रुकुम, चैत्र १९ - भरपर्दो उपचार सेवा अभावमा एकै दिन रुकुममा दुई सुत्केरीको मृत्यु भएको छ । समयमै उपचार पाउन नसक्दा शुक्रबार ती दुई महिलाको ज्यान गएको हो । खोलागाउँ ६ गर्चेनिकी ३२ वषर्ीया पम्फा केसी र गोतामकोट ९ की ४३ वषर्ीय सुनिता नेपालीको समयमै उपचार अभावले मृत्यु भएको जिल्ल्ाा जनस्वास्थ्यले जनाएको छ ।
स्वास्थ्यका अनुसार केसीले बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्रावले मृत्यु भएको हो भने नेपालीको बच्चा जन्माउन नसक्दा आमा र नवजात शिशु दुबैको ज्यान गएको हो । शुक्रबार बिहान साढे चार बजे बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि मिसन अस्पताल चौरजहारी लाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्यकर्मी राजेन्द्र शर्माले बताए । 'बच्चा जन्माइसकेपछि लगातार ब्लडिङ भइरहेको थियो ।' उनले भने, 'अस्पताल लाँदै गर्दा बाह्र घन्टापछि ज्यान गएको हो ।' शिशुको अवस्था सामान्य छ ।
बच्चा उल्टो भएपछि तीन दिनदेखि व्यथा लागेकी नेपालीको जिल्ल्ाा अस्पतालभन्दा आधा घन्टा पर स्यालापाखाको छिङमा मृत्यु भएको श्रीमान् पहलसिंले बताए । 'अस्पतालमा पुग्नुभन्दा आधा घन्टाअघि ज्यान गयो,' नेपालीले भने, 'गाउँमा घरेलु उपचार गर्दा निको नभएपछि अस्पताल ल्याउँदै थियौं ।' साताभित्र जिल्लामा उपचार अभावले चार सुत्केरीले ज्यान गुमाएका छन् ।
जाजरकोटस्थित संवाददाताका अनुसार अत्यधिक रक्तस्रावकै कारण यहाँ एक सुत्केरी युवतीले ज्यान गुमाएकी छन् । सीमा गाविस १ की १६ वषर्ीय रामकली विकको शुक्रबार बिहान रक्तस्रावले मृत्यु भएको हो ।
सुत्केरी ब्यथाले च्यापेपछि सीमा स्वास्थ्य चौकीमा पुर्याइएकी उनले बिहीबार बेलुकी छोरी जन्माइएकी थिइन् । लगातार रगत बग्दा छोरी जन्मेको १२ घन्टापछि विकको प्राण गएको थियो । 'रातभर अनेक प्रयास गरियो, रक्तस्राव रोकिएन,' चौकीकी अनमि गीता भुसालले भनिन्, रगत दिने हामीसँग कुनै उपाय थिएन । भुसालका अनुसार उनलाई रगतको अति खाँचो थियो, व्यवस्था नभएकै कारण अकालमा ज्यान गयो । थप उपचारका लागि नेपालगन्ज लानै कम्तीमा दुई दिन लाग्ने भएकाले स्थानीय स्वास्थ्य संस्थाको भर परियो, छिमेकी धनेन्द्र विकले भने, 'जसरी पनि उनको ज्यान जोगाउन सकिएन । उनका पति राजु कमाई गर्न ६ महिनादेखि भारतमा छन् । नवजात शिशुको स्वास्थ्य स्थिति सामान्य छ ।
source:-kantipur









0 commentaires