काठमाडौ, फाल्गुन २१ - तपाईंको छाला रातो फुस्रो दागले भरिएको छ ? त्यो चिलाउँछ ? हत्केला वा पैतालामा फोका
आउँछ ? यस्तो भएको छ भने छाला रोग विशेषज्ञकहाँ गइहाल्नुस् । यो सोरियासिस अर्थात् कत्ले रोगको लक्षणसमेत हुन सक्छ ।
यो लक्षण सामान्यदेखि तीव्र मात्रामा समेत देखिन सक्छ । यसमा विकृति र अशक्तताको स्थिति उत्पन्न हुन सक्छ । तर राम्रो कुरा के हो भने यो रोग संक्रामक
होइन । एक व्यक्तिबाट अर्कामा सर्दैन । सोरियासिसलाई मधेसमा बोलचालको भाषामा 'अपरस' समेत भनिन्छ । महिला र पुरुष दुवैलाई समान रूपले हुने सोरियासिस छाला सम्बन्धी दीर्घकालीन विकार हो ।
'यो रोग कुनैकुनै परिवारमा लामो समयदेखि रहेको पाइन्छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'यो रोग प्रभावित नेपालीको संख्याबारे कुनै अध्ययन भएको छैन ।' उनका अनुसार छालाको उपचारका लागि आउनेमध्ये १० देखि २० प्रतिशतसम्ममा सोरियासिसकै समस्या पाउने गरिएको छ ।
नेपालमा यो रोगबारे कुनै तथ्यांक नभए पनि अमेरिकाको नेसनल इन्स्िटच्युट अफ हेल्थ -एनआईएच) का अनुसार ७५ लाख अमेरिकीलाई कत्ले रोग छ । बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार बेलायतको दुई प्रतिशत जनसंख्या यसबाट प्रभावित छ । बेलायतमा यो रोग कुनै पनि उमेर समूहमा देखिए पनि सामान्यतः ११ देखि ४५ वर्षसम्मका व्यक्तिलाई हुने गरेको छ । अमेरिकामा भने मुख्यतः १५ देखि २५ वर्षसम्मका व्यक्ति संक्रमित हुने गरेका छन् ।
'यो रोग सामान्यतः धेरै मन्द स्थितिको हुन्छ,' डा. कर्ण भन्छन्, 'यसले गर्दा छालामा रातोरातो डाबर बन्छ, छालाबाट कत्ला निस्कन थाल्छ, यो दीर्घकालीन विकारको लक्षण वर्षौंसम्म रहन्छ ।' यस्तो स्थिति जीवनभर आउँदै जाँदै गर्नेसमेत उनी बताउँछन् ।
एनआईएचको तथ्यपत्रअनुसार सोरियासिस वंशानुगत, वातावरणीय कारक र स्वतः इम्युन प्रतिक्रियाका कारण हुने गरेको छ । सोरियासिस शरीरको प्रतिरोधी प्रणालीमा सुरु हुन्छ । मुख्यतः यो टि सेल भनिने एक प्रकारको सेतो रक्तकोषबाट सुरु हुन्छ । टि-सेलले शरीरलाई संक्रमण र रोगबाट बचाउँछ । सोरियासिसमा गल्तीले टि-सेल एक्सनमा आउँछ । यसले गर्दा छाला सुन्निन्छ र छालाका कोषहरू तीव्र गतिमा बाहिर निस्किन थाल्छन् ।
छाला कोशिकाको संख्या बढ्नाले शरीरमा रातो फुस्रो दाग उत्पन्न हुन थाल्छ । 'सामान्य रूपमा छालाको कोशिका पुरानो भएर शरीरबाट झर्दै जान्छ,' डा. कर्ण भन्छन्, 'यो प्रक्रियामा करिब २८ दिन लाग्ने गरेको छ ।'
तर केही व्यक्तिलाई कत्ले रोग भएपछि छालाको कोशिका तीनदेखि चार दिनमै र्झन थाल्छ । यस्तै, धेरै मात्रामा छालाको कोशिका झर्नाले छालामा कत्ले रोगको घाउ उत्पन्न हुन थाल्छ ।
