काठमाडौ, फाल्गुन २१ - पाल्पाको मदनपोखरामा दमकडा उच्च माविमा पढ्ने दृष्टिविहीन बालक विद्यार्थीहरूले बालसाहित्य समाजका पाका सदस्यहरूलाई बडो मार्मिक गीत गाएर स्वागत गरेको कुरा समाजको एक्काइसौं वाषिर्कोत्सव कार्यक्रमको सबैभन्दा मीठो सम्झना बनेर बस्यो मेरो मनमा । गीतैमा तिनले गुनासो गरेथे- 'ईश्वर ! हामीलाई सबै कुरा दिएर आँखा किन दिएनौ, हामीलाई संसार हेर्नदेखि किन वञ्चित गर्यौ ?' मेरा आँखा भिजेका थिए तिनका अभिव्यक्तिले, सबैलाई छोएको हुनुपर्छ त्यो प्रसंगले र त आँसु झार्दै बालसाहित्यकार रामदेव पाण्डे मञ्चमा उक्लिएर घोषणा गरे- ईश्वर कतै छैन । सहभागीमध्येका धेरैले थपडी बजाएर अनुमोदन गरे त्यस अभिव्यक्तिलाई ।
रामदेव पाण्डेलाई दुखेको हुनुपर्छ ती केटाकेटीको पीडा, त्यसैले तिनलाई दृष्टि नदिने त्यो निष्ठुर ईश्वरलाई तिनले आक्रोशित भएर इन्कार गरे । तीव्र निराशामा मलाई पनि त्यस्तै लागेको छ कतिपल्ट, भनेकी छु- छ ईश्वर कतै भने पनि त्यो अत्यन्त क्रूर छ । तर उत्तेजना र आक्रोशमा गरिने यस्ता घोषणाले मात्र हाम्रा समस्या समाधान कहाँ भएका छन् र ? अनन्त समस्याले बाँधिएका हाम्रा गुनासा शान्त भएका छैनन् । उम्लिरहेको अशान्त मन लिएर न मान्छेले सन्तुलित बनेर हेर्न सक्छ विश्वलाई, न आफू र अरू कसैलाई माया गर्न सक्छ । आस्था चाहे ढुंगामाथि आरोपित होस् या मान्छेमाथि वा कुनै कल्पना वा विश्वासमाथि, मेरो अनुभवमा त्यो जीवनको सबैभन्दा ठूलो शक्ति हो- सहिष्णु हुन, प्रेमपूर्ण बन्न सिकाउँछ त्यसले, आफूलाई बिसाउने थलो हो त्यो । त्यतिखेर मलाई लाग्यो- ती केटाकेटीको सबैभन्दा ठूलो पुँजी तिनको त्यही आस्था थियो । प्रेम थियो, भर थियो र त गुनासो गर्थे ती ईश्वरसँग । आफूभन्दा शक्तिशाली ठानेर नै कुनै विश्वास वा व्यक्तिमाथि गुनासो गरिन्छ क्यारे । त्यो ईश्वर भनेको बेग्लै के थियो र तिनका लागि ? तिनका मनभित्र बाँचिरहेको आशा नै त थियो त्यो, जसले तिनलाई दृष्टिविहीन हुँदाहुँदै पनि पढ्ने, धेरै नम्बर ल्याउने, शृंगार गर्ने, गीत गाउने सुनाउने रहर जगाएको थियो, जीवनलाई माया गर्न जाँगर दिएको थियो । रामदेव पाण्डेले दिनुभएको झमक घिमिरेको प्रेरणादायी पुस्तक र उहाँसहित हामी सबैले दिएको थोरबहुत आर्थिक पुरस्कार तिनका निम्ति निश्चय नै उपयोगी थिए, तर त्यति मात्र तिनका मनभित्र बाँचेको अनन्त आस्थाको विकल्प हुन सक्थ्यो भन्ने कुरामा भने मलाई पत्यार लागेन, लाग्दैन ।
आफ्नो जीवनकालमा ईश्वरको अस्तित्व इन्कार गर्दै अनेकौं रचना गर्न महाकवि देवकोटा, मान्छेका सबै प्रयत्नले हार खाइसकेपछिको स्थितिमा जीवनको पल्लो किनारबाट बोलेका थिए- 'आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक' आत्म- ज्ञान, प्रभु-भक्ति वा स्वविवेक कुनै माध्यमले पनि जीवनभर संसारको, जीवनको सार पहिल्याउन नसकेको स्वीकारोक्तिपछि मलाई लाग्छ- देवकोटाले निकै हलुंगो अनुभव गरे हुनन् आफूलाई, शान्त रहेर प्राण त्याग गरे होलान् । सम्भवतः त्यसै बखत उनलाई लाग्यो होला- अब अरू कविता लेख्ने आवश्यकता सकिएको छ ।
त्यतिखेरै मलाई लाग्यो- प|mेडरिक नित्सेले घोषणा गरेर नमरेको ईश्वर बेलाबखत हामीले प्रकट गर्न अस्वीकृतिले मात्रै कहाँ समाप्त हुँदो हो र ?
