काठमाडौ, चैत्र २० - रंगकर्मी भोलाराज सापकोटाले ३० वर्षको उमेरमा फागुन २४ मा बिहे गरे । तर उनी यतिबेला दोहोरो खुसीमा छन् । बिहे गरेको पाँच दिनपछि नै उनलाई बलिउडमा प्रवेशको ढोका खुलेको छ । अन्तर्राष्ट्रिय फिल्म उद्योगमै बिस्तारै आफ्नो दबदबा फैलाउँदै गएको भारतीय फिल्म उद्योगमा छिर्नै पाउनु पनि ठूलो मानिन्छ । भनिन्छ, बलिउड छिर्न बलिउडकै सन्तान हुनुपर्छ । हेटौंडामा जन्मेका भोलाराज स्थानीय नाट्य समूहबाट कलाक्षेत्रमा प्रवेश गरेका हुन् । करिब २० स्टेज नाटक खेलिसकेका गुरुकुल थिएटरका कलाकार उनलाई कतिपटक मञ्चन गरेँ भन्ने नै हेक्का छैन । 'जुँगे हल्दार' सडक नाटक नै उनले ३ सय ५० पटक देखाइसकेका छन् । रंगमञ्चबाट उदाएका उनै भोलाराजलाई भर्खरै भारतीय निर्देशक अनुराग वसुले नयाँ फिल्म 'बर्फी' का लागि अनुबन्ध गरिसकेका छन् । 'साया', 'मर्डर', 'ग्याङस्टार', 'काइट्स' लगायत फिल्म निर्देशन गरेका वसुलाई फिल्म 'लाइफ इन अ मेट्रो' ले केही अवार्डसमेत दिलाएको थियो ।
बलिउड फिल्ममा खेल्ने अवसर कसरी पाउनुभयो ?
गुरुकुलमै नाटक हेर्ने क्रममा प्रशान्त रसाइली मेरो प्रशंसक बन्नुभएको रहेछ । आफ्नो लघुफिल्म 'क्रसरोड' मा समेत मलाई खेलाउनुभएका उहाँले नै मेरा लागि बलिउडको ढोका खोलिदिनुभएको हो । नेपाली फिल्म 'आचार्य' निर्देशन गरिरहेका रसाइलीले 'काइट्स' मा अनुरागकै सहायक भएर काम गर्नुभएको रहेछ । अनि 'बर्फी' का लागि मेरो सिफारिस गरिदिनुभएको रहेछ ।
खेल्ने नै पक्का कसरी भयो ?
मलाई मार्च १३ मा अडिसनका लागि कोलकाता बोलाइयो । अनुहार र शरीर हेर्न फोटोसुटका लागि बोलाइएको होला भनेर काँधसम्मको कपाल काटेर पुगेको थिएँ तर अडिसनकै लागि रहेछ । अनुरागले मलाई एउटा सिचुएसन दिएर अभिनय गर्न लगाए । खुब डर लाग्यो, र पनि दिएँ । पछि उनले काँधमा धाप मार्दै 'तिमीले गर्छौ' भने । अनि बल्ल खुसी भएँ ।
अडिसनमा के गर्नुपर्यो ?
फिल्मकै अवस्थासँग मेल खाने गरी बोल्न र सुन्न नसक्ने आफ्नो साथीले एक युवतीलाई मन पराएको र बिहे अनि बच्चासमेत पाउन चाहेको कुरा बताइदिनुपर्ने थियो । मैले गरिदिएँ । त्यसबाहेक मैले प|mी स्टाइलमा आफैंले खेलेको नाटक 'बारुद शताब्दी' को एउटा दृश्य संवाद पनि देखाएको थिएँ ।
ँबर्फी’ मा भूमिका कस्तो छ ?
