अजित तिवारी, विराटनगर, चैत १५- जनतान्त्रिक मधेश मुक्ति टाइगर्सले बिराटनगरको वडा प्रहरी कार्यालय ट्राफिक चोकमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका डिस्पोजल टोलीले २० मिनेटको मेहनतपछि बम निस्क्रिय पारेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार ट्राफिक चोकको एउटै भवनमा रहेको वडा प्रहरी र ट्राफिक प्रहरी कार्यालयको तीन मिटर पर राखिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ।
बम राखिएको ठाउँमा जनतान्त्रिक मधेश मुक्ति टाइगर्सका अध्यक्ष राजन प्रतापको नाम उल्लेख गरिएको ‘नबुझिने' सेतो रंगको कागजमा कालो रंगले लेखिएको केही पर्चा भेटिएको छ। पर्चामा मधेशसँग सम्बन्धी मुद्दा समेटिएको प्रहरीले जनाएको छ।
मंगलवार विहान ६ बजे प्रहरीले देखेको उक्त शंकास्पद वस्तु बम नै रहेको पुष्टि भएपछि सेनाका टोलीले निष्कृय पारेको हो। बम राखिएका कारण विराटनगरको मुख्य सडक जनआन्दोलन चोकदेखि ट्राफिक चोकसम्मको आवागमन केही समय अवरुद्ध थियो।
‘बम निष्कृय पारिएपछि सडक सुचारु भएको छ'-वडा प्रहरी कार्यालयका प्रमुख दुर्गा रेग्मीले नागरिकन्यूजसँग भने,‘त्यो क्षेत्रमा प्रहरीको तैनाथी बढाएको छ।'
source:-nagriknews









0 commentaires