कञ्चन अधिकारी, काठमाडौं, चैत १९ - काठमाडौं-भक्तपुर सडक विस्तार परियोजनाका कर्मचारीले बिहीबार केक काटेर खुसी बाँडे। खुसीको कारण- तीनकुने-सूर्यविनायक सडकको कालोपत्रे सकिनु। 'आज हामीले १९.१ किलोमिटर सडक पिच सक्यौं,' आयोजना प्रबन्धक सरोजकुमार प्रधान भन्दै थिए, 'अब सडकमा दायाँबायाँ रेलिङ राख्न र सानातिना मर्मतमात्र बाँकी छन्।' तीनकुने-सूर्यविनायक सडक खण्डको पिच पुरा भए पनि सल्लाघारीदेखि सूर्यविनायकसम्मको एक खण्ड सडक प्रयोगमा आइसकेको छैन।
सडक चिह्न राख्न र लेन छुट्याउन बाँकी रहेकाले प्रयोगमा नआएको प्रधानले बताए। उनका अनुसार सबै काम सक्न थप पाँच महिना लाग्छ।
छ लेनको यो सडकमा सवारी चालकदेखि पैदलयात्रुसम्मले अन्तर्राष्ट्रिय स्तरको ट्राफिक नियम पालना गर्नुपर्छ। जुन अरू सडकमा छैनन्। यसले स्थानीय बासिन्दा र यहाँ दिनहुँ ओहोरदोहोर गर्नेलाई अन्योल सिर्जना गराएको छ। ट्राफिक नियमकै अज्ञानताले दुर्घटनाको दर पहिलेभन्दा बढेको छ। 'सर्वसाधारणलाई सबै नियम थाहा नहुँदा दुर्घटना बढेका छन्,' प्रधानले भने, 'हामी प्रचारप्रसारमा जोड दिइरहेका छौं।'
नियम १ :
'यहाँ पैदलयात्रुले सडक दायाँबायाँको फुटपाथ प्रयोग गर्नुपर्छ। जेब्रा क्रसिङबाटै बाटो काट्नुपर्छ,' प्रधान भन्छन्, 'रेलिङबाट टाउको छिराएर बाटो काटे रफ्तारमा आएका गाडीले हानेर ज्यानै जानसक्छ।' यसका लागि मुख्य चोक र व्यस्त ठाउँमा लगभग एक दर्जन जेब्रा क्रसिङ राखिएका छन्।
शुक्रबार दिउसो बाह्र बजे कोटेश्वरबाट जडिबुटी जाने ओरालोमा दुई महिला जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काट्दै थिए। नजिकै कुवाबाट पानी भरेर आइरहेका थिए ती महिला। उनीहरूले बाटो काट्दा दायाँबायाँबाट तीव्र गतिमा गाडी कुदिरहेका थिए।
दुवैलाई हामीले सोध्यौं, 'किन यस्तरी बाटो काट्नुभएको?'
एक महिलाले देब्रे हातले मुख छोप्दै भनिन्, 'त्यति तल (जडिबुटी चोक) गएर कस्ले बाटो काटोस्। यहाँबाट फुत्तै!'
