सुखसमृद्धिका लागि शिवको आराधना


कृष्णराज गौतम, काठमाडौँ, फागुन १७- हिन्दूका आराध्यदेव शिवलाई संसारभरि फैलिएका हिन्दूका आस्थाका केन्द्रका रूपमा लिइन्छ। शिवको अर्थ कल्याण हो र उनले सबैको कल्याण गर्छन्। शङ्कर, भोला, महादेव, जटाधारी, शशिधर, गङ्गाधर, महेश्वर अनेक नाम भएका महादेव नेपालका राष्ट्रिय देवता पनि मानिन्छन्।

महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण गरिएको भएपनि सृष्टिको आरम्भ र मानव सभ्यताको सुरुआतसँगै मानिसले विश्वास गरी अभ्यास गरेकाले प्रचलनमा आएको विद्वान्हरू बताउँछन्।

यस पर्वलाई सम्पूर्ण हिन्दू धर्माबलम्बीले दुःखको अवस्थामा रहेका प्राणीको मनमष्तिष्कमा धर्म, करुणा र स्नेहको चेतना जागृत गराउने शिवको मनपर्ने तिथिका रूपमा विश्वास गर्छन्।

योग र नृत्यका प्रवर्त्तक शिव पहिलो शल्यचिकित्सक पनि मानिन्छन् जसले गणेशलाई हात्तीको टाउको र दक्ष प्रजापतिलाई बोकाको टाउको जोडिदिएका थिए। समुद्रमन्थनमा निस्की संस्कार दग्ध गर्न लागेको हलाहल विष पिइदिएर प्राणीको कल्याण गरेका शिव नीलकण्ठ पनि कहिन्छन्।

यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्व रहेको सँस्कृतिविद् डा ऋषिप्रसाद शर्मा बताउँछन्।

विश्वका हिन्दूले गर्ने चारधामको पुण्य प्राप्त गर्नका निमित्त पशुपतिनाथको दर्शन अनिवार्यरूपमा गर्नुपर्नेमा शर्मा जोड दिन्छन्।

शिवको दर्शन गर्न र शिवरात्रि मेला भर्न सो दिन नेपाल र भारतका विभिन्न भागबाट पशुपति क्षेत्रमा भेला हुने प्रचलन छ।

यसैगरी शिवरात्रिको दिनमा पूर्वको बराहक्षेत्र, हलेसी, पनौती, त्रिवेणीधाम, धादिङको पशुपतिधाम, गुप्तेश्वरलगायत मुलुकका अन्य शिवमन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ।

प्रकृतिको परिवर्तनसँगै केही महिनादेखि रूख, बिरुवामा आउने रूखोपन यसै दिनबाट परिवर्तन भई रूखमा पात पलाउने, बिरुवामा हराभरापन आउने हुन्छ।
 नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापीठका उपप्राध्यापक डा विष्णु दाहालले यस दिन भक्तजनले शुद्ध भई दिउँसो व्रत बसी शिवालयमा पूजाआराधना गरेर नैवेद्यका रूपमा भाङ, धतुरो र बेलपत्र चढाउने र राति प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तन गर्दै जाग्राम बसेमा सर्वसिद्धि लाभ भई सुखसमृद्धि प्राप्त हुने र मृत्युपछि स्वर्गलोक पाइने धार्मिक विश्वास रहेको बताउँछन्।
 डा दाहालले विश्वब्रह्माण्डलाई रुवाउनसक्ने, विनाश गर्नसक्ने तथा सम्पूर्ण देवगण, मनुष्यगणको सुरक्षा र सत्य र न्यायको संरक्षण गर्नसक्ने विशेषता केवल शिवतत्वमा मात्र रहेको बताए। कुलार्णवतन्त्रमा वर्णित घृणा, लज्जा, भय, शङ्का, निन्दा, जाति, कुल र शील गरी आठ गुणबाट माथि उठेका र देवता र दानवबीच कुनै भेदभाव नगरी तटस्थ रहेर विश्वसामु छुट्टै आफ्नो पहिचान बनाएका शिवलाई सबैले मान्नुपर्ने डा दाहाल उल्लेख गर्छन्।
 राष्ट्रिय पर्वका रूपमा रहेको यो दिन पशुपतिनाथको मन्दिरमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सव गरिन्छ।
 यस वर्ष पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या रु १० लाख पुग्ने अनुमान पशुपतिक्षेत्र विकास कोषले गरेको कोषका प्रचारप्रसार समितिका सचिव राजेन्द्रधर राजोपाध्याय बताउँछन्।
 दर्शन गर्न चाहने दर्शनार्थीको सजिलोका लागि कोषले गत वर्षदेखि रु एक हजारको शुल्क लिएर दर्शन गराउने प्रबन्ध गरेको उनले बताए।
 शिवरात्रिमा दर्शन शुल्क लिएर दर्शन गराउने परिपाटी व्यापार भएको आरोप लगाउँदै सो निर्णयविरुद्ध अधिवक्ता भरतजङ्गमले सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छन्।
 यसै प्रसङ्गमा नुवाकोटको देवीघाटमा यही फागुन १६गते १२ज्योतिर्लिङ्ग, ६४महादेव, चार वेद, १८पुराणसहितको नवकैलाशधामको प्राणप्रतिष्ठा भएको छ र शिवरात्रिमा विशेष आराधना र पूजा, शिवधुनी जगाउने बताइएको छ। रासस

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login