शिव पुरी रौतहट, चैत्र ७ - सत्ताइस जनाको ज्यान जाने गरी गौर काण्ड भएको ४ वर्ष पूरा भएको छ । गौरका स्थानीय बासिन्दा त्यति बेलाको नरसंहार बिर्सेर पनि सम्झन चाहदैनन् । उक्त बेला पीडाले बोल्न नसक्ने प्रत्यक्षदर्शीहरू अहिले भन्छन्, 'यस्तो दिन अब कहिल्यै नआओस् ।' घटनापछि लामो समयसम्म सुनसान राइस मिल अहिले क्रिकेट संघले खेल मैदानको रूपमा प्रयोग गर्दा केही चहल पहल सुरु भएको छ ।
मधेसी जनअधिकार फोरम र माओवादीले ०६३ चैत ७ गते दिउँसो गौर नपा ५ स्थित राइस मिल मैदानमा एकै साथ गरेको आमसभामा झडप हुँदा २७ माओवादी मारिएका थिए । तीन दर्जनभन्दा बढी घाइते भए । चारैतिर घरको बीचमा रहेको गौर राइस मिल लामो समयसम्म सुनसान थियो । गौरबासी उक्त घटना बिर्सेर पनि सम्झन चाहदैनन् । सम्झेर के गर्ने घटनाका प्रत्यक्षदर्शी रामअयोध्याले भने, 'त्यस्तो दिन अब कहिल्यै देख्न नपरोस् ।' चारैतिरबाट गोली हानाहान हँुदा घरभित्र खाटमुनि लुकेर ज्यान जोगाएका उनलाई अझै पनि कहाली लाग्छ भन्छन् । त्यसपछि लामो समयसम्म माओवादी आक्रमण त्रासले स्थानीय बासिन्दा गौरमा बस्न सकेका थिएनन् ।
एकै दिन दुई पार्टीको सभा हुन्छ भन्ने थाहा पाएपछि भिडन्तको संकेत देखिएको थियो, स्थानीय समाजसेवी दिनेश केशरीले भने, 'त्यो दिन धेरै दुःखलाग्दो घटना भएको थियो ।' केशरीले भने, 'अब बिस्तारै गौरबासीले घटनालाई बिर्सने प्रयास गर्दैछन् ।'
घटनाको एक वर्षसम्म राइस मिलमा कुनै पनि संघसंस्था र दलहरूले कार्यक्रम गरेनन् । उक्त काण्डको पुनरावेदन अदालत पाटनका न्यायाधीश हरिप्रसाद घिमिरे संयोजकत्वमा गठित उच्चस्तरीय टोलीले छानबिन गरेको थियो । त्यसपछि माओवादी र मधेसी जनअधिकार फोरमले छुट्टाछुट्टै छानबिन गरेको जनाएका थिए । माओवादीले ७० भन्दा बढीको नाममा किटानी जाहेरी दिएको थियो । उक्त जाहेरी पूर्वाग्रही भएको भन्दै प्रहरीले भने दर्ता गर्न अस्वीकार गरेको थियो ।
source:-kantipur
0 commentaires