नियम २ :
प्रधानका अनुसार सडकको सबभन्दा बायाँतर्फको लेन आपतकालीन पार्किङ गर्न बनाइएको हो। गुड्दागुड्दै गाडी बिग्रिए, टायर पन्चर भए यो लेनमा लगेर राख्नुपर्छ र रेस्क्यु टोली डाकेर तुरुन्तै गाडी हटाइहाल्नुपर्छ। नेपालमा भने रेस्क्युका लागि सरकारी र अन्य निकाय नभएको उनी बताउँछन्। यो लेनमा अनावश्यक गाडी रोक्न, यात्रु ओराल्न-चढाउन र ओभरटेक गर्न पनि पाइन्न।
रत्नपार्क-सूर्यविनायक चल्ने बा२ख ३९१८ नम्बरको माइक्रो सूर्यविनायक नजिकै आपतकालीन लेनमा रोकेर यात्रु चढाउँदै थियो। बसस्टपबाट लगभग ५० मिटर वरै रोकिएको त्यो गाडीले साइडलाइटसमेत बालेको थिएन।
काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा२०प ३४८ नम्बरको मोटरसाइकल झन्डैझन्डै ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडिँदै थियो। कौशलटार पुगेपछि मोटरसाइकल चालकले त्यही लेनबाट मिनीबसलाई ओभरटेक गरे। मिनीबसले अलिकति पनि गति बढाएको भए मोटरसाइकल सिधै ठोक्किन्थ्यो।
नियम ३ :
आपतकालीन लेनपछि आउँछ लेन-१। यो विस्तारै गाडी चलाउनेले प्रयोग गर्ने लेन हो। यहाँ प्रतिघन्टा ४० देखि ६० को गतिमा गाडी कुदाउन सकिन्छ। यहाँ पनि गाडी रोक्न, यात्रु उकाल्न र ओराल्न पाइन्न। तीव्र गतिमा पछाडिबाट आएका गाडीले ओभरटेक गर्न खोजे साइडलाइट बालेर गति कम गर्नुपर्छ र ओभरटेक गर्न दिनुपर्छ।
काठमाडौं-धुलिखेल चल्ने बा२ख ८०९ नम्बरको यात्रुवाहक बस गठ्ठाघरमा लेन १ मा राकियो। बसस्टपभन्दा दुई सय मिटरअघि पुगेपछि यात्रुले हातको इसारा गरेपछि गाडी रोकियो। पछाडिबाट जाँदै गरेको मोटरसाइकलले ओभरटेक गर्न संकेत दिएर साइड माग्दा ड्राइभरले न साइड लाइट बाले, न गति कम गरेर ओभरटेक गर्न दिए।
नियम ४ :
लेन-१ भन्दा दायाँपट्टि छ, ओभरटेकिङ लेन। यहाँ कम गतिमा गाडी चलाउन पाइन्न। ओभरटेक गर्न अगाडिको गाडीलाई संकेत गरेपछि र उसले ओभरटेक गर्ने जनाउ दिएपछि मात्र ओभरटेक गर्नुपर्ने प्रधान बताउँछन्। 'ओभरटेक गरेपछि फेरि लेन १ मा जानुपर्छ,' उनले भने, 'यही लेनमा कुदाइरहन पाइँदैन।'
शुक्रबार तीनकुनेबाट बा२ख १४३७ नम्बरको माइक्रो कहिले दायाँ, कहिले बायाँ गर्दै मिनीट्रकलाई ओभरटेक गर्दै थियो। कोटेश्वर पुगेपछि ओभरटेकिङ लेनमा रोकियो र यात्रु ओराल्यो। यो लेनमा आउनुअघि ड्राइभरले साइडलाइटधरी बालेन। पछाडिबाट हर्न बजाउँदै आएको मोटरसाइल त्यो माइक्रोसँग झन्डै ठोक्किएको। मोटरसाइकल चालकले हत्तपत्त डिस्क ब्रेक लगाउँदा घर्लप्पै लड्यो। धन्न भौतिक र शारीरिक क्षति हुन पाएन। अगाडि उभिएका ट्राफिक प्रहरी ट्वाल्ल परे। कुनै कारबाही भएन।
नियम ५ :
सडकबाट दायाँबायाँ लाग्दा पनि नियम पालना गर्नुपर्छ। प्रत्येक चोकमा दायाँ जाने चिह्न दिएर छुट्टै लेन बनाइएको छ। त्यहाँ पुगेपछि साइड लाइट बालेर गाडी मोड्नुपर्छ।
बा३च ९०६१ नम्बरको गाडी गठ्ठाघरबाट बायाँ मोडिँदै थियो। चालक मोबाइलमा मस्त कुरा गर्दै थिए। उनले बत्तीको ख्याल राखेनन्। त्यहीबेला जेब्र क्रसिङबाट पैदलयात्रु बाटो काट्दै थिए। तैपनि उनले गाडी अघि बढाए। बायाँ लाग्दा न उनले साइडलाइट बाले, न पास नै दिए। देब्रेतिरबाट सिधा आइरहेको माइक्रोले एक्कासि ब्रेक लगाएपछि ठोक्किनबाट जोगियो।
source:-nagriknews










0 commentaires