२० चैत, काठमाण्डौ । चैत्र कृष्ण औंशीका दिन आज राजधानीमा घोडेजात्रा मनाईदैछ । टुँडिखेलमा रहेको एउटा रूखमा बास गर्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले प्रत्येक वर्ष आजका दिन घोडेजात्रा गरी गुरुमापा नामको राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ ।
घोडेजात्राका अवसरमा सरकारले आज राजधानीमा सार्वजनिक विदाको दिएको छ । जात्राकै अवसर पारेर आज अपरान्ह २ बजेपछि नेपाली सेनाले राजधाीनको टुंडीखेलमा सदाझैं घोडा दौडको आयोजना गर्दैछ । बिशेष समारोहबीच आयोजना हुने उक्त दौडमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण, संबैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरुको सहभागीता रहने जनाइएको छ । आज बिहान जुद्धसडकस्थित जुद्ध वारुणयन्त्र कार्यालय सामुन्ने सेनाको क्याभलरी युनिटबाट रिसल्लासहित आएको सेनाको टुकडीले त्यहां रहेको रेवन्त पीठमा कालो बोको बली दिएर सरकारी तहबाटै घोडेजात्रा शुरु भएको छ ।
जात्राको अवसरमा काठमांडौका नेवार समुदायले घर घरमा चेलीबेटी वोलाइ उत्सव मनाउने परम्परा समेत रही आएको छ । पाटन बालकुमारीमा पनि आज एक्लो घोडा दौडाइ घोडे जात्रा मनाइन्छ ।
source:-onlinekhabar









0 commentaires