाउँहरू छन् जहाँबाट बर्सेनि सयौँको सङ्ख्यामा मजदुरहरू कामका लागि भारतका विभिन्न सहर र अन्य मुलुकमा जाने गरेका छन्- उहाँ थप्नुहुन्छ ।
रोजगारीका लागि भारतलगायत अन्य मुलुकमा गएका मजदुरहरूले आफ्ना घरपरिवालाई प्रशस्त पैसा पठाउने गरेका छन् । उनीहरूको घरमा रहेका परिवारका अन्य सदस्य मजदुरहरूले काम गर्नुको साटो आफ्ना नातेदारहरूले विदेशबाट पठाएको रकमबाट घर खर्च चलाउने गरेका छन् । यसले बसिबसि खान पाउने कारणले उनीहरू अल्छि हुदैँ गएकोले पनि गाउँघरमा मजदुरको समस्या बढ्दै गएको भनाई नेमीलालको छ ।
खेतमा काम गरेबापत पहिले हामी बनिहारी (ज्याला) को रूपमा खेतमा भएको अनाज दिने गरेका थियौँ तर अहिले नगद दिँदा पनि चाहेको बेलामा चाहेअनुसारको मजदुर पाउने नगरेको चार्नी गाविसका अर्का कृषक चन्द्रीकाप्रसाद केसरीको भनाइ रहेको छ ।
बारा त्रिवेणीका वरिष्ठ कृषक पारस ठाकुरले मजदुरको अभावका कारण कृषि उत्पादनमा ह्रास आउनुका साथै सरकारले कृषि उपजका सामानहरूको उचित मूल्याङ्कन नगर्नु र कृषि कार्यमा प्रयोग हुने मल खादलगायतका कृषि उपकरणमा पनि कुनै किसिमको छुट वा अन्य सुविधाहरू नदिएका कारणले पनि कृषि कार्य प्रभावित भइरहेको र सोको असर कृषि उत्पादनमा पनि परिरहेको बताउनुहुन्छ ।
onlinekhabar