ललल
राणाकालदेखि नै सामाजिक शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तानसेनको
धवल पुस्तकालय स्थानीय सहआयोजक थियो कार्यक्रमको । पुस्तकालयसँग सम्बन्धित राजेश अर्याल लगायतका युवाहरूको जाँगर र सीप देखेर छक्क परिरहेथेँ म, काठमाडौंबाहिर स्थानीयवासीको संलग्नतामा गरिने कार्यक्रमहरू बढी जीवन्त हुने अनुभव हुन्छ मलाई सधैं । राजेश मदनपोखरा एफएमसँग पनि सम्बन्धित रहेछन्, मदनपोखरालाई नेपालकै एउटा नमुना गाउँ बनाएका छौं दिदी
भन्थे । अर्गानिक कफीलगायत अनेक नगदे खेती उत्पादन हुन्छ रे त्यहाँ, हेर्न निकै मन थियो, एउटा साँझ मदनपोखराकै स्थानीय साथीहरूका घरमा बाँडिएर बसेका पनि थियौं, तर मदनपोखरा घुम्ने साइत भने परेन ।
राति पुगेका थियौं हामी मदनपोखरा, पाल्पाबाट हिँड्दै ढिलो भयो । रिभर भ्याली स्कुलमा खाने बन्दोबस्त रहेछ । निकै गाउँले थिए त्यतिखेर पनि । नाचगान धुमधाम चलिरहेथ्यो, अबेला भइसकेकाले हामी भने बास बस्न हिँड्यौं । कलाकार दाइ टेकवीर मुखिया, बालसाहित्यकार भाइ अमर न्यौपाने र मलाई विद्यालयका अंग्रेजी शिक्षक रामकृष्ण शर्माले लेखनाथ र मुना भण्डारीका घरमा बास बस्न पुर्याउनुभएथ्यो । मैले रामेशका गीत सुन्न पाइनँ, रातभरि गाउनुभएछ उहाँले स्कुलमा । मलाई उहाँका केही गीत निकै मन पर्छन्, गीतभन्दा पनि तिनमा उहाँ डुबेको मन पर्छ उहाँको अनवरत ऊर्जा र इमानदारी मन पर्छ
मलाई । जे हुनुहुन्छ, त्यही देखिनुहुन्छ उहाँ- त्यही मनपर्छ सधैंझैं, उहाँले भन्नुभयो- द्वन्द्वात्मक भौतिकवाद नै संसारको मूल तत्त्व हो शारदाजी, माक्र्सवादले मात्रै मान्छेलाई सही बाटो देखाउन
सक्छ । बीपी आफैं पनि त माक्र्सवादी हुनुहुन्थ्यो ।
मलाई भने जीवन र जगत्मा पनि भौतिक र आध्यात्मिक कुरा अलग हुन् जस्तो कहिल्यै लागेन । के भौतिक उपस्थिति आधार होइन र आध्यात्मिक चेतनाको ? मेरो भौतिक शरीर नै भएन भने म कसरी यो शरीरभन्दा परका, माथिका कुरा सोच्न सक्छु र ? शरीर मात्रै सम्पूर्ण हुँदो हो त मान्छे आफ्नो भौतिक भोक शान्त गरेर पनि सधैं असन्तुष्ट नै किन रहन्छ ? किन शान्त हुँदैन उसको चित्त ? किन कल्पना गर्छ ऊ अनेक थोकको ? किन गाउँछ गीत ? किन लेख्छ साहित्य ? किन चित्रकलामा डुबेर समय बर्बाद गर्छ आफ्नो वशले नल्याएका दयनीय स्थितिमा पुग्दा जुन करुण प्रार्थना पैदा हुन्छ उसभित्र, त्यही होइन र अध्यात्म ? एकपटक मार्टिन चौतारीमा मेरो पुस्तक 'अग्निस्पर्श' माथि चर्चा हुँदा खगेन्द्र संग्रौला र जगदीश घिमिरेले समेत मलाई आध्यात्मिक खेमामा हालिदिएको सम्झन्छु । तर मृत्युसँग छोइएर हिँड्दाको अनुभूतिमा जब जगदीश घिमिरे गुरुकुलमा सबैले आफूप्रति गरेको प्रेम अनुभूत गरेर रुँदै बोल्नुभएको थियो, त्यो भाव अध्यात्म थिएन र ? उहाँको आफ्नै कृति 'अन्तर्मनको यात्रा' भौतिकदेखि आध्यात्मिकता तर्फको यात्रा होइन र ? कसैप्रति कृतकृत्य हुँदा, प्रेममा डुब्दा, कसैप्रति समर्पित बन्दा जुन निर्भारताको अनुभव गर्छ मान्छेले, त्यही होइन र अध्यात्म ? मनभित्रका बोझ बिसाउने त्यही आध्यात्मिक आधार भत्कँदा नै त मान्छेले निराश भएर आत्महत्या गर्छ । त्यतिखेर चाहिँ रामेशको चित्त दुख्छ कि भनेर डराइडराई बिस्तारै भनेँ मैले- तपाईंको त्यो
