'भारतीय राजदूत सीमाबाहिर गए’


महेश आचार्य नयाँदिल्ली, चैत्र १८ - नेपालको सबभन्दा ठूलो दल माओवादी र भारतीय संस्थापनबीच सम्बन्ध सुधारका लागि औपचारिक संवाद थाल्ने उच्च राजनीतिक प्रयास नयाँदिल्लीमा जारी छ । यस्तो प्रयास गर्ने अग्रपंक्तिमा छन्, त्यहाँको विपक्षी गठबन्धन 'एनडीए' का संयोजकसमेत रहेका जनता दल युनाइटेडका अध्यक्ष शरद यादव । दुवै देशमा आपसी सम्बन्धलाई लिएर 'गलत बुझाइ’ हाबी रहेको ठान्ने यादवसँग सम्बन्ध सुधार्ने उनको प्रयास, नेपालप्रतिको भारतीय नीति तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर कान्तिपुरले गरेको कुराकानी:
 मओवादी नेत्तृत्वसँग भारतको राजनीतिक तहमा औपचारिक संवादका लागि पछिल्लोपटक तपाईंले पहल गरिरहनुभएको थियो, यसको कारण के हो ?
नेपाल र भारतको सम्बन्ध विशेष छ । मुलुक-मुलुकबीचको सम्बन्ध छँदैछ, राजनीतिक नेताहरूबीच पनि बलियो सम्बन्धको परम्परा रहीआएको छ । भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपाली नेताहरूले ठूलो सहयोग गरे । जब नेपालमा राजाले प्रजातन्त्र अन्त्य गरे, त्यसविरुद्ध जनतालाई गोलबद्ध गर्न माओवादीसहित सबै पार्टी एकै ठाउँमा आउनुपर्छ भन्नेमा हामीले जोड दिएका थियौं । माओवादी पनि प्रजातान्त्रिक प्रक्रियामा आयो । विभिन्न सरकार बन्दै अहिलेको अवस्थासम्म आइपुगेको छ । अहिले फेरि संविधान बनाउन सबै दल एकै ठाउँमा आउनुपर्छ । यसै सिलसिलामा भारत सरकारसँग मेरो अन्तक्रिर्या हुन्छ । यसको मतलब नेपालसम्बन्धी नीति बनाउँदा हाम्रा कुराहरू पनि समावेश गरियोस् भन्नेे चाहना हो । त्यसैका लागि मैले प्रधानमन्त्री मनमोहन सिंहसँग भेटेँ । त्यसपछि विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि मलाई भेट्न आए । सम्बन्धलाई मजबुत बनाउने प्रयासमा नेपाल र भारत सरकारका मानिसहरूसँग मैले कुरा गरेको हुँ । सम्बन्ध पनि राम्रो होस्, नेपालमा शान्ति, विकास र स्थायित्व होस् भन्ने हाम्रो चाहना हो ।
 तपाईंको प्रयासपछि के प्रगति भएको छ त ?
प्रचण्डजी मार्चभित्र यहाँ आउनुहोस् भन्ने मैले चाहेको थिएँ । तर त्यो कुरा भारत सरकारमा निर्भर गर्छ । प्रचण्डजीले पनि मलाई पत्र लेखी यहाँ आउने इच्छा जाहेर गर्नुभएको छ । यहाँ आएर सबै गलत बुझाइ मेटाउन उहाँले चाहनुभएको छ । मैलै प्रयास थालेपछि धेरै कुरा ठीक भएका छन् । यद्यपि दुवैतिर गलत बुझाइ पनि छ । सबैले आ-आफ्नो धारणा बनाएका हुन्छन् । प्रचण्डजी प्रधानमन्त्री भएपछि चीन जानुभयो, त्यो बेठीक होइन । तर यहाँका विद्वानहरू नेपालको मामिलामा बढी संवेदनशील छन् । उनीहरू नेपाल र भारतबीचको सम्बन्ध शाश्वत हो भन्ने ठान्छन् । नेपालमा केही भए, यता असर पर्छ भन्ने बुझाइ छ उनीहरूको । चीनसँग राम्रो सम्बन्ध भए पनि हामीलाई कुनै समस्या छैन । भारतसँग नेपालको सम्बन्ध सदियौंदेखिको हो । यता र उताका मानिसले यो कुरा कहिल्यै भुल्नु हुँदैन । त्यही भएर गलत बुझाइ हटाउन हामी पुलको रूपमा काम गरिरहेका छौं ।
कस्ता गलत बुझाइ छन् ?