कत्ले रोगपीडित व्यक्तिहरूमा भावनात्मक तथा शारीरिक प्रभाव पर्छ । कत्ले रोग आर्थराइटिस भएकाहरूलाई हुन्छ । यो रोगले पीडा दिन्छ । सम्बद्ध व्यक्ति अशक्तसमेत हुन सक्छन् ।
यो रोग भएकाहरू खानपिनमा नाकनिक गर्ने स्वभावका हुन्छन् । 'यो खानु त्यो नखानु जस्ता मान्यता हाम्रो समाजमा छ,' डा. कर्ण भन्छन्, 'जस्तो खान मन लाग्छ त्यही खानु राम्रो हो ।' केही व्यक्तिले भने केही खास खानाले छालाको दाग टल्किने र केही खास खानाले छाला फुस्रो देखिने समस्या भएको समेत बताउने गरेका छन् ।
अमेरिकाको नेसनल सोरियासिस फाउन्डेसनका अनुसार यो रोग पत्ता लगाउन कुनै पनि रगत परीक्षण वा 'डाइग्नोस्टिक टुल' छैन । छाला रोग विशेषज्ञले प्रभावित छालालाई परीक्षण गरेर यो रोग भए/नभएको किटान गर्छन् । कहिलेकाहीँ छालाको सानो टुक्रालाई सूक्ष्मदर्शक यन्त्रमा राखेर पनि परीक्षण गरिन्छ ।
'समयमा उपचार नगरे कत्ले रोग शरीरभरि फैलिन सक्छ,' डा. कर्ण भन्छन्, 'सम्पूर्ण शरीर रातो भएर मुटु, फोक्सो, मृगौलालगायतका अंगहरूले समेत काम गर्न छोड्न सक्छन् ।'
यसको उपचारमा रोगको अवस्था हेरी मलम, क्रिम र छालाको कोष वृद्घ िहुन नदिने विभिन्न औषधिको प्रयोग गरिन्छ । फोटोथेरापीसमेत उपयोग गर्न सकिन्छ । यो रोगमा धेरै समयदेखि प्रभावितमा जोर्नी दुख्ने समस्या हुन्छ, कुनै अंग नष्टसमेत हुन सक्छ ।
औंलाको लम्बाइ र रोग
उमेर वृद्धिसाथै जोर्नीको पीडा वा चिसोको संक्रमण हुने/नहुने कुरा जान्ने उत्सुकता छ भने आपmना औंलाको लम्बाइ नाप्नुस् । वैज्ञानिकहरू यसै भन्छन् । उनीहरूका अनुसार खास गरी साइँली औंला र चोरी औंलाबीचको लम्बाईको अन्तरले क्यान्सर र अन्य ठूलो स्वास्थ्य समस्याको आशंकालाई पत्ता लगाउन सघाउँछ ।
तपाईंको साइँली औंलो चोरी आंैलाभन्दा लामो भए तपाईंमा घुँडाको बाथ हुने आशंका दोब्बर हुन्छ । नटिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले उक्त परिणाम पाउन दुई हजार व्यक्तिका औंला नापेका थिए । स्वानसी विश्वविद्यालयका प्रा. जान म्यानिङको नेतृत्वमा भएको अर्को अध्ययनमा पाइएअनुसार साइँली आंैलो लामो हुनेहरूलाई चिसो र ज्वरोको सम्भावना, चोरी आंैला लामो भएकाहरूको दाँजोमा बढी हुन्छ । यस्ता व्यक्तिहरू बिफर र जर्मन दादुराले आक्रान्त हुने सम्भावनासमेत बढी हुन्छ । वैज्ञानिकहरूका अनुसार गर्भमै औंलाको लम्बाइ निर्धारण भइसक्छ र यो यौन हार्मोन ओएस्ट्रोजेन र टेस्टेस्टेरोनमा निर्भर हुन्छ ।
पुरुषको हार्मोन टेस्टेस्टेरोनले साइँली औंलाको लम्बाइ
बढ्छ । महिलाको हार्मोन ओएस्ट्रेजेनले चोरी औंलालाई लामो बनाउँछ ।
source:-kantipur









0 commentaires