लुटिएका सीमामा दुखेको मन


 दीपकराज घिमिरे विभिन्न पत्रपत्रिकाको सम्पादकसमेत रही कार्य गर्दै आएका अधिवक्ता मनोहर लामिछानेको 'लुटिएका सीमाहरू' नामक कवितासंग्रह बजारमा आएको छ । यसअघि लामिछानेले 'विजय यात्रा', 'लोकसाहित्य र संस्कृतिका केही पाटाहरू'लगायत पुस्तक प्रकाशन गरिसकेका छन् ।

जनमत प्रकाशन बनेपाद्वारा प्रकाशित काव्यग्रन्थ 'लुटिएका सीमाहरू'मा कवि लामिछानेले देश र जनताका निम्ति आवाज बुलन्द रूपमा सम्प्रेषण गरेका छन् । दृष्टि-चेतले आफूलाई देशभक्तका रूपमा पेस गर्न सफल कविका भावना 'गणतन्त्र' शब्दमा मात्र रूपान्तरण भएको, तर व्यवहारमा लागू नभएको वस्तुतथ्य उजागर गरिएको छ ।
पिता रोमहर्ष उपाध्याय तथा माता सरस्वती उपाध्यायको कोखबाट ०१५ असोज ७ गते सल्यान सुइकोट- ४ माचपानीमा जन्मिएका कवि मनोहर लामिछानेले जाजरकोटमा माध्यमिक तहको शिक्षा आर्जन गरी नेपालगन्ज हुँदै काठमाडौँलाई कर्मस्थल बनाएका हुन् ।
कवितासंग्रहमा कविले देश दुख्दाका कुरा, राजनीतिमा बेथिति बढ्दाका सन्दर्भ, विस्तारवादी आकांक्षाका दुस्साहस व्यक्त गरी आफूलाई चेतनशील कविका रूपमा प्रस्तुत गरेका छन् । समकालीन जीवनको कुरूप यथार्थप्रति तीव्र प्रतिरोध गर्नु र भविष्यको सुनौलो परिदृश्य उपस्थित गर्नु लामिछानेको कविताको अभीष्ट रहेको देखिन्छ ।
लामिछानेले कवितामार्फत यथार्थको जीवन्त तस्बिर उतारेका छन् भने विद्रोहको नवीन भूमि निर्माणका निम्ति ऊर्जा प्रदान गरेका छन् । संग्रहित कविताको कथ्य, भाव र विचारमा नवीनता र मौलिकता झल्केको पाइन्छ । कवितामा यथार्थ ध्वनित र अभिव्यञ्जित हुनुभन्दा त्यसप्रतिको विद्रोहमूलक भाव-टिप्पणीका साथै क्रान्तिकारी अभिचेत उकास्नेतर्फ र नेपाली जीवनको समग्र प्रस्तुतितर्फ कवि केन्दि्रत भएका छन् । क्रान्ति र विद्रोहभाव सुगन्धमिश्रति कवितामा राष्ट्रिय स्वाधीनता, देशप्रेम, भविष्यप्रति आशावादी, निर्बन्ध अर्थात् मुक्त जीवनको चाह प्रकट भएको छ ।
५३ वटा कविताहरूको सँगालो 'लुटिएका सीमाहरू'मा कवि लामिछानेले कालापानीमा मर्न पाऊँ कवितामार्फत भनेका छन्-


डरलाग्दो वर्तमान

हिजोका सुरुङ युद्धका अभ्यासहरू
उत्तरी सीमाका चेकपोस्टहरू
कोसी बाँधका आततायी पीडाहरू
सुस्ताका घाउहरू
फेरि कता बल्झने हुन्

अझै डरलाग्दो, कहालीलाग्दो वर्तमान ।

कविताको ऊर्जा भनेकै समकालीनता हो, उनको कवितात्मक कलाले जीवनको यथार्थतालाई चिर्दै भविष्यको स्वप्नदृष्टि प्रक्षेपण गरेको छ । 'कालापानीमा मर्न पाऊँ' भन्ने आकांक्षा आफँैमा ललित एवं परिवर्तनमुखी छ । उनी युद्ध वा नयाँ आर्क बनाउने पक्षमा उभिएका छन् ।
शोषकीय चरित्रप्रति तीव्र प्रहार गर्दै आमूल परिवर्तनकारी शक्तिप्रति स्नेहभाव अभिव्यक्त गर्नु र आफँै क्रान्ति वा विद्रोहमा सामेल हुनु अनि सर्वहारावर्गीय अदम्य जोश, आँट र उत्साहलाई कविताकलामा उन्नु, स्तुत्य र गौरवपूर्ण कार्य हो भने लामिछाने यस समयका क्रान्तिकारी कवि हुनुका अर्थमा आफ्नो कलाधर्म स्थापित गर्न सक्षम रहेको देखिन्छ । लुटिएका सीमाहरूमा कवि भन्छन्-

सुस्तामा रोएको राष्ट्र कोसी बाँधमा ठोक्किँदा

गड्डाचौकीमा छिनेको जग्गा टनकपुरमा घाउ पर्छ
सिमाना लुटिएका छन्, सिंहदरबार मौन बस्छ

लुटिएको दुधुवा जंगल, अर्कैको पार्क बन्छ ।

'देशको पीडा, देशको तस्बिर'मा कविले विद्यमान राजनीतिक खिचातानीले उब्जिएको महँगी, वन फँडानी र जलस्रोतमा धनी भनेर चिनिएको देशले व्यहोर्नुपरेको पीडालाई यसरी चित्रित गरेका छन्-

कतै बाढी,

कतै खडेरी,
जलस्रोतको धनी देश
लोडसेडिङका नियमित शृंखला,
मन्त्रीका आदेश, वन फँडानी
महँगी, भोकमरी, झाडापखाला

देशको पीडा, देशको तस्बिर ।

नेताहरू संविधान बनाउने बहानामा सत्ताको खेलमा लुछाचुँडीमै व्यस्त रहेको र जनतालाई संविधान लेख्दै छाँै भनी आश्वासन मात्र दिने गरेको तीतो यथार्थलाई लामिछानेले 'जनता नझुक्याऊ, संविधान लेख्दै छाँै भनेर' कवितामार्फत व्यक्त गरेका छन्-

देश बनाउने कसम खाँदै

नयाँ युगको सुरुवात गर्न
एउटा गतिमा देश पुगेको वेला
गन्तव्य निर्धारणको नयाँ मोडमा
हामी सबै उभिएका छाँै
वर पीपलको चौतारीमा
नयाँ संविधान निर्माण गर्न

जनता झुक्याउँदै भनिरहेका छाँ
'तिम्रै काम हो, हेर लागेकै छाँ
तिम्रै संविधान लेखिरहेका छाँ ।'

कवितामा मानव र प्रकृतिबीचको सन्निकटतालाई पनि उजागर गरिएको छ । 'नयाँ चराहरू' कवितामा चराहरूको प्रसंग ल्याएर ऋतुहरूको वर्णन गरिनुले कवि प्रकृतिप्रेमी देखिएका छन् । यो काव्यकृति विभिन्न अनुसन्धाताका लागि संग्रहणीय बन्न सक्ने देखिन्छ ।






source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login