नेपाली कांग्रेस, एमाले, तराईका दल, माओवादी सबैभित्र आन्तरिक द्वन्द्व छ । त्यस्तो मामिलामा भारतले चासो राख्न हुन्न । सरकारको ठूलो संयन्त्र हुन्छ तर त्यसको बाबजुद दुवैतिर कहिलेकाहीं गलत खबर सञ्चार हुन्छन् । नेपालको सन्दर्भमा त्यहाँ खटाउने राजदूत राजनीतिक हुनुपर्छ भन्ने मलाई लाग्छ । उत्तर प्रदेश र बिहारको मानिसले जस्तो अरूले नेपालको मामला बुझ्दैनन् । हामीले यो कुरा भनेको भन्यै छौं । हाम्रो काम भनेको जसरी हामी सदियौंदेखि साथसाथ रहेका छौं, त्यसैगरी साथसाथ विकास गर्ने, लोकतन्त्र र स्थायित्व कायम राख्ने हो ।
 पिछिल्लोपटक नेपालमा निर्माण भएको सरकारलाई भारतअनुकूल नभएको व्याख्या गर्ने गरिन्छ । यस्तो अवस्थामा भारतले आफ्नो शंका हटाएर यो सरकारलाई सघाउनुपर्छ भन्ने तपाईंलाई चाहिँ किन लाग्यो ?
यो कुरामा त दुवैतिरबाट ताली बज्नुपर्छ भन्ने मलाई लाग्छ । माओवादी जब बुलेट छाडेर ब्यालेटमा आए, उनीहरूले ठूलो जोखिम उठाएको मान्नुपर्छ । यो कुरा सबैले नमान्न सक्छन् तर मलाई उनीहरूले ठूलै जोखिम मोलेजस्तो लाग्छ । हतियारको राजनीति गरिरहेको पार्टी प्रजातान्त्रिक प्रक्रियामा आउँदा माओवादीभित्र पनि समस्या आए । उसलाई आफ्नो विगतले अझै पिछा गरिरहेको छ । आफूलाई प्रजातान्त्रिक हुँ भन्नेहरूले माओवादीलाई शंका गरिरहने र माओवादीले आफू क्रान्तिकारी हुँ भन्ने अभिमान राख्ने काम गर्नुहुन्न । यो त एउटा ऐतिहासिक विकासक्रम हो भन्ने सबैले बुझ्नुपर्छ । भारतमा पनि त्यस्ता तत्त्व छन्, जो नेपालमा आफ्नो विचार लाद्न खोज्छन् ।
 यसको अर्थ नेपालप्रति भारतको अहिलेको नीति ठीक छैन भन्ने हो ? 