व्याख्या चाहिँ जीवन र जगत्को एउटा पक्ष हो कि रामेशजी ? सबैथोक हो भन्ने चाहिँ मलाई अहिलेसम्म लागेको छैन ।
कतिपय मान्छेले धार्मिक कर्मकाण्ड र आध्यात्मिक चेतनालाई एउटै भन्ठानेको पनि भेटेकी छु । झलनाथ खनाल प्रधानमन्त्री निवासमा प्रवेश गर्दा लगाएको पूजाआजालाई आध्यात्मिक कृत्य भनेर प्रमुख राष्ट्रिय छापाहरूले समेत खुब आलोचना गरे । आफ्ना ठाउँमा कर्मकाण्डको पनि उपयोगिता होला, तर आध्यात्मिक बन्न कर्मकाण्ड आवश्यक होइन । धार्मिक कृत्य आफैं आध्यात्मिक हुने होइन, आध्यात्मिकता भावको कुरा हो । पूजाआजा विशुद्ध धार्मिक कामै हो, त्यो काम गर्दा झलनाथजीको चित्त कति आध्यात्मिक बन्न सक्यो वा भौतिक वासनाले नै त्यो ग्रस्त थियो, अरूले भन्न सक्ने कुरा भएन । तर यदि आध्यात्मिक साधना नै त्यो हुँदो हो त एउटा गृह मन्त्रालयका निम्ति यो विवाद र फसाद सम्भवतः हुँदैनथ्यो । नेता र प्रमुख कार्यकारीहरूमा आध्यात्मिक चेतना हुँदो हो त यस मुलुकको यो दुर्गति पनि हुने थिएन ।
घरबेटी दम्पतीसँग निकै अबेर रातसम्म कुरा भयो हाम्रो, टेकवीर दाइले आफू घरको कम्पाउन्डबाट बाहिर निस्कँदा टोलभरिका भुस्याहा कुकुरहरूले घेर्ने, पछि लाग्ने कुरा सुनाउनुभयो । कुकुरलाई निकै माया गर्नुहुँदोरहेछ, बडो प्रेमले तिनका हाउभाउको वर्णन गरिरहनुभएको थियो, मलाई उहाँ दृश्यमा बोलिरहेजस्तो लाग्यो । सोचेँ, उहाँ मानिस र जनावरबीचको स्नेहको, आत्मीयताको चित्र बनाइरहनुभएको छ । अमर भन्थे- दिदी, संसारमा सबैले बुझ्ने भाषा प्रेमको भाषा मात्रै हो । हामीप्रतिको प्रेमकै कारण होला लेखनाथ भण्डारीले त्यो अबेला रातमा पनि चाकासहितको मह प्लेटमा हालेर ल्याउनुभयो, आफ्नै घारको रहेछ । प्राविमा शिक्षक हुनुहुँदोरहेछ, पत्नी मुना पसल हेर्दिरहिछन् । पढ्न पाइनँ दिदी भन्थिन्, तर हामी पढेकाले भन्दा राम्रो सीपले जिम्मेवारी सम्हालेकी थिइन् । ती दम्पतीले आफू सुत्ने ओछ्यान मेरा निम्ति
छाडिदिए । कृतकृत्य भएँ म, अप्ठेरो पनि लाग्यो । अनुभव गरेँ, मसँग भने न यस्तो सरलता रह्यो कहिल्यै, न यस्तो प्रेम नै ।
ललल
बालसाहित्य समाजले संकलन गरेको सूचीअनुसार मात्रै पनि ६४ र ६५ सालमा गरी २१८ वटा बालपुस्तक छापिएका रहेछन् । सूचीमा नपरेका पनि धेरै नै होलान्, स्याङजाका प्रसिद्ध साहित्यकार देवीप्रसाद वनवासीले आफ्ना थुप्रै लोकपि्रय बालपुस्तकहरू त्यस सूचीमा छुटेको बताउनुभएको थियो मलाई । जे भए पनि हाम्रो समयका तुलनामा नेपालमा अहिले बालसाहित्य निकै धेरै लेखिँदो र छापिँदो पनि रहेछ । नयाँ लेखिएका बालसाहित्य पढेकी छैन मैले धेरै, तर मैले सम्झना गर्ने बालसाहित्य भने यतिखेर पनि मेरा जिब्रोका टुप्पामै छन् । कृष्णप्रसाद पराजुलीको 'रमाइला नानी' मैले पढेको पहिलो लिखित बालसाहित्य हो । त्यसमा