ओस्लो, साउन ८- नर्वेमा शुक्रबार एक युवकले गराएको बिस्फोट र गोली प्रहारका दुई घटनामा कम्तीमा ९२ जना मारिएका छन्। गोली लागेर धेरै गम्भीर घाइते भएको र अझै केही हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अधिकारीहरूले जनाएका छन्। राजधानी ओस्लोस्थित प्रधानमन्त्री कार्यालयलाई लक्षित गर्दै विस्फोट गराएपछि ती युवकले ३० किलोमिटर टाढा टापुमा रहेको युथ क्याम्प पुगी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। प्रधानमन्त्रीकै दल लेबर पार्टीले आयोजना गरेको उक्त ग्रीष्मकालीन क्याम्पमा सहभागी कम्तीमा ८५ युवा गोली प्रहारबाट मारिएका छन्। यो दोस्रो विश्वयुद्धपछि नर्वेमा भएको सबैभन्दा ठूलो हिंसात्मक घटना भएको प्रधानमन्त्री येन्स स्टोलटेनबर्गले बताएका छन्। ओस्लोमा बिस्फोट गराएको केही घन्टापछि युथ क्याम्पमा गोली प्रहार भएको थियो। प्रहरीले दुवै आक्रमणको मुख्य दोषीका रूपमा पक्राउ गरेका ३२ वर्षे नर्बेली युवकमाथि आतंकवादी कार्यमा संलग्न रहेको अभियोग छ। प्रहरी अधिकारीको भेषमा रहेका ती युवकलाई गोलीकाण्ड भएको राजधानी नजिकैको उटोया टापुबाट प्रहरीले पक्राउ गरेको थियो। नर्बेली प्रधानमन्त्री स्टोलटेनबर्गले उक्त आक्रमणलाई 'नराम्रो सपना' बताएका छन्। उनले शिविरमा गएका युवाका अभिभावकले अझै आफ्नो सन्तानबारे जानकारी प्राप्त गर्न नसकेको बताए। स्थानीय सञ्चारमाध्यमले प्रहरीले घटनामा संलग्न रहेको भनी पक्राउ गरेका युवक आन्द्रे बेहरिङ ब्रिबिक भएको जनाएका छन्। ती युवकसँग प्रहरीले सोधपुछ गरिरहेको छ। नर्वेका राजा हराल्ट, रानी सोन्जा र युवराज होकुनसहित प्रधानमन्त्री स्टोलटेनबगले पीडितका परिवार तथा आफन्तसँग भेटेका छन्। उक्त भेट मन छुने प्रकारको भएको प्रधानमन्त्रीले बताए। उनले भने, 'हामी सम्भव भएसम्म उनीहरूलाई सहयोग गर्नेछौ।' उनले 'नर्वेको समाज वैचारिक रूपमा उदार भएको' उल्लेख गर्दै 'यस्तो आक्रमणले समाजको स्वरूप परिवर्तन गर्न नसक्ने' बताए। ती आक्रमणकारी दक्षिणपन्थी अतिवादी भएको बताइएको छ। प्रहरीले उनको ओस्लोस्थित अपार्टमेन्टको खानतलासी गरेको छ। नवनाजीवादी विचारधारा राख्ने समूह नर्वेमा देखिएपछि सरकारले त्यसलाई छिन्नभिन्न बनाएको थियो। त्यस्तो समूहले अहिलेसम्म खासै ठुलो चुनौती दिएको थिएन। प्रहरीले उनको वेबसाइटमा भेटिएको सूचनाभन्दा बढी जानकारी प्राप्त नभएको बताएको छ। प्रहरीले ती युवक इसाइ कट्टरपन्थी र मुसलमान विरोधी भएको बताएको छ। आक्रमणस्थललाई प्रहरीले सिल गरेको छ। अझै केही व्यक्ति पानीमा हुनसक्ने भन्दै खोजी भइरहेको छ। प्रहरीले आक्रमण ती युवकले एक्लै वा अन्यसमेतको सहयोगमा गरेका थिए भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ। स्थानीय टेलिभिजनले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै घटनामा दोस्रो व्यक्ति पनि संलग्न रहेको दाबी गरेका छन्। तर, ती व्यक्ति प्रहरी पोशाकमा नभएको बताइएको छ। प्रहरी भेषमा आक्रमणकारी सत्तारुढ दलका युवा संगठनले आयोजना गरेको ग्रीष्मकालीन युथ क्याम्पमा आक्रमण गर्न ब्रिबिक प्रहरी भेषमा पुगेका थिए। प्रत्यक्षदर्शीले प्रहरी पोशाकमा रहेको अग्लो व्यक्तिले धन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि ज्यान जोगाउन पानीमा हाम फालेको बताएका छन्। केही सुरक्षित हुन पौडिँदै गर्दा पानीमा उनीहरूमाथि गोली हानीएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उक्त टापुमा सशस्त्र प्रहरी परिचालन गरिए पनि संदिग्ध युवकलाई कसरी पक्राउ गरियो भन्ने स्पष्ट भएको छैन। आक्रमणमा तीनवटा बन्दुक प्रयोग गरिएको अधिकारीहरूले बताएका छन्। 'प्रहरी अधिकारी भएको र ओस्लो विष्फोटबारे अनुसन्धान गर्न आएको भन्दै डुंगा चढेर ती युवक त्यहाँ पुगेका थिए,' नर्वेको एउटा टेलिभिजनले उल्लेख गरेको छ, 'उनले गोली प्रहार गर्नुअघि सबैलाई एकै ठाउँमा भेला हुन आग्रह गरेका थिए।' क्याम्पका युवक ज्यान जोगाउन झाडी र रुखमा लुकेका थिए भने केही पानीमा हाम फालेका थिए। आक्रमणको अन्तर्राष्ट्रिय क्षेत्रले कडा भर्त्सना गरेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले समवेदना व्यक्त गर्दै सहयोग प्रस्ताव गरेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयाले नर्वेका राजालाई चिठ्ठी लेख्दै दुःख व्यक्त गरेकी छिन्।
source:-nagriknews









0 commentaires