बारा, जेष्ठ ४ -सोमबार बारामा पुनः बोक्सीको आरोपमा एक महिलालाई दुर्व्यवहार गरी निर्घात कुटपिट गरिएको छ ।
बोक्सी आरोपमा आफनै छिमेकीले सोमबार दिउँसो करिब ४ बजे कुटपिट एवं दुर्व्यबहार गर्दै बेल्दारी ४ निवासी ६० वर्षीया फुलझरी देवी यादवलाई घाईते बनाएका छन् ।
फुलझरियाको घरमा जबर्जस्ती पसेर कुटपिट गर्ने समुहबाट भाउजु फुलझरियालाई बचाउने क्रममा उनका देवर ५० वर्षीय महन्थ यादव समेत घाईते भएका छन् ।
फुलझरीले आफ्नो छोरी १९ वर्षीया बबिता कुमारी यादवलाई तन्त्रमन्त्रबाट बिरामी पारेको आरोप लगाउदै बुआ रामाधार यादवले दलबलका साथ फुलझरीको घरमा जबर्जस्ती पसेर लाठी, मुक्कालगायतले कुटपिट गरेको पिडित फुलझरीले बताईन ।
उनले भनिन्, 'मलाई जोगाउन आएका देवर महन्थलाई समेत उनीहरुले लाठीले कुटेर टाउको फुटाए ।'
घाईते देवर भाउजुको उपचार जिल्ला अस्पताल कलैयामा भईरहेको र उनीहरुको अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।
रामाधार यादव, शम्भु यादव, अनिल यादव लगायतले घरमा जबर्जस्ती पसेर कुटपिट गरेको पिडित फुलझरीले लगाईन ।
'म बोक्सी होईन, मलाई तन्त्रमन्त्र आउँदैन तर पनि उनीहरुले पटक पटक मलाई बोक्सी भनेर अपमानित गर्ने गरेका छन्' उनले दुखेसो पोखिन ।
गाउबाट न्याय नपाए पछि स्थानिय प्रहरी चौकीको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा गएर न्यायको लागी ढोक्का ढकढकाउने उनले बताईन ।
प्रहरी चौकीमा तत्कालै गएर घटनाबारे जानकारी गराए पछि मात्र बाँच्न र गाउँमा बस्ने वातावरण पाएको उनको देवर महन्थले बताए ।
मंगलबार सार्वजनिक विदा परेकोले बुधबार जिल्ला प्रहरीमा पीडकहरु उपर कानुनी कारवाहीको लागी उजुरी दिने महन्थले जानकारी दिए ।
यस अघि पनि बोक्सीको आरोप लगाउदै उक्त समुहले नै फुलझरीलाई कुटपीट गरे पनि गाउँका भद्रभलाद्मीहरुले पंचायती गरेर झगडा मिलाएको स्थानीय जयप्रकाश यादवले बताए ।









0 commentaires