भएका 'चकचके गोरुको चाकमा डाम' लगायतका कविता हामीलाई कण्ठै थिए । कल्पना प्रधानको 'मेरो सानो खरायो' नजान्ने केटाकेटी यतिखेर पनि कोही छैनन् होला । माधव घिमिरेको 'घाम पानी' का गीतहरू पनि मैले खुबै मन पराएँ । केटाकेटीमा रामचन्द्र मामाले वाचन गरेर सुनाउने गरेका स्यालका, भालुका, बुढाबूढीका कथा विस्मरण भएका छैनन् यतिखेरसम्म । मेरी आमाले मेलापात, घाँसदाउरा गर्दा गाउँमा देखेका, सुनेका, भोगेका कुराहरू सुत्ने बखत सुनाउँदा तीभन्दा रमाइलो साहित्य अर्को लागेनथ्यो मलाई त्यतिखेर ।
यतिखेर भने केटाकेटीलाई सुत्ने बेलामा कथा सुनाउने धैर्य र फुर्सद आमाबाबुलाई त्यति हुन्न
क्यारे । यतिखेरको बालसाहित्यले चाहिँ अहिलेका केटाकेटीका आवश्यकता र रुचिलाई कति सम्बोधन गर्न सकेको छ वा तिनको मन मस्तिष्कलाई कति तान्न सकेको छ, म राम्ररी भन्न सक्दिनँ । प्रविधिका हिसाबले पनि निकै उन्नत बनेको यतिखेरको समयमा केटाकेटीका निम्ति हामीले हाम्रो समयमा पढेसुनेका सन्दर्भहरू मात्रै पर्याप्त हुँदैनन् । समाजका जटिलता बढेका छन्, केटाकेटीका समस्याका प्रकृति बदलिएका छन्, सुविधा भएका ठाउँमा बालकहरूले सोझै अंग्रेजीमा लेखिएका अन्तर्राष्ट्रिय चर्चाका सामग्री पनि हेर्न, सुन्न र पढ्न पाउँछन् यतिखेर । नेपालीमा लेखिएको बालसाहित्यले त्यससँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । बालकहरू नै पनि तिनको पृष्ठभूमि र परिवेशअनुसार बेग्लाबेग्लै मानसिक स्तरमा हुन्छन्, ती सबैका निम्ति एउटै र उस्तै सामग्री उपयोगी हुन सक्दैनन् । यी सबै कुरालाई सम्बोधन गर्ने यतिखेर बालसाहित्य लेख्नेहरू आफैं कति प्रशिक्षित छन् वा योग्य छन् भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ । बालकहरूको उमेरअनुसारको मनोविज्ञान, मानसिकता, रुचि र आवश्यकताहरूको अनुसन्धान, मूल्यांकन गरेर सावधानीले बालसाहित्य सामग्री तयार गर्नुपर्ने हुन्छ, त्यसको भाषा र प्रस्तुति त्यत्तिकै सुबोध र रोचक हुनुपर्छ केटाकेटीका
निम्ति । जे लेखिदिएर पनि साहित्य हुँदैन भन्ने धारणा भएका साहित्यकारले मात्र यी कुरामा न्याय गर्न सक्छन् । लेख्ने पाकाकै कलमले हो, तर लेखिएको साहित्य बालकका निम्ति रुचिकर वा उपयोगी हुन सक्यो/सकेन भनेर मूल्यांकन परीक्षण गर्न भने बालकहरूलाई नै दिनुपर्छ जस्तो लाग्छ ।
कार्यक्रमका सहभागीहरूमा बालक र किशोरहरू शून्य रहे पनि केही प्रतिभाशाली युवायुवती चाहिँ थिए । सम्भवतः उचित वातावरण नभएर हो कि अधिकांशले बाल र किशोर साहित्यबारे प्रस्तुत गरिएका कार्यक्रममाथि आफ्ना धारणा बोलेको भने सुनिनँ मैले । अरू जति छलफल भयो, पुरानै शैलीमा हामी भूतपूर्व बालक, पाका पुरानाहरूकै बीच भयो । अर्कोपल्ट कार्यक्रम राख्दा भने बालसाहित्य समाजले बालक र किशोरहरूलाई समेत मूल भूमिकामा संलग्न गराएर तिनैद्वारा बालसाहित्य सामग्रीको परिकल्पना र परीक्षण गर्नसके बढी उपयोगी हुने थियो जस्तो अनुभव भइरहेछ ।
source:-kantipur










0 commentaires