जेष्ठ ३ - बल्खुस्थित एमाले मुख्यालयको ढोकैमा मदन भण्डारीको सालिक राखिएको छ । सत्ता खेल र गुटबन्दीमा लिप्त मदनका 'उत्तराधिकारी'हरू दिनहुँ सालिक हुँदै कार्यालय पस्छन्, निस्कन्छन् । यो नियमित प्रक्रियामा सायद मदन कसैको स्मृतिमा पनि अटाउँदैनन् । तर मंगलबार -आज) को दृश्य फरक हुनेछ । असामयिक र रहस्यमय दुर्घटनामा निधन भएको १८ वर्ष पूरा भएको दिन उनको स्मृतिमात्रै होइन, 'स्तुति गान' हुनेछ । उनका प्रशंसामा शब्दका डंगुर लाग्नेछन् र सबैले मदनको सपना पूरा गर्न उनले कोरेको बाटोमा अविचलित हिँड्ने नक्कली अठोट दोहोर्याउनेछन् । मदन-आश्रति स्मृतिको अर्को एउटा औपचारिकता पूरा हुनेछ ।
दिवंगत नेपाली नेतामध्ये वीपी कोइराला र पुष्पलाल श्रेष्ठपछि बडो आदरका साथ मदनको नाम लिने गरिन्छ । तर एमाले नेताहरूका लागि यो नाम विगतको गाथा गाउने र फगत औपचारिकता निर्वाह गर्ने माध्यममा सीमित हुँदै गएको छ । स्वयम् एमाले पंक्तिभित्रै मदनलाई भजाइएको भन्दै असन्तुष्टि बढेको छ । एकजना नेता वाचस्पति देवकोटा भन्छन्, 'सत्तामा पुग्न, सम्पत्ति जोड्न विचारलाई तिलाञ्जली दिएर बढिरहेको पार्टी नेतृत्वले मदनलाई तिथिमा सम्झनुको कुनै अर्थ छैन ।'
नेतृत्वले औपचारिक सम्झनामा सीमित गरे पनि एमालेका लागि मदनको महत्त्व आज पनि उत्तिकै सान्दर्भिक छ । उनैले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद -जबज) अहिले पनि यो पार्टीको मार्गदर्शक सिद्धान्त हो । यसैमार्फत उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई प्रजातन्त्रीकरण गरे र कम्युनिष्टहरू भनेका परम्परागत एवं शास्त्रीयमात्रै हुँदैनन्, शान्तिपूर्ण राजनीति र प्रतिस्पर्धामा उत्रिन सक्छन् भन्ने सन्देश दिए । 'कम्युनिष्टहरू अधिनायकवादी र एकदलीय हुन्छन् भन्ने परम्परागत मान्यतालाई चिर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रजातन्त्रको पक्षमा उभ्याए', एमालेका अर्का नेता योगेश भट्टराई भन्छन्, 'दसक लामो विद्रोहमा लागेको माओवादीले शान्तिपूर्ण राजनीति स्वीकार गरेर आउनुले वाम आन्दोलनको प्रजातन्त्रीकरण र प्रतिस्पर्धात्मक राजनीतिक चिन्तन सही थियो भन्ने थप पुष्टि भएको छ ।'
मदनले एमालेलाई नयाँ बाटोतर्फ त मोडे, तर उनको अवसानपछि वैचारिक उत्तराधिकारको अभाव टड्कारो रूपमा देखापर्दै गयो । अवसानको १८ वर्षपछि एमालेसँग 'जबज' दस्तावेजमै सीमित छ । यस्तो किन भयो ? स्थायी समिति सदस्य तथा अनुशासन विभाग प्रमुख अमृत बोहरा भन्छन्, 'आत्मकेन्दि्रत सोच, व्यक्तिपरक, गुटबन्दी, सत्तामुखी प्रवृत्ति र पदमा पुग्न जे पनि गर्ने चरित्र विकास हुँदै गएको छ र जबजलाई आफ्नो स्वार्थअनुसार व्याख्या/विश्लेषण गरेर मदनलाई सत्तामा पुग्ने सिँढी बनाउने प्रवृत्ति हावी छ ।'