यो सस्पेन्स रोमान्टिक फिल्म हो । यसमा म रणवीर कपुरको मिल्ने साथीको रूपमा देखिनेछु । बोल्न र सुन्न नसक्ने रणवीरको भावना व्यक्त गरिदिने काम पनि मेरो पात्रको छ । हामी युवादेखि वृद्धावस्थासम्म सँगै हुन्छौं । त्यसो त रणवीरको मृत्युपछि पनि मैले दुई दृश्यमा न्यारेसन गर्नुपर्नेछ । पि्रयंका चोपडा रणवीरको अपोजिटमा छिन् । उनी पनि मेन्टल्ली च्यालेन्ज्ड युवती हुन्छिन् । फिल्म युनिटले कथालाई अहिल्यै उजागार नगर्न भनेकाले मैले सबै बताउन मिल्दैन ।
अन्य नेपाली कलाकारले कत्रो संघर्ष गर्दा पनि बलिउडमा खेल्न नपाएका बेला तपाईं...
यो मेरो नाट्य यात्राकै उपज हो । अनुराग पनि नाटक क्षेत्रबाटै आएकाले उनले कलाको महत्त्व बुझेका रहेछन् । मैले नेपाली फिल्ममा पनि खेल्ने प्रयास नगरेको होइन, अफर पनि आएकै थियो । तर जोकर बनाउने खालका मात्रै । यहाँ अभिनय क्षमता हेरेरभन्दा पनि शारीरिक उचाइ हेरेर व्यवहार गरिन्छ । यतिसम्म कि फिल्म 'सानो संसार' का लागि मलाई एउटा रोल भनेर पछि अर्कै गराइयो । सम्झौतामा 'तपाईंको रोलले धमाका मच्चाउँछ' सम्म भनेका थिए । पछि धोका दिइयो । साह्रै चित्त दुख्यो, आजसम्म त्यो फिल्म हेरेको छैन । नेपालमा पैसा खन्याएपछि जो पनि हिरो हुन्छन् ।
बलिउडमा अवस्था कस्तो पाउनुभयो ?
एकदमै व्यावसायिकता रहेछ । सबैमा आफ्नो कामप्रति लगाव पाएँ । 'बर्फी' कै लागि तीन दिनको सुटिङ गर्दा कुनै कलाकारमा अहंकार देखिनँ । रणवीरलाई एकदमै सहयोगी पाएँ । निर्देशकको कामगराइ पनि मन पर्यो । कथाको सिचुएसन अथ्र्याएपछि त्यसलाई आफ्नै शैलीमा प्रस्तुत गर्न कलाकारलाई स्वतन्त्रता दिँदा रहेछन् । उनले त मलाई 'तिमी जे गर, त्यो नयाँ शैली देखाउन सजिलो हुने' बताएका छन् ।
पारिश्रमिक कति लिनुहुने भयो ?
यकिन भएको छैन । मेरा लागि त प्लाटर्फम पाउनु नै ठूलो कुरा हो । तर पनि निर्देशकले सुटिङको अघिल्लो दिन 'कति लिने ?' भनेर सोधेका थिए, मैले 'तपाईंको हिसाबले दिनुहोला' भनें । उनले चेक दिन खोजेका थिए । उताको चेक यता नचल्ने भएकाले पछि नगद नै साथीको हातबाट पठाइदिने भनेका
छन् । त्यस बेला म हतारमा थिएँ, स्वदेश फर्किन । मेरा लागि यतिका खर्च गरेर बोलाउने मान्छेले मलाई मार्दैन भन्ने लागेकैले मैले पारिश्रमिक यतिउति नभनेको हुँ ।मौका पाए अरू हिन्दी फिल्म पनि खेल्ने ?
हेरौं, राम्रो चरित्रको अभिनय आयो भने नगर्ने कुरै हुँदैन । नाटकको विद्यार्थी हुँ, फिल्ममा नाटकको जति कला देखाउन त नपाइएला तर वास्तविकता भनेको पैसा कमाउनु पनि रहेछ । पेटको सवाल छ, झन् बिहे गरेपछि त उत्तरदायित्व स्वतः बढ्दो रहेछ । तर नाटक र फिल्मलाई समय मिलाउन गार्हो नपर्ला ।
बाँकी सुटिङका लागि कहिले जाने ?
अर्को महिना जान्छु । रणवीर अर्को फिल्ममा व्यस्त भएकोले ब्रेक भएको हो । अगस्टसम्म सुटिङ सकिन्छ ।










0 commentaires