काठमाडौ, चैत्र २० -अर्थसचिव रामेश्वर खनालले 'पद, पैसा र सत्ताका लागि आएका दबाब थेग्न नसकेपछि राजीनामा दिएको' बताएका छन् । मंगलबार राजीनामा दिई ट्रेकिङमा गएका उनी शनिबार पर्वतको कुस्मा पुगेका थिए । त्यहाँ उनीसँग गरिएको टेलिफोन कुराकानी- सचिवज्यू, कहाँ हुनुहुन्छ ?
म ट्रेकिङमा छु । घान्द्रुकबाट हिँडेपछि झन्डै दुई दिन टेलिफोन सम्पर्क पनि हुन सकेन । म ठीक छु । कसैबाट लुकेर बसेको छैन ।
तपाईंले एकाएक राजीनामा दिएपछि राजधानीमा धेरै हलचल छ, संसद् अवरुद्ध भएको छ, यसलाई कसरी लिनुभएको छ ?
मलाई राजनीतिमा नमुछिदिएको भए हुन्थ्यो । म राजनीतिक पात्र बन्न चाहन्नँ । मैले कुनै राजनीतिक पूर्वाग्रह राखी राजीनामा गरेको होइन । मैले त काम गर्दा आइपर्ने अनावश्यक दबाबबाट थाकेर राजीनामा दिएको हुँ ।
राजीनामा दिनुको मुख्य कारण के हो ?
कारण एउटा मात्रै छैन । मैले पछिल्ला ८ वर्ष अर्थ मन्त्रालयमा निकै कठिन गरी बिताएँ । कहिले वीरगन्जको कर्मचारी अलि कमाउन पाउने ठाउँ तातोपानी भन्सारमा पर्न पाए हुन्थ्यो भन्दै आउँथे । कहिले कुनै एक ठाउँमा सीधै १० लाख देऊ भन्दै नेताहरूको दबाब पथ्र्याे । वित्तीय सन्तुलन बिगि्रन्छ भनेर सम्झाउँदा-सम्झाउँदा थाकें । हरेक साँझ घर र्फकंदा दिनभरि भोगेका घटनाले थप चिन्तित बनाउँथे, त्यसै कारण यस्तो निर्णय गरें ।
पूरक बजेटलगायत विषयमा तीव्र राजनीतिक दबाब परेकाले राजीनामा दिएको हो भन्ने विषय सही हो ?
पछिल्लो समयमा पूरक बजेट अर्थ मन्त्रालयभन्दा बाहिर बन्न थाल्यो । मैले भएकै बजेट खर्च हुन नसकिरहेका बेला नयाँ बजेट ल्याउन ठीक नहुने धारणा राखेको थिएँ । ल्याउने नै हो भने पनि वित्तीय सन्तुलन नबिग्रने गरी मन्त्रालयमै बसेर बनाऊँ पनि भनें । तर अर्थमन्त्रीज्यू बाहिर-बाहिर बजेट बनाउँदै हिँड्नुभयो । मैले विश्वासमा लिन सकिन जस्तो लाग्यो । पहिलेदेखि नै मान्छेहरूको लोभी-पापी प्रवृत्ति देखेर दिक्क भइसकेको थिएँ । पछिल्लो समय सरकारी जागिरमा बसेर केही गर्न सकिने अवस्था नभएपछि बाहिर बसेर भ्रष्टाचार र अनियमितताविरुद्ध लड्न राजीनामा दिएको हुँ ।
त्यसो भए अब तपाईं अर्थ मन्त्रालय र्फकनु हुन्न ?
अब म सरकारी सेवामा र्फकन्नँ । मैले ३१ वर्ष सेवा गरें । अब नागरिक समाजसँग मिलेर काम गर्छु । म बाहिर आएँ भन्दैमा अब के हुन्छ भनेर आत्तिनु पर्दैन । म अनियमितताविरुद्ध निरन्तर लागिरहने छु । ।
तपाईंले विश्व बैंक वा एसियाली विकास बैंक जान छाडेको भन्ने हल्ला पनि छ नि ?
त्यसो भए त म पहिले त्यता जागिर खोजेर राजीनामा दिन्थें नि । अर्थसचिवजस्तो सम्मानित पद बीचैमा छाडेर किन जाने ? फेरि मुख्यसचिवसम्म हुने सम्भावना छँदै थियो । म अब पढाउँछु । त्यसबाहेक अनियमितताविरुद्ध स्वतन्त्र रूपमा काम गर्छु । सरकारी सेवामा पनि र्फकन्नँ । एडीबी, विश्व बैंक पनि जान्नँ । म विदेश पनि जान्नँ ।
तपाईंको राजीनामापछि स्वतन्त्र रूपमा सरकारी जागिरमा काम गर्न चाहनेहरू निरुत्साहित छन्, के भन्न चाहनुहुन्छ ?
यसबाट निराश हुनु पर्दैन । मैले जबसम्म काम गरें, कहिल्यै निराश
भइनँ । जे ठीक देखें, त्यही गरें । जुन कुरा ठीक लागेन, गरिनँ । पछिल्लो समय काम गर्दा एकदमै दबाब महसुस गरें । स्वतन्त्र रूपमा काम गर्न नसकिनेजस्तो लाग्यो । त्यसैले छाडेको हुँ ।
काठमाडौं कहिले आउनु हुन्छ ?
म अब एकपटक मामाघर जान्छु । त्यहाँ मेरी ९४ वर्षकी हजुरआमा हुनुहुन्छ । उहाँलाई भेट्छु । त्यसपछि म काठमाडौं आउँछु । मेरो घर त्यहीं छ, म नेपालमै बसेर काम गर्छु ।
source:-kantipur










0 commentaires