कक्षा १२ को प्रश्नपत्र ‘आउट' गर्ने पक्राउ

केपी ढुंगाना, काठमाडौं, जेठ २- कक्षा १२ को परीक्षाको तीन वटा विषयको प्रश्नपत्र परीक्षा अगाडिनै लिक गरेर विक्रि गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। परीक्षा अगाडिनै प्रश्नपत्र निकालेर फोटोकपी गरी विक्री गरेको अभियोगमा २ वटा कलेजका शिक्षक र २ जना विद्यार्थी पक्राउ परेका छन्।    पक्राउ पर्नेमा जिलेट कलेज कालिमाटीका को-अर्डिनेटर तथा भाइस प्रिन्सीपल रुद्र अधिकारी, ब्राइटल्यान्ड कलेज बालाजुका शिक्षक नरेन्द्र सुवेदी,सन्तोष कुईकेल र न्यूटन कलेजका बिद्यार्थी बिनोद बस्नेत छन्। उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरोले शनिवार कलंकीबाट पक्राउ गरेको हो। बैशाख १९ गतेदेखि ३० गतेसम्म संचालीत परीक्षाको क्रममा प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपनि अनुसन्धान शुरु गरेको व्युरोले परीक्षा अगाडिनै प्रश्नपत्र बाहिरिएको पुष्टी गर्दै उनीहरुलाई पक्राउ गरेको हो।  थप अनुसन्धानका लागी चारै जनालाइ आइतवार महानगरिय प्रहरी परिसर काठमाडौंमा बुझाईएको व्युरोका डिएसपी भुपेन्द्र खत्रीले बताए। प्रहरीले आउट भएको प्रश्नपत्र किन्ने र वितरण गर्ने विभिन्न कलेजका नौ जना विद्यार्थीको समेत पहिचान गरेको छ। उनीहरु योजनामा संलग्न नदेखिएकाले उनीहरुलाइ पक्राउ नगरिएको डिएसपी खत्रीले बताए।  कक्षा १२ को परीक्षा शुरु भए लगत्तै परीक्षा अगाडिनै विभिन्न संकायका भौतिक शास्त्र , कम्प्युटर विज्ञान, होटल व्यवस्थापनको प्रश्नपत्र परीक्षा अगाडिनै विद्यार्थीसंग पुगेका थिए।  व्युरो अधिकारीका अनुसार उपत्यकाका प्राय सबै कलेज र उपत्यकाबाहिर समेत परीक्षा अगाडिनै प्रश्नपत्र पुगेको छ। प्रश्नपत्र बाहिरिएपनि उच्च माध्यामिक शिक्षा परिषद् र परीक्षा नियन्त्रण कार्यालयले परीक्षा जारी राखेको थियो।  परिषद्का उप सचिव नारायण कोइरालाले प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न परिषद्ले समेत छुट्टै अनुसन्धान समिति गठन गरेकाले उनीहरुको प्रतिवेदन आए लगत्तै परीक्षाबारे निर्णय गर्ने बताए। उनले प्रश्नपत्र बाहिरिएको पुष्टी भएमा तीनवटै विषयका परीक्षा रद्ध गरिने बताए।  ‘हाम्रो प्रतिवेदन भन्दापनि पहिला प्रहरीको प्रतिवेदन आएको छ यसबाट हामीलाई थप सजिलो भयो' उनले भने' छानवीन समितिको प्रतिवेदनपछि परीक्षा सम्बन्धमा निर्णय गर्छौ।'  ५ हजारदेखि २५ हजारमा बिक्यो प्रश्नपत्र व्युरो अधिकारीका अनुसार ३७ बर्षीय अधिकारीले लाहछाप सहित प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोकावाट प्रश्नपत्र निकालेर सहयोगी मार्फत विक्रि गरेका थिए।  महानगरिय प्रहरी बृत्त कालीमाटीमा १४ वटा केन्द्रको प्रश्नपत्र थिए। लाहछापसहित राखिएको त्यहीको पोकाबाट उनले प्रश्नपत्र निकालेको प्रहरीको प्रारम्भिक बयानमा बताएका छन्।  