८ चैत्र, काठमाडौं । हिमालयन टेलिभिजनका फोटो पत्रकार दिवाकर पोखरेललाई प्रहरीले निर्घात कुटपीट गरेको छ । सशस्त्र प्रहरी बल पशुपति प्रभागका असई बिरबहादुर लामा नेतृत्वको प्रहरीको कुटाइबाट पोख्रेलको वायाँ कानको जाली फुटेको छ । पोख्रेल नेपाल पत्रकार महासंघ हिमालयन टेलिभिजन प्रतिष्ठान सदस्यसमेत हुनुहुन्छ ।
कार्यालयबाट पशुपति क्षेत्र हुँदै कपनस्थित आफ्नो घर फर्किने क्रममा शनिबार साँझ साढे ६ बजे प्रहरीले विनाकारण निर्घात कुटपीट गरेको पोख्रेलले जानकारी दिनुभयो । ‘म घर फर्किंदै थिएँ । अँध्यारोमा मान्छे राम्रोसँग चिन्न सकिँदैन थियो । केही व्यक्तिहरुले मलाई ए पख पख भनेर पछाडीबाट रुक्न भने । दुव्र्यसनीमा लागेका केटाहरु होलान् भनेर म दौडिएर अलि पर पुगें । पछि अलि उज्यालोमा पुगेपछि मलाई बोलाउने प्रहरी रहेको एकिन भयो र म रोकिएँ,’ घटनाबारे पोख्रेलले अनलाइनखबरलाई जानकारी गराउँदै भन्नुभयो, ‘त्यसपछि त प्रहरीले एक्कासी हातपात गरे । मैले परिचयपत्र देखाउँदै आफू पत्रकार भएको जानकारी गराए पनि निर्घात कुटे ।’
देश र जनताको सेवामा समर्पित रहने प्रहरी संगठनका कर्मचारीबाट पत्रकारमाथि बिनाकारण निर्घात कुटपिट गरिएको घटनाबाट नेपाल पत्रकार महासंघ हिमालयन टेलिभिजन शाखाले ध्यानाकर्षण भएको जनाएको छ । शाखा सचिब महेश चौरसियाले निकालेको प्रेस विज्ञप्तिमा कुटपीट गर्ने प्रहरी टोलीको नेतृत्व गरेका असई लामा र कुटपीटमा संलग्न प्रहरी जवानलाई तत्काल निलम्बन गरी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।
पत्रकार पोख्रेल चाबहिलको ओम अस्पतालमा उपचारपछि सोमबार डिस्चार्ज हुनु भएको छ ।
source:-onlinekhabar
0 commentaires