जबजका आधारभूत मूल्य-मान्यता अवलम्बन नगर्नुका कारण पार्टी अनुशासनहीन बन्दै गएको उनको ठहर छ । योगेश त झन् मदनको अवसानसँगै एमालेभित्र विचारको बहस र निर्माण प्रक्रिया अवसान भएको ठान्छन् । 'कम्युनिष्ट पार्टी भनेकै विचारको बहस, नयाँ विचारको निर्माण गर्ने मञ्च हो, तर मदनको अवसानपछि यहाँ विचारको बहस पटक्कै छैन', उनी भन्छन्, 'अहिलेको नेतृत्वमा नयाँ विचार निर्माण गर्ने, अध्ययन गर्ने प्रवृत्ति निकै कम छ । खालि हेपाहा प्रवृत्ति बढी छ ।' जबजको सही र पूर्ण परिपालना गर्न नसक्नु, बदलिँदो राजनीतिक सन्दर्भ र आयामअनुसार विचार निर्माण गर्न नसक्नु लगायतका कारण एमाले संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा खुम्चिनुपरेको उनको ठम्याइ छ । '२०५० सालमा मदनको निधन भएपछि यो पार्टी प्राविधिक र लहलहैका आधारमा चल्यो, जसको परिणति संविधानसभा चुनावमा देखियो', योगेश थप्छन् ।
संविधानसभाको तेस्रो शक्ति भए पनि एमालेले यसबीच दुईपटक आफ्नो नेतृत्वमा सरकार गठन गरिसकेको छ । तर राष्ट्रिय राजनीतिमा हेर्ने हो भने मदनबिनाका १८ वर्षमा यो पार्टी मध्यमार्गका नाममा विचारमा सदैव ढुलमुले र द्वैधमात्रै देखिएन, नेतृत्व संकटसमेत उजागर भयो । पार्टी विभाजित भयो र थुप्रै कार्यकतर्ा किनारा पनि लागे, जसलाई माओवादीले आफ्नो संगठन विस्तारको ऊर्जा बनायो । पार्टीको साख र प्रभाव घटेको देख्दा बेलाबखत कार्यकर्ता पंक्तिमा मदनको स्मरण र खोजी हुन्छ । वाचस्पति देवकोटा भन्छन्, 'उहाँजस्तो सौम्य, आर्थिक मामिलामा पारदर्शी, सन्तुलित जीवन बाँच्न सक्ने, विचारमा दृढ र प्रस्ट अनि सबैका कुरा सुनेर निष्कर्ष निकाल्ने नेताको अभाव हाम्रो पार्टीमा खट्केकै हो ।'
एउटा प्रभावशाली नेताको रूपमा उदाउँदै गर्दा मदनको अवसान भयो । लामो व्यावहारिक परीक्षण भइनसकेको उनको नेतृत्व भविष्यमा कसरी अगाडि बढ्थ्यो ? उनी सफल हुन्थे वा हुन्नथिए ? यस्ता प्रश्न रहिरहे पनि यथार्थ के हो भने खुला राजनीतिको छोटो अवधिमै यिनले नेता, कार्यकर्ता र धेरै शुभेच्छुकहरूको मन जितिसकेका थिए । ताप्लेजुङको ढुंगेसाँघु गाउँको बाहुन परिवारमा जन्मिएका उनको १४ वर्षको उमेरमै राजनीतिक चेत खुलेको थियो । '१४ वर्षको उमेरमा गाउँमा मैले साम्यवादी युवासंघ भन्ने संगठन बनाएँ र दिल्लीस्थित रसियन र चाइनिज एम्बेसीमा सम्पर्क गरेँ । उनीहरूले केही साहित्यिक किताबहरू पठाइदिए', मदनले एउटा अन्तर्वार्तामा भनेका छन् ।
सानै उमेरदेखि तेज मदनले चण्डी पाठ कण्ठ गर्ने गरेको प्रसंगले जिल्लाभरि चर्चा पाएको थियो । ०२४ सालमा उनको परिवार मोरङ बसाइँ सर्यो । त्यसपछि उनी पढ्न भारतको मथुरा पुगे, जहाँ चार वर्ष बिताएपछि बनारस पुगे, त्यहीं उनको कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग भेट भयो । ०३० सालमा उनी पुष्पलाल समूहको सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य भएसँगै पूर्णकालीन कार्यकर्ता बने । ०३३ सालमा सहकर्मीहरू मोदनाथ प्रश्रति र जीवराज आश्रतिसँग मिलेर पुष्पलाल समूहबाट अलग भई मुक्तिमोर्चा समूह बनाए । अनि झापा विद्रोहको पृष्ठभूमिबाट जन्मेको को-अर्डिनेसन केन्द्रमा विलय भएर ०३५ मा गठित नेकपा मालेको केन्द्रीय सदस्य बन्न सफल भए र ०४६ मा सिरहामा भएको चौथो महाधिवेशनले त उनलाई महासचिव नै चयन गर्यो ।
