सबै विद्यार्थी आउँदा नअट्ने भएपछि आलोपालो प्रणाली लागू गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमकला गिरीले बताइन्
वीरबहादुर गिरी जाजरकोट, १४ असार जिल्लाको उत्तरपूर्वी बारेकोट गाविसस्थित एक विद्यालयका विद्यार्थी आलोपालो गरेर स्कुल जाने गर्छन् । सबै विद्यार्थी विद्यालय जाँदा कक्षाकोठामा नअट्ने भएपछि स्थानीय हिमज्योति प्राविले आलोपालो निमम लागू गरेको हो । सबै विद्यार्थी आउँदा नअट्ने भएपछि आलोपालो प्रणाली लागू गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमकला गिरीले बताइन् । 'दुई कोठामा ५ वटा कक्षा सञ्चालन गरिरहेका छौँ, सबै विद्यार्थी अट्दैनन्' उनले भनिन्, 'विद्यार्थी बस्ने बेन्च र ठाउँ नपुगेपछि एक दिन जोर र अर्को दिन बिजोर रोलनम्बर भएका विद्यार्थीलाई बोलाउने गरेका छाँ ।' ५ वर्षअघि स्थापना गरिएको सो विद्यालयमा ४ कोठे भवन भए पनि दुईवटा कक्षामात्रै शिक्षणका लागि प्रयोगमा ल्याइएका छन् । 'चार कोठामध्ये एउटा अफिस र एउटा देवताको सरसामान राख्न प्रयोगमा ल्याइएको छ,' शिक्षक जयबहादुर गिरीले भने, 'एकदेखि तीनसम्म एउटा कोठा तथा चार र पाँच एउटा कोठामा सञ्चालन गरेका छौँ । प्रधानाध्यापक गिरीका अनुसार विद्यालयको एउटा कोठामा स्थानीय देउता (देवता) को सरसामान राखिएको छ । विद्यालय बनाउँदा देउताथान भत्काएर बनाएकाले विद्यालयको एक कोठामा देउताको सामान राखिएको प्रधानाध्यापक गिरीले बताइन् । विद्यालयको एउटा कोठामा देउता राख्ने र अर्को एउटामा अफिस भएकाले भवनको समस्या रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गिरीले बताए । २ वटा कोठामा ५ कक्षाको पढाइ सञ्चालन गर्दा विद्यार्थीलाई पालो प्रणाली लगाउनु पर्ने अवस्था आएको समितिका अध्यक्ष गिरीले बताए । विद्यालयलाई भवनको साथै शिक्षकको समेत समस्या भएको अध्यक्ष गिरीले बताए । विद्यालयमा २ जना शिक्षकमात्रै कार्यरत छन् । शिक्षक दरबन्दी र भवनका लागि बारम्बार माग गरे पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उनको गुनासो थियो । 'गाउँमा आउने सबै पार्टीका नेतादेखि शिक्षा कार्यालयसम्म पुगेर शिक्षक र भवनको माग गरियो तर हाम्रो आवाज कसैले सुनेनन्,' उनको भनाइ थियो । जिल्लामा बर्सेनि विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत लाखौँ बजेट जिल्लामा आए पनि यस्तो समस्या झेल्दै आएको यो विद्यालयलाई कुनै सहयोग भएको छैन । हिमज्योतिजस्तै जिल्लाका दर्जनौँ विद्यालयहरूको भवन र फर्निचरको अभावमा खुला चउर र भुइँमा पठनपाठन हुने गरेको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत आउने बजेट बाठाटाठाले खाने गरेको नागरिक सामाजका संयोजक राजेन्द्रविक्रम शाहको आरोप छ । 'विद्यालयका लागि आएको बजेट सहरका बाठाटाठाले खान्छन्, गाउँसम्म त कहिल्यै आउँदैन,' उनको भनाइ थियो ।
नयाँ पत्रिका










0 commentaires