भारत सरकारका मानिसहरूसँग सबै विषयमा मेरो कुरा हुन्छ । जहाँ ठीक छैन, त्यसबारे पनि प्रधानमन्त्रीदेखि लिएर सम्बन्धित सबैसँग कुरा हुन्छ । नेपाल-भारतको सम्बन्ध राम्रो होस्, गलत बुझाइ दूर होउन् भन्ने हाम्रो चाहना हो । पहिले श्यामशरण राजदूत हुँदा समन्वय राम्रो थियो, तर अहिले 'ग्याप' भएको छ । सरकार र हाम्रो नजरमा फरक आएको छ । त्यही फरक मेटाउने प्रयासमा मैले भेटघाट गरिरहेको छु । नेपालमा प्रधानमन्त्री जो भए पनि भारतले समस्या देख्नु हुँदैन । त्यो त नेपालका जनताले तय गर्ने विषय हो । मैले यो कुरा प्रधानमन्त्री मनमोहन सिंहलाई पनि भेटेर राखेँ । त्यहाँ भारतीय राजदूत आफ्नो सीमाभन्दा बाहिर गएका छन्, यो ठीक छैन भन्ने कुरा पनि मैले राखेँ । जवाफमा राजदूत बदलेको कुरा प्रधानमन्त्रीले मलाई भन्नुभयो । यहाँ राजदूत बनेर जान लाग्नुभएका जयन्तप्रसादको पृष्ठभूमि भने राम्रो छ ।
 भारत अहिले नेपालको मामिलामा राजनीतिक तहमा भन्दा पनि सुरक्षा संयन्त्रले बनाएको नीतिमा बढी निर्भर गर्छ भन्ने गरिन्छ । तपाइलाइ के लाग्छ ?
सुरक्षा निकायले के गरिरहेको छ भन्ने विषय हामीलाई जानकारी हुँदैन । तैपनि त्यहाँ संविधान समयमै बनाउन हामीले सहयोग गर्नुपर्छ । पार्टीको झगडामा हामीले सहयोग गर्नुहुन्न । शान्ति प्रक्रिया पूरा होस्, स्थायित्व आओस् भन्ने दिशामा हामी सबैले काम गर्नुपर्छ ।
नेपालमा चीन बढी सक्रिय हुन थाल्यो, त्यसले भारतलाई हानि गर्छ भन्ने खालको बुझाइ अधिकांश भारतीय पक्षमा पाइन्छ, यसबारे तपाईंको धारणा के छ ?
चीनबारे मेरो खास चिन्ता छैन । नेपाल र भारतको सम्बन्ध प्राकृतिक छ । अन्य मुलुकको भन्दा विशेष खालको छ । चीन फेरि सोभियतकालको रूसजस्तो पनि होइन । त्यसैले धेरै चिन्ता लिनु आवश्यक छैन ।
नेपालका अन्य विषयभन्दा तराईका मामिलालाई भारतसँग बढी जोडेर हेर्ने गरिन्छ । मधेसमा स्वायत्तताको माग होस् वा सशस्त्र समूहको गतिविधि, भारतसँग किन जोडेर हेरिएको होला ?
यो नेपालको आन्तरिक मामिला हो । समाधान नेपाली पक्षले नै गर्नुपर्छ ।
प्रसंग बदलौं, तपाईं कत्तिको आशावादी हुनुहुन्छ नेपालमा समयैमा संविधान जारी हुने र शान्ति प्रक्रिया पूरा हुने कुरामा ?
ठूलो आन्दोलनपछि परिवर्तन आएको छ नेपालमा । जनताले विश्वास गरेर निर्वाचनमार्फत पार्टीहरूलाई जिताएर पठाएका छन् । तोकिएको अवधिभित्र काम भएन भने जनताको विश्वास टुट्छ ।
 ती कार्यसूची समयमै पूरा भएनन् भने कुनै किसिमको खतरा देख्नुहुन्छ ?
अवश्य खतरा हुनसक्छ । किनभने जसलाई विश्वास गरेको हो, उसैले काम गरेन भने जनताको विश्वास टुट्छ ।
 त्यो खतरा भनेको कस्तो  होला ?
जनताले परिवर्तन ल्याएका हुन् । त्यसको सम्मान हुनुपर्छ । त्यो जिम्मेवारी दलहरूले निर्वाह गर्नुपर्छ । त्यसो भएन भने नेपालका लागि ठीक हुँदैन ।



 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login