अनुसन्धानकोक्रममा परीक्षा केन्द्रमा प्रश्न पठाउनु अगाडि निरीक्षक गर्न परिषदबाट खटिएका प्रतिनिधिले प्रश्नपत्र राखिएको पोका सकुसल रहेको भन्दै मुचुल्कामा हस्ताक्षर गरेकाले परिषद्का कर्मचारीको समेत मिलेमतोका आशंका प्रहरीको छ।  नाम उल्लेख गर्न नचाहने प्रहरी अधिकारीले लाह छाप तोड्ने वा पोकाको कपडा नच्याती प्रश्नपत्र निकाल्न असम्भव भएकाले परिषद्को कर्मचारी समेत संलग्न देखिएको बताए। उनले भने' परिषद्को कर्मचारीको संलग्नताविना प्रश्नपत्र बाहिरिन सम्भव छैन, तर पुष्टी हुने प्रमाण फेला नपरेकाले परिषद्को कर्मचारीलाइ पक्राउ गर्न सकेका छैनौं।'  प्रहरी अधिकारीका अनुसार परीक्षा हुने अघिल्लो दिन अधिकारीले आफ्नो केन्द्रमा रहेको प्रश्नपत्र निकालेर सहयोगीलाइ दिने गरेका थिए। प्रहरीका अनुसार प्रश्नपत्र निकालेपछि उनीहरुले परिषद्को लोगो र नाम छोपेर फोटोकपी गर्ने गरेका थिए। प्रश्नपत्रको फोटोकपी लिएर उनीहरु विभिन्न कलेजका होस्टलमा सम्पर्क गरी परीक्षार्थीसँग रकम लिने गरेका थिए।  सहयोगीहरुले प्रश्नपत्र फोटोकपी गरी विद्यार्थीहरुलाई पांच हजारदेखी २५ हजार रुपैंयासम्ममा विक्री गर्ने गरेको डिएसपी खत्रिले बताए। अनुसन्धान अधिकृतका अनुसार उनीहरुले शुरुमा विद्यार्थीसँग एड्भान्स रकम लिएर प्रश्नपत्र दिने र परीक्षा सकिएपछि पुरै पैसा लिने गरेका थिए।  प्रहरीका अनुसार बाहिरीएका प्रश्नपत्र अधिकारीले ल्याएर सहयोगी नरेन्द्र सुवेदीलाई दिने गरेका थिए। नरेन्द्रले सन्तोष कुईंकेललाइ र सन्तोष कुईंकेलले न्यूटन कलेज पढ्ने विनोद बस्नेतलाई सो प्रश्न पत्र दिने गरेका थिए। ‘बिनोदले प्रश्नपत्रहरु गोल्डेनगेट कलेज पढ्ने बाबुराम र सोनाम लामालाई ६ हजारदेखी १२ हजारसम्ममा बिक्री गरेको खुलेको छ।   प्रहरीका अनुसार बिनोदले नै पेन्टागन कलेजका विद्यार्थी युवराज शाहीलाई १० हजारमा र न्यू समिट कलेजका विद्यार्थी बिर्ख महतलाई प्रश्नपत्र दिएका थिए। बाहिरीएका प्रश्नपत्र सौर्य कलेजका बिष्णु बिक्रम थापा, मदन भण्डारी कलेजका एकराज सापकोटा, सेन्ट जेभियर्स कलेजका सुयोग श्रेष्ठ, प्राईम कलेजका आयुष मानन्धर, क्यास्पियन कलेजका रञ्जित जैसवाल, क्याम्ब्रिज कलेजका संजय चौधरी, सिसिआरसि कलेजका साहील लगायतका विद्यार्थीलाई दिएको खुलेको ती अधिकारीले बताए।  पक्राउ अभियुक्तहरुले शिक्षा ऐन २०४८ अनुसारको कसुर गरेकाले थप अनुसन्धान र कार्वाहीका लागी आइतवार महानगरिय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। शिक्षा ऐनको दफा १७ को उपधारा १क अनुसार यस्तो काम गर्नेलाइ एक लाख रुपैंयासम्म जरिवाना र ६ महिनासम्म कैद सजायको व्यवस्था छ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login