महेश आचार्य नयाँदिल्ली, चैत्र १८ - नेपालको सबभन्दा ठूलो दल माओवादी र भारतीय संस्थापनबीच सम्बन्ध सुधारका लागि औपचारिक संवाद थाल्ने उच्च राजनीतिक प्रयास नयाँदिल्लीमा जारी छ । यस्तो प्रयास गर्ने अग्रपंक्तिमा छन्, त्यहाँको विपक्षी गठबन्धन 'एनडीए' का संयोजकसमेत रहेका जनता दल युनाइटेडका अध्यक्ष शरद यादव । दुवै देशमा आपसी सम्बन्धलाई लिएर 'गलत बुझाइ’ हाबी रहेको ठान्ने यादवसँग सम्बन्ध सुधार्ने उनको प्रयास, नेपालप्रतिको भारतीय नीति तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर कान्तिपुरले गरेको कुराकानी:
मओवादी नेत्तृत्वसँग भारतको राजनीतिक तहमा औपचारिक संवादका लागि पछिल्लोपटक तपाईंले पहल गरिरहनुभएको थियो, यसको कारण के हो ?
नेपाल र भारतको सम्बन्ध विशेष छ । मुलुक-मुलुकबीचको सम्बन्ध छँदैछ, राजनीतिक नेताहरूबीच पनि बलियो सम्बन्धको परम्परा रहीआएको छ । भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपाली नेताहरूले ठूलो सहयोग गरे । जब नेपालमा राजाले प्रजातन्त्र अन्त्य गरे, त्यसविरुद्ध जनतालाई गोलबद्ध गर्न माओवादीसहित सबै पार्टी एकै ठाउँमा आउनुपर्छ भन्नेमा हामीले जोड दिएका थियौं । माओवादी पनि प्रजातान्त्रिक प्रक्रियामा आयो । विभिन्न सरकार बन्दै अहिलेको अवस्थासम्म आइपुगेको छ । अहिले फेरि संविधान बनाउन सबै दल एकै ठाउँमा आउनुपर्छ । यसै सिलसिलामा भारत सरकारसँग मेरो अन्तक्रिर्या हुन्छ । यसको मतलब नेपालसम्बन्धी नीति बनाउँदा हाम्रा कुराहरू पनि समावेश गरियोस् भन्नेे चाहना हो । त्यसैका लागि मैले प्रधानमन्त्री मनमोहन सिंहसँग भेटेँ । त्यसपछि विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि मलाई भेट्न आए । सम्बन्धलाई मजबुत बनाउने प्रयासमा नेपाल र भारत सरकारका मानिसहरूसँग मैले कुरा गरेको हुँ । सम्बन्ध पनि राम्रो होस्, नेपालमा शान्ति, विकास र स्थायित्व होस् भन्ने हाम्रो चाहना हो ।
तपाईंको प्रयासपछि के प्रगति भएको छ त ?
प्रचण्डजी मार्चभित्र यहाँ आउनुहोस् भन्ने मैले चाहेको थिएँ । तर त्यो कुरा भारत सरकारमा निर्भर गर्छ । प्रचण्डजीले पनि मलाई पत्र लेखी यहाँ आउने इच्छा जाहेर गर्नुभएको छ । यहाँ आएर सबै गलत बुझाइ मेटाउन उहाँले चाहनुभएको छ । मैलै प्रयास थालेपछि धेरै कुरा ठीक भएका छन् । यद्यपि दुवैतिर गलत बुझाइ पनि छ । सबैले आ-आफ्नो धारणा बनाएका हुन्छन् । प्रचण्डजी प्रधानमन्त्री भएपछि चीन जानुभयो, त्यो बेठीक होइन । तर यहाँका विद्वानहरू नेपालको मामिलामा बढी संवेदनशील छन् । उनीहरू नेपाल र भारतबीचको सम्बन्ध शाश्वत हो भन्ने ठान्छन् । नेपालमा केही भए, यता असर पर्छ भन्ने बुझाइ छ उनीहरूको । चीनसँग राम्रो सम्बन्ध भए पनि हामीलाई कुनै समस्या छैन । भारतसँग नेपालको सम्बन्ध सदियौंदेखिको हो । यता र उताका मानिसले यो कुरा कहिल्यै भुल्नु हुँदैन । त्यही भएर गलत बुझाइ हटाउन हामी पुलको रूपमा काम गरिरहेका छौं ।
कस्ता गलत बुझाइ छन् ?
नेपाली कांग्रेस, एमाले, तराईका दल, माओवादी सबैभित्र आन्तरिक द्वन्द्व छ । त्यस्तो मामिलामा भारतले चासो राख्न हुन्न । सरकारको ठूलो संयन्त्र हुन्छ तर त्यसको बाबजुद दुवैतिर कहिलेकाहीं गलत खबर सञ्चार हुन्छन् । नेपालको सन्दर्भमा त्यहाँ खटाउने राजदूत राजनीतिक हुनुपर्छ भन्ने मलाई लाग्छ । उत्तर प्रदेश र बिहारको मानिसले जस्तो अरूले नेपालको मामला बुझ्दैनन् । हामीले यो कुरा भनेको भन्यै छौं । हाम्रो काम भनेको जसरी हामी सदियौंदेखि साथसाथ रहेका छौं, त्यसैगरी साथसाथ विकास गर्ने, लोकतन्त्र र स्थायित्व कायम राख्ने हो ।
पिछिल्लोपटक नेपालमा निर्माण भएको सरकारलाई भारतअनुकूल नभएको व्याख्या गर्ने गरिन्छ । यस्तो अवस्थामा भारतले आफ्नो शंका हटाएर यो सरकारलाई सघाउनुपर्छ भन्ने तपाईंलाई चाहिँ किन लाग्यो ?