वैचारिक स्पष्टता र नेतृत्व क्षमताकै कारण मदनले यस्तो सफलता हासिल गरेका थिए । 'वर्गशत्रु खत्तम अभियान'बाट आएको मालेलाई शान्तिपूर्ण जनसंघर्ष र प्रतिस्पर्धात्मक राजनीतिमा अवतरण गराउनमा उनको निणर्ायक भूमिका रह्यो । '२०३६ सालमा जनमत संग्रहका बेला सुरुमा पार्टीले बहिस्कार गर्ने नीति अवलम्बन गरेको थियो, त्यसताका जनमत संग्रह बहिस्कार गर्नुहुन्न, यसलाई जनताको पक्षमा उपयोग गर्नुपर्छ भन्ने धारणा ल्याउनेमध्ये अगुवा व्यक्तित्व मदन हुनुहुन्थ्यो', एमाले केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले ०५० सालमा प्रकाशित सूर्य मासिकमा लेखेका छन्, 'पञ्चायती चुनावलाई जनताको पक्ष्ामा उपयोग गर्नुपर्छ भन्ने पक्ष्ामा पनि उहाँ हुनुहुन्थ्यो ।'
२०४६ को जनआन्दोलनपछि मदनलाई भूमिगत राजनीति छाडेर बाहिर आउने बाटो खुल्यो । सुरुमा पार्टी प्रवक्ताका रूपमा देखिएका उनी ०४७ वैशाख १६ गते सार्वजनिक भए । भूमिगतकालमा कार्यकर्ता र केही नेतामा सीमित उनको व्यक्तित्व आमजनतामा छिटै भिज्यो । खुला राजनीतिमा उनी जम्माजम्मी तीन वर्ष रहे, तर लोकपि्रयता र ख्याति वर्षौं राजनीतिमा रहेका नेताजस्तो बन्न पुग्यो । मदन भाषणकलामा कति निपुण थिए भने विपक्षी दलका कार्यकर्तासमेत उनलाई सुन्न पुग्थे । ०४८ कोे निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै काठमाडौंका दुई क्षेत्रबाट जितेपछि उनी चर्चाको शिखरमा पुगे । न्युजविकका पत्रकार मिकेल लिटविनले लिएको अन्तर्वार्तामा उनलाई 'नेपाल जहाँ कार्लमाक्र्स जीवित छन्' भनेर टिप्पणी गरियो ।
खुला राजनीतिको छोटो अवधिमै मदन जनपि्रय बन्नुका केही कारण थिए । एक, स-साना झुन्डमा रहेका कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गरी उनले प्रभाव फैलाएका थिए । दुई, उनी भाषणकला र वैचारिक हिसाबले प्रस्ट नेता थिए, मुलुकको निम्न मध्यम र मध्यम वर्गले सायद आफ्नो आवाज बोल्ने नेता पाएको थियो । तीन, उनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका नारा निर्धक्क अगाडि सारेका थिए । चौथो, उसबेला अलोकपि्रय राजसंस्थामाथि प्रहार केन्दि्रत गर्ने आँट गरेका थिए । तत्कालीन राजालाई 'श्रीपेच फुकालेर राजनीति गर्न मैदानमा आउनुपर्छ' भन्ने उनको उद्घोषले आमचर्चा पाएको थियो । यसरी उसबेला एउटा 'क्याडर बेस्ड' पार्टीले 'मासलिडर' जन्माएको थियो, जसको अल्पायुमै अवसान भयो । त्यसले उदाउँदो एमालेमा ठूलै रिक्तता उत्पन्न गर्यो, जुन पूर्णरूपमा अझै भरिएको छैन । योगेश भन्छन्, 'मदनको रिक्ततापछि पार्टी वैचारिक, सांगठनिक, अनुशासन हरेक दृष्टिले ओरालो लाग्दैछ र यसो हुनुमा प्रमुख नेतृत्व दोषी छ ।'
रहस्यकै गर्भमा दासढुंगा
तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रति एकमहिने पार्टी कार्यक्रममा निस्केका थिए । ०५० जेठ ३ गते पोखरामा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम थियो भने भोलिपल्ट चितवनमा महिला कार्यकर्ता भेला तय थियो । जेठ १ गते वाचस्पति देवकोटा र जीवराज आश्रति चालक अमर लामाका साथ मित्सुविसी पजेरो बा.अ. च ८७९३ मा पोखरा गए भने भोलिपल्ट मदन हवाइजहाजबाट पुगे । भोलिपल्ट बिहान पोखरा अधिवेशन सकेर २ बजे आश्रतिसहित उनी त्यही पजेरोमा नारायणगढतर्फ लागे । त्यसैदिन अपराह्न ५ः३५ मा दासढुंगामा जिप दुर्घटना हुनपुग्यो । चालक लामा बाँचे भने मदन र आश्रतिसहित जिप त्रिशूलीमा खस्यो । उनीहरू मारिए । उक्त घटनालाई एमालेले 'षड्यन्त्र' ठहर गरी देशव्यापी प्रदर्शन गर्यो, तर अहिलेसम्म उक्त प्रकरणको अन्तिम निष्कर्षमा एमाले स्वयम् पुगेको छैन ।
एमालेले तत्कालीन सरकार तथा देशी-विदेशीले षड्यन्त्र गरेको अमूर्त आरोप लगाउँदै घटनाको निष्पक्ष्ा छानबिनको माग गरेको थियो । आन्दोलनले उग्ररूप लिएपछि र जनधनको ठूलै क्षति भएपछि तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले प्रचण्डराज अनिल रहेको जाँचबुझ समिति गठन गर्यो, जसले 'स्वाभाविक दुर्घटना' भन्ने प्रतिवेदन बुझायो । आन्दोलन रोकिएन । सात वषर्ीय बालक अनिस श्रेष्ठसहित कम्तीमा दुई दर्जन सर्वसाधारण मारिए । अन्ततः भदौ १ गते एमाले र सरकारबीच सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने सहमति भए पनि सहमतिको पालना झन्डै एक वर्षपछि भयो । ०५१ असार १४ गते सरकारले न्यायाधीश त्रिलोकप्रताप राणाको संयोजकत्वमा अर्को छानबिन आयोग बनायो । यो आयोगले पनि हत्या भन्ने पुष्टि गर्न नसक्ने निष्कर्ष सहितको प्रतिवेदन दिएपछि दासढुंगा प्रकरण विस्तारै सेलाउँदै गयो ।
यसअघि जनस्तरबाट पद्मरत्न तुलाधरको संयोजकत्वमा नागरिक छानबिन आयोग र एमालेले केपी ओलीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । ओली आयोगले षड्यन्त्र भन्दै अमर लामालाई गद्दार घोषणा गरेर पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्यो भने तुलाधर आयोगले पनि रहस्य अमर लामालाई नै थाह हुनसक्ने निक्र्योल निकालेर दुर्घटना रहस्यमय भएकै भन्ने तर्कलाई बल दियो । यद्यपि यी अध्ययनले त्यस्तो 'षड्यन्त्र' किन र कसले गरायो भन्ने रहस्य खोल्न सकेन ।
एमालेले दोषी ठहर गर्दै आएको र घटनाको एकमात्र साक्षी अमर लामाको पनि ०६० साउनमा हत्या भएपछि यो दुर्घटना थप रहस्यमय बन्यो । रहस्य अझै खुलेको छैन र यसको वास्तविकता खोज्ने चासो कुनै पनि सरकारले देखाएको छैन । अरू त अरू षड्यन्त्र देख्ने एमाले यसबीच छपटक सत्तामा पुग्यो, तर यो दुर्घटना प्रकरण खोतल्नेमा चासो देखाएन ।
दुर्घटनापछि एमालेका तीन नेता -मनमोहन अधिकारी, माधव नेपाल र झलनाथ खनाल) प्रधानमन्त्री भइसकेका छन् । केपी ओली, वामदेव गौतम, भीम रावल गृहमन्त्री भइसकेका छन् । स्वयम् मदनकी पत्नी विद्या भण्डारी रक्ष्ाामन्त्री भइसकेकी छन् । तर कसैले पनि छानबिनका लागि अनुसन्धान गर्ने समितिसम्म बनाएनन् । स्थायी समिति सदस्य अमृत बोहरा भन्छन्, 'हाम्रै पार्टीका साथीहरू प्रधानमन्त्री, गृहमन्त्री भए, तर मदन-आश्रति दुर्घटनाको कुरा कहिल्यै उठेन । रहस्य उद्घाटित र खोजी गर्ने कुरामा सबै उदासीन देखिए ।'









0 commentaires