काठमाडौं,जेठ २- वीर अस्पतालले सात रेक्टर स्केलसम्मको भुकम्प थेग्नसक्ने नयाँ भवन बनाउने भएको छ। अहिलेका भवनलाई ‘रेट्रोफिटिङ' (भुकम्पीय जोखिमरहित) गरी सुदृढ बनाउने कार्यक्रमसमेत अस्पतालले अघि सारेको छ। सात रेक्टर स्केलको भुकम्प आए राजधानीका अधिकांश अस्पताल भवन जोखियुक्त रहेका राष्ट्रिय भुकम्प मापन केन्द्रको अध्ययनले औंल्याएको छ। सात वर्षअघि सार्वजनिक गरिएको केन्द्रको प्रतिवेदनलाई आधार मान्दै भुकम्प प्रतिरोधक नयाँ भवन बनाउने तथा ‘रेट्रोफिटिङ' कार्यक्रम अघि सारिएको अस्पतालले जनाएको छ। राजधानीका ८० प्रतिशत अस्पताल भवन जोखिममा रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो। गत चैतमा एमआरबी एन्ड एशोसिएट्सले अस्पतालका अधिकांश भवन जोखिममा रहेको तथ्य सार्वजनिक गरेपछि नयाँ भवन योजना अघि बढाएको अस्पतालका निर्देशक डा. बुलन्द थापाले बताए। करिब ९७ करोड लागत अनुमान गरिएको योजनाका लागि विश्व स्वास्थ्य संगठन र अन्य दातृनिकायले चासो देखाएका छन्। दाताहरूसँग तीन चरणको गोष्ठी तथा छलफलपछि अस्पतालले वैशाख ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना विभागमा आफ्नो योजना पेश गरेको छ। विश्व स्वास्थ्य संगठनलगायत दातृ निकायले चासो देखाएकाले परियोजना सफल हुनेमा आशावादी रहेको निर्देशक थापाले जनाए। वीर अस्पतालले पेश गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा अधिकृत लीलाराज पौडेलले बताए। यो सरकारको नियमित कार्यक्रमबाहिरको परियोजना हो। निर्देशक थापाले भने, ‘अस्पताल भवन बलियो छैन भने भुकम्प आइहाले त्यसबाट प्रभावित घाइतेको उपचार कहाँ गर्ने?' परियोजनाअर्न्तगत अस्पतालको पश्चिममा रहेका पुराना भवन भत्काएर नयाँ पाँचतले भवन बनाइने छ। भुकम्प प्रतिरोधक बनाउन बाँकी भवन पनि मर्मत गर्नुपर्ने अवस्था छ। अहिलेको बहिरंग विभाग अन्य भवनको तुलनामा बलियो रहेको प्रतिवेदनमा उल्लेख छ। अनुमानित ९७ करोड बजेटमध्ये ५३ करोड नयाँ भवन बनाउन खर्च हुनेछ भने ३४ करोड पुराना भवन मर्मतमा खर्च गरिनेछ। प्रस्तावित भवनको डिजाइन तयार पारिसकेको अस्पतालले जनाएको छ। नयाँ भवनमा शैय्या थप्ने, मधुमेह(इन्डोक्राइनोलोजी वार्ड), मिर्गौला प्रत्यारोपण तथा शल्यक्रिया कक्ष, न्युक्लियर मेडिसिनलगायत कक्ष तथा वार्ड थपिने अस्पतालले जनाएको छ। वीरमा हाल ५ सय ५० शैय्या छन् भने दैनिक १ हजारदेखि १ हजार २ सय बिरामी आउँछन्। भुकम्पबारे अध्ययन गरिरहेका संस्थाहरूले सात रेक्टर स्केलको भूकम्प आए काठमाडौं उपत्यकामा मात्र १ लाख मानिसको मृत्यु तथा ३ लाख घाइते हुने अनुमान गरेका छन्।
समाचार
»
वीर अस्पतालले सात रेक्टरको भूकम्प थेग्ने भवन बनाउने
वीर अस्पतालले सात रेक्टरको भूकम्प थेग्ने भवन बनाउने
Tags:
समाचार









0 commentaires