यो कुरामा त दुवैतिरबाट ताली बज्नुपर्छ भन्ने मलाई लाग्छ । माओवादी जब बुलेट छाडेर ब्यालेटमा आए, उनीहरूले ठूलो जोखिम उठाएको मान्नुपर्छ । यो कुरा सबैले नमान्न सक्छन् तर मलाई उनीहरूले ठूलै जोखिम मोलेजस्तो लाग्छ । हतियारको राजनीति गरिरहेको पार्टी प्रजातान्त्रिक प्रक्रियामा आउँदा माओवादीभित्र पनि समस्या आए । उसलाई आफ्नो विगतले अझै पिछा गरिरहेको छ । आफूलाई प्रजातान्त्रिक हुँ भन्नेहरूले माओवादीलाई शंका गरिरहने र माओवादीले आफू क्रान्तिकारी हुँ भन्ने अभिमान राख्ने काम गर्नुहुन्न । यो त एउटा ऐतिहासिक विकासक्रम हो भन्ने सबैले बुझ्नुपर्छ । भारतमा पनि त्यस्ता तत्त्व छन्, जो नेपालमा आफ्नो विचार लाद्न खोज्छन् ।
यसको अर्थ नेपालप्रति भारतको अहिलेको नीति ठीक छैन भन्ने हो ?
भारत सरकारका मानिसहरूसँग सबै विषयमा मेरो कुरा हुन्छ । जहाँ ठीक छैन, त्यसबारे पनि प्रधानमन्त्रीदेखि लिएर सम्बन्धित सबैसँग कुरा हुन्छ । नेपाल-भारतको सम्बन्ध राम्रो होस्, गलत बुझाइ दूर होउन् भन्ने हाम्रो चाहना हो । पहिले श्यामशरण राजदूत हुँदा समन्वय राम्रो थियो, तर अहिले 'ग्याप' भएको छ । सरकार र हाम्रो नजरमा फरक आएको छ । त्यही फरक मेटाउने प्रयासमा मैले भेटघाट गरिरहेको छु । नेपालमा प्रधानमन्त्री जो भए पनि भारतले समस्या देख्नु हुँदैन । त्यो त नेपालका जनताले तय गर्ने विषय हो । मैले यो कुरा प्रधानमन्त्री मनमोहन सिंहलाई पनि भेटेर राखेँ । त्यहाँ भारतीय राजदूत आफ्नो सीमाभन्दा बाहिर गएका छन्, यो ठीक छैन भन्ने कुरा पनि मैले राखेँ । जवाफमा राजदूत बदलेको कुरा प्रधानमन्त्रीले मलाई भन्नुभयो । यहाँ राजदूत बनेर जान लाग्नुभएका जयन्तप्रसादको पृष्ठभूमि भने राम्रो छ ।
भारत अहिले नेपालको मामिलामा राजनीतिक तहमा भन्दा पनि सुरक्षा संयन्त्रले बनाएको नीतिमा बढी निर्भर गर्छ भन्ने गरिन्छ । तपाइलाइ के लाग्छ ?
सुरक्षा निकायले के गरिरहेको छ भन्ने विषय हामीलाई जानकारी हुँदैन । तैपनि त्यहाँ संविधान समयमै बनाउन हामीले सहयोग गर्नुपर्छ । पार्टीको झगडामा हामीले सहयोग गर्नुहुन्न । शान्ति प्रक्रिया पूरा होस्, स्थायित्व आओस् भन्ने दिशामा हामी सबैले काम गर्नुपर्छ ।
नेपालमा चीन बढी सक्रिय हुन थाल्यो, त्यसले भारतलाई हानि गर्छ भन्ने खालको बुझाइ अधिकांश भारतीय पक्षमा पाइन्छ, यसबारे तपाईंको धारणा के छ ?
चीनबारे मेरो खास चिन्ता छैन । नेपाल र भारतको सम्बन्ध प्राकृतिक छ । अन्य मुलुकको भन्दा विशेष खालको छ । चीन फेरि सोभियतकालको रूसजस्तो पनि होइन । त्यसैले धेरै चिन्ता लिनु आवश्यक छैन ।
नेपालका अन्य विषयभन्दा तराईका मामिलालाई भारतसँग बढी जोडेर हेर्ने गरिन्छ । मधेसमा स्वायत्तताको माग होस् वा सशस्त्र समूहको गतिविधि, भारतसँग किन जोडेर हेरिएको होला ?
यो नेपालको आन्तरिक मामिला हो । समाधान नेपाली पक्षले नै गर्नुपर्छ ।
प्रसंग बदलौं, तपाईं कत्तिको आशावादी हुनुहुन्छ नेपालमा समयैमा संविधान जारी हुने र शान्ति प्रक्रिया पूरा हुने कुरामा ?
ठूलो आन्दोलनपछि परिवर्तन आएको छ नेपालमा । जनताले विश्वास गरेर निर्वाचनमार्फत पार्टीहरूलाई जिताएर पठाएका छन् । तोकिएको अवधिभित्र काम भएन भने जनताको विश्वास टुट्छ ।
ती कार्यसूची समयमै पूरा भएनन् भने कुनै किसिमको खतरा देख्नुहुन्छ ?
अवश्य खतरा हुनसक्छ । किनभने जसलाई विश्वास गरेको हो, उसैले काम गरेन भने जनताको विश्वास टुट्छ ।
त्यो खतरा भनेको कस्तो होला ?
जनताले परिवर्तन ल्याएका हुन् । त्यसको सम्मान हुनुपर्छ । त्यो जिम्मेवारी दलहरूले निर्वाह गर्नुपर्छ । त्यसो भएन भने नेपालका लागि ठीक हुँदैन ।
source:-ekantipur










0 commentaires