काँकडभिट्टा, श्रावण ८ - गोर्खा जनमुक्ति मोर्चा, केन्द्र र राज्य सरकारबीच भएको त्रिपक्षीय सम्झौतालगत्तै दार्जिलिङमा पुनः छुट्टै गोर्खाल्यान्ड मागसहित आन्दोलन सुरु भएको छ । नेपालीभाषीको छाता संगठन भारतीय गोर्खा परिसंघ र क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) ले सम्झौताको साता नबित्दै शुक्रबारदेखि गोर्खाल्यान्डको माग गर्दै आन्दोलन कार्यक्रम सार्वजनिक गरेका हुन् । क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टीले कालिम्पोङमा भेला गर्दै २७ जुलाईदेखि पहिलो चरणका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता गोविन क्षेत्रीले आगामी बुधबार रक्तदानमार्फत गोर्खाल्यान्ड आन्दोलन चर्काउने जनाए । क्षेत्रीले पहिचान र माटो लडाइँमा पटक पटक धोका भएको स्मरण गराउँदै भर्खरैको सहमतिलाई पनि धोकाको संज्ञा दिए । क्षेत्रीले भने, 'पहिला सुवास घिसिङले जनता ठग्ने काम गरे अहिले विमल गुरुङले पनि त्यसै गरे ।' पार्टीका उपाध्यक्ष जेबी राईका अनुसार १२, १३ र १४ अगस्टमा दिल्लीको जन्तरमन्तरमा गोर्खाल्यान्ड माग गर्दै रिले अनशन आयोजना गरिनेछ । राईका अनुसार भारतको संविधानमा नेपाली भाषाले मान्यता पाएको मितिलाई स्मरण गर्दै २० अगस्टदेखि दिल्ली तथा दार्जिलिङका विभिन्न स्थानबाट एकैपटक जनचेतना कार्यक्रमसहित पैदल यात्रा आरम्भ गरिनेछ । यात्रा २५ तारिख सिलिगुडीमा समापन गरिनेछ । पार्टी महासचिव तारामणि राईले लामो समयदेखि गोर्खाल्यान्डका लागि भन्दै आन्दोलन भए पनि कुनै आन्दोलन टुंगोमा नपुगेको भन्दै क्रामाकपाले आन्दोलनको टुंगो लगाउने अभियान थालेको बताए ।
source:_ekantipur









0 commentaires