बाबुराम नरोकिने


काठमाडौं, चैत्र १९ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको दौडाहाले उनी पार्टीमा आफ्नो अवस्था बलियो बनाउने कसरतमा लागेको देखाउँछ । उनी जुन जिल्ला जान्छन्, एक हिसाबले शक्ति प्रदर्शन गर्छन् । बुधबार दोलखामा उनले त्यस्तै गरे ।
 सयभन्दा बढी मोटरसाइकल र दुई दर्जन गाडीको स्कर्टिङमा चरिकोट पुगेका भट्टराईले चेतावनीको शैलीमा भने, 'प्रेसर कुकरको हावा थुन्यो भने के हुन्छ ?' उनले पार्टीभित्र विचारको बहस हुन नदिए 'विस्फोट' हुने बताए । यसको अर्थ हो, उनी पार्टीभित्र कडा रूपमा प्रस्तुत हुने मनस्थितिमा पुगिसकेका छन् ।
निकट नेताहरूका अनुसार उनले पार्टी आफ्नै 'लाइन' मा अघि बढेकाले दाहाल-वैद्यको कार्यदिशा एक हिसाबले 'धराप' मा परेको दाबी गरेका छन् । पछिल्लो समयमा पार्टी सरकारमा जानु आफ्नै 'लाइन' कार्यान्वयन हुने बाटोमा गएको उनले बताउँदै आएका छन् । जनविद्रोहको कार्यदिशा यतिबेला ओझेलमा परेकाले आफूमाथि पार्टी फुटाउन खोजेको आरोप संस्थापन पक्षबाट लगाएर 'पार्टी कब्जा' गर्न लागेको उनको बुझाइ छ ।
 भट्टराईको अभिव्यक्ति र दाहालको आन्तरिक तयारी हेर्दा अन्तरसंघर्ष अझै चर्कने निश्चित छ । यतिबेला पालुङटारपछि बसेको केन्द्रीय समितिले पारित गरेको जनविद्रोहको कार्यदिशा कार्यान्वयन गर्न अवरोध गरेको आरोप भट्टराईमाथि छ । दाहाल निकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पार्टीले पारित गरेको कार्यदिशा कार्यान्वयनमा भट्टराईले अवरोध पुर्‍याएको बताए । 'पारित लाइन (कार्यदिशा) कार्यान्वयन हुन नदिने काम भइरहेको छ,' उनले भने, 'अहिले कम्युनिस्ट पार्टी वादविवाद समाज होइन ।'
भट्टराईले पालुङटार बैठकको मर्म र भावनाविपरीत कार्यदिशा पारित गरेको भन्दै गम्भीर असहमति जनाएका छन् । उनले त्यतिबेला केन्द्रीय समितिमा प्रस्तुत गरेको 'नोट अफ डिसेन्ट' मा असहमति जनाएका हुन् ।
 'पालुङटारमा सम्पन्न पार्टीको छैटौं विस्तारित बैठकको मर्म र भावनाविपरीत केन्द्रीय समितिमा पर्याप्त छलफल नै नगरी हतार-हतारमा अध्यक्ष  प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव मूल रूपमा पारित गरिएकामा विधि र अन्तरवस्तु दुवैमा हाम्रो गम्भीर असहमति छ,' उनले आफ्नो फरक मतमा भनेका छन् ।
 पार्टीभित्र र बाहिर लोकतान्त्रिक (जनवाद) को अभ्यास नभए शान्ति र संविधानको कार्यभार पूरा हुन नसक्ने भट्टराईको भनाइ छ । यतिबेला उनको जोड नै विशेष गरी पार्टीभित्र जनवादको अभ्यास हुनुपर्छ भन्ने छ । दाहाल पक्षले जनवादको अभ्यास पालुङटारपछि बसेको केन्द्रीय र स्थायी समितिले गरिसकेको उल्लेख गर्दै 'बेमौसमे बाजा' भन्न थालेको छ । यतिसम्म कि भट्टराईलाई 'अवसरवादी' र लेनिनवादी पद्धति 'कामकारबाहीमा एकता अभिव्यक्तिमा स्वतन्त्रता' लाई तोडेको आरोप लगाउन थालेका छन् ।
 देश दौडाहमा लागेका भट्टराई जुन जिल्ला गए पनि कार्यकर्तासँग बाक्लै भेटघाट गर्छन् । पछिल्लो पटक ७४ र ७५ औं जिल्ला बैतडी र दार्चुला भ्रमणको सिलसिलामा पनि रातदिन कार्यकर्तासँग भेट गरे । पालुङटारमा उनी निकट स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भनको थिए, 'भर्खर भट्टराईको खाता खुलेको छ, यो खातामा तीव्र रूपमा सम्पत्ति थपिँदै जानेछ ।' त्यसपछि 'आफ्नो खाता बलियो बनाउन' भट्टराईले देश दौडाहा थालेका हुन् ।
 उनी निकट नेताले भट्टराईको अभियान निरन्तर अघि बढ्ने बताए । पार्टीमा आफ्नो संगठन बलियो बनाउन उनले हरेक साताजस्तो जिल्ला भ्रमण गइरहेका छन् । यो अभियानलाई 'ब्लकिङ' गर्न संस्थापन पक्षले 'अनुशासनको डन्डा' चलाउने तयारी गरेको छ । पार्टी अनुशासन विभाग दाहाल निकट सचिव पोस्टबहादुर बोगटीको संयोजकत्वमा छ ।
'म पनि एकता अभियानमा'
पार्टी फुट्न नहुने भन्दै दबाब दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेका युवा नेताहरूसँग भट्टराईले आफू पनि एकता अभियानमा लाग्ने बताए । दाहाल, वैद्यसहित स्थायी समिति सदस्यहरूको उपस्थितिमा भट्टराईले पार्टी फुटाउन लागेको आरोपप्रतिको खण्डन थियो ।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेका अनुसार युवाहरूको अभियानलाई भट्टराईले समर्थन गर्दै एक सदस्य आफू पनि भएको बताए । 'पार्टी फुटाउन विभिन्न शक्तिहरू लागेका छन्,' उनले भने, 'म पनि तपाईंको अभियानमा सहभागी हुन्छु ।'
 अध्यक्ष दाहालले पार्टीभित्र र बाहिर जटिल अवस्था भए पनि पार्टी एक भएर जाने बताए । 'पार्टीभित्र र बाहिर केही जटिलता छन्,' उनले भने, 'क्रान्ति सम्पन्न गर्ने पार्टी बनाइन्छ ।' वैद्यले भने पार्टीको कार्यदिशा सही भएको भन्दै पार्टी फुट्न नदिने बताए । युवा नेताहरूले नेताहरू गुटका बैठकमा व्यस्त भएको भन्दै मूल कार्यदिशा लागू गर्न दबाब दिएका थिए ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login