भट्टराईको हत्या षड्यन्त्र भएको माओवादीद्धारा स्वीकार


कारबाहीबारे मौन, कार्यालयमा धर्ना


४  जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको हत्या गर्ने योजना बनेको स्वीकार गरेको छ ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबार विज्ञप्ती जारी गरी ‘केही अनुशासनहीन, उच्छृङ्खल एवम् अराजक व्यक्तिले पार्टी कार्यालयमा प्रवेश गरी उपाध्यक्ष भट्टराईको हत्या गर्ने योजना बुनिरहेको’ स्वीकार गर्नु भएको छ । यसले पार्टीलाई दुःखित र सतर्क बनाएको भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शर्माले पार्टीभित्र प्रतिक्रियावादी घुसपैठ खतरनाक तहसम्म पुगेको गम्भीर आशंका पैदा भएको बताउनु भएको छ । विज्ञप्तीमा भनिएको छ-’पछिल्लो समयमा बढ्दै गएका अराजक, अनुशासनहीन एवम् उच्छृङ्खल तत्वका गतिविधिले कतै पार्टीभित्र प्रतिक्रियावादी घुसपैठ खतरनाक तहसम्म पुगेको त छैन भन्ने गम्भीर आशंका पैदा गराएको छ ।’
पार्टी उपाध्यक्ष डा. भट्टराईको हत्या गर्ने योजना बनेको स्वीकार गरिएपनि योजना बनाउनेमाथि कारबाही गर्नेबारे केही बताइएको छैन । ‘घटनामा संलग्न व्यक्तिहरूलाई छानविन गरी अनुशासनको दायराभित्र ल्याउनु पार्टीको दायित्व भएको कुरा सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायमा आश्वस्त तुल्याउनु हामी आफ्नो कर्तव्य ठान्दछौं ।’-विज्ञप्तीमा भनिएको छ । अनुशासनको दायराभित्र ल्याउने भनिएपनि त्यसमा संलग्नहरुमाथि कस्तो कारवाही हुन्छ भन्नेबारेमा प्रवक्ताको बिज्ञप्ति मौन छ ।
कारवाहीबारे कही पनि उल्लेख नहुँदा भट्टराईपक्ष भने आक्रोशित भएको छ । पार्टी संस्थापन पक्षले मजदुरभित्र पसेका गुण्डाहरुलाई संरक्षण गरेको आरोप लगाउँदै भट्टराईपक्षले यसबारे केन्द्रीय कमिटिमा कुरा उठाउने तयारी गरेको छ ।
 भट्टराईलाई धम्की दिनले अरुलाई पनि नछोड्ने भन्दै उनीहरुले तत्काल पार्टी हेडक्वाटरले ठोस कदम नचाले तत्काल पार्टी बैठक बोलाएर निर्णय गर्न लगाउने बताएका छन् । ‘हिमालीलाई खानेले पवर्तेलाई पनि खान्छ, मधेसीलाई पनि खान्छन्’ अनलाइनखबरसँग कुरा गर्दै पोलिटव्युरो सदस्य राम कार्कीले भन्नुभयो-’हामी केहि दिन हेडक्वाटरले के गर्छ हेछौं, भएन भने पार्टीको केन्द्रीय वा अन्य निकायको बैठक बोलाएर कारबाहीबारे ठोस निर्णय गर्न लगाउँछौं ।’
पछिल्लो समय पार्टीमा दण्डहिनता र अराजकता बढेको भन्दै कार्कीले त्यसलाई तत्काल अन्त्य गर्न ठोस कदम नचाले पार्टी नै समाप्तीको दिशामा जाने चिन्ता व्यक्त गर्नुभयो ।
केन्द्रीय कार्यालयमा धर्ना
पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईमाथि ज्यान मार्ने धम्की दिनेलाई कारवाहीको माग गर्दै पार्टी सम्वद्ध मजदुरहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । स्वस्फूर्तरुपमा विभिन्न होटल, क्यासिनो तथा अन्य श्रम प्रतिष्ठानबाट पेरिसडाँडा पुगेका मजदुरहरुले मंगलबार पार्टी नेताहरुको सुरक्षाको ग्यारेन्टी गर्न र भट्टराईमाथि ज्यान मार्नेमाथि कारवाहीको माग माग गर्दै नारावाजी समेत गरेका छन् । विहान साढे १० बजेबाट सुरु भएको धर्ना एक घण्टासम्म चलेको थियो ।
मजदुरको आवरणमा पार्टीभित्र गुण्डा र अपराधिक समुह प्रवेश गरेको भन्दै उनीहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । ‘मजदुर संगठनमा पहिलेदेखि नै आक्रमण हुँदै आएको थियो’ धर्नामा सहभागी एक मजदुर नेताले भने-’अहिले शीर्ष नेताहरुलाई नै धम्क्याउन थाले । उनीहरुलाई तत्काल कारवाही गरी नेताहरुको सुुरक्षाको ग्यारेन्टी गर्नुपर्छ ।’ मजदुरहरुले मुल गेट अगाडि नारावाजी गरिरहेका बेला जम्मरकट्टेल र बर्तौला लगायतका नेताहरु भने छतमा बसेर हेरिरहनु भएको थियो ।
प्रोपोगाण्डा मात्र होः आरोपित
ज्यान मार्ने धम्की दिएको आरोप लागेका जनक वर्तौलाले भने आफूमाथि लागेको आरोप निराधर भएको बताउनु भएको छ । पार्टी कार्यालयमा विघटित अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्मरकट्टलसँगै भेटिएका वर्तौलाले पार्टीका उपाध्यक्ष भट्टराईलाई ज्यान मार्ने धम्की दिने आफ्नो हैसियत नै नभएको बताउनु भयो । उहाँले भन्नुभयो-’उहाँ हाम्रो पार्टीको सम्मानित नेता हुनुहुन्छ । उहाँलाई मारेर मलाई के हुन्छ र ? उहाँलाई मार्ने धम्की दिने मेरो हैसियत पनि छैन ।’ वर्तौलासँगै रहेको जम्मरकट्टेलले पनि वर्तौलाले धम्की दिएको भए उनलाई कारबाही गर्नु भन्दै भट्टराईले मिडियामा प्रोपोगाण्डा मात्र गरेको दावी गर्नुभयो ।
बाबुरामलाई सिध्याउने धम्की दिएका जनक वर्तौला (दाँया) र शालिकराम जम्मरकट्टेल
पार्टी अध्यक्ष प्रचण्ड निकटका शालिकराम जम्मरकट्टेलको सहयोगी जनक वर्तौलाले सोमबार पार्टी कार्यालयको छतमा पसेर केही दिनमै बाबुरामलाई सिध्याउने धम्की दिएका थिए । भट्टराई पक्षका मजदुरमाथि आक्रमणम गरेको आरोपमा अन्नपूर्ण क्यासिनोका एकाइ अध्यक्ष कल्पदीप राईलाई प्रहरीले नियन्त्रणमा लिएको जम्मरकट्टेल आक्रोसित बनेको माओवादी स्रोतले जनाएको छ । उपाध्यक्ष डा भट्टराईले आफूमाथि हुन लागेको साङ्घातिक आक्रमणको सूचना महासचिव रामबहादुर थापा र गृहमन्त्री कृष्णबहादुर महरालाई जानकारी गराइसक्नुभएको छ । धम्कीपछि उपाध्यक्ष डा भट्टराईको सुरक्षाका लागि थप सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login