आज महाशिवरात्री/घोषणाभन्दा फितलो तयारी


काठमाडौं, फाल्गुन १८ - पशुपति क्षेत्र विकास कोषले गरेको पूर्वघोषणा विपरित महाशिवरात्री पर्वको तयारी फितलो देखिएको छ । कमजोर व्यवस्थापनका कारण पूर्वघोषणा अनुसार भोजन, पानी, दाउरा र औषधी व्यवस्था फितालो देखिएको हो । मंगलबार दिउँसैदेखि यस क्षेत्रमा भक्तजनको घुइँचो थियो ।
महाशिवरात्रीको पूर्वसन्ध्यामा विद्युतीय द्वारहरू र पण्डालले पशुपतिलाई सजाइएको छ । पशुपति क्षेत्रमा गीत, संगीत, भजन र नृत्यले गुञ्जायमान छ । पशुपतिको चार शिवालय, भकुण्टोल, गौशाला, मित्रपार्क र उमाकुण्डमा राखिएको विद्युतीय द्वारहरूले झनै रौनक थपेको छ ।
पशुपतिमा साधु तथा अन्य भक्तजनको घुइँचो बढेको छ । भारतको उत्तरप्रदेशबाट पछिल्लो १२ वर्षदेखि खजुरिया गाउँबाट श्रीमती पार्वतीसहित ५५ जनाको समूहमा आएका ५५ वषर्ीय रामसजन चतुवेदीले गत वर्षको झैं तयारी नभएको बताए । यात्राले गर्दा रुघा र ज्वरोले पीडित उनकी श्रीमती औषधी नपाएर चिन्तित थिइन् । कोषले घोषणा अनुसार सूचना केन्द्रको व्यवस्था र २२ वटा तातो पानी आउने धारा व्यवस्था गरेको छैन । अपांग र अशक्तका लागि विशेष दर्शनको व्यवस्था भएको थाहा पाएर श्रीमती सीतासहित आएका नुवाकोट समनटार-६ का नेत्रहीन गोविन्द ढकाल सूचना केन्द्रको अभावमा कहाँ जाने अन्योलमा थिए । उनले भने, 'छिटै दर्शन गर्न पाइन्छ भनेर आएको हो, खै कता जाने ? थाहा भएन ।' साधुलाई खाना दिने घोषणा पनि कार्यान्वयन नभएको गुनासो साधुहरूको छ ।
कोषको दाबी अनुसार करिब ६ लाख दर्शनार्थी मंगलबार साँझ सम्म काठमाडौं आइपुगेका छन् । साधुको संख्या करिब २ हजार रहेको अनुमान छ ।
गुठी संस्थान पशुपति गोश्वारा शाखा कार्यालयकी प्रमुख उमा आचार्यले मन्दिर परिसरभित्र बसेका साधुलाई सोमबार बेलुकादेखि दाउरा र भोजन एवं बाहिर बसेकालाई मंगलबारदेखि उक्त सेवा पुर्‍याइरहेको बताइन् । 'हामीसँग दाउरा र भोजनको अभाव छैन,' उनले भनिन् ।
महाशिवरात्री आवास तथा निःशुल्क भोजन तथा भौतिक पूर्वाधार उपसमितिका संयोजक सुनीलकुमार वंशलले तयारीभन्दा अगावै भक्तजन आइपुगेको हुनाले समस्या भएको बताए । उनले भने, 'गुनासो आएपछि तिलगंगाको ६ हजार वर्गफिटको क्षेत्रमा खडा गरिएको पण्डालमा दुई संघ-संस्था र तिलगंगा आँखा अस्पतालको सहयोगले भोजन र पानीको व्यवस्था मिलाइएको छ ।' रातिका लागि दुई हजार लिटर क्षमताको पानीका दुई ट्यांकर, घुनी बाल्न र आगो ताप्न दाउरा वितरणको व्यवस्था मिलाइएको बताए । नेपाल टिम्बर कर्पोरेसन लिमिटेडले अन्तिम क्षणमा दाउरा नदिने भनेपछि मारवाडी संघ-संस्थाको सहयोगले प्रबन्ध मिलाएको वंशलले बताए ।
लिमिटेडका महाप्रबन्धक भरतबहादुर चन्दले गुठीलाई मागेअनुरूपको दाउरा उपलब्ध गराएको र कोषलाई समेत आवश्यकता अनुरूप दिने निर्देशन भइसकेको बताए ।
कोषले दर्जनौं संघ-संस्थाको सहयोगले भक्तजनका लागि वनकाली धर्मशालाभित्र आवास र भोजनको व्यवस्था गरेको छ । तिलगंगामा भेला पारेर नेत्रहीन, अशक्त र अपांगलाई पशुपतिको दर्शन गराउने कोषका सदस्यसचिव सुशील नाहाटाले बताए । कोषले यी समग्र कार्यका लागि ८ हजार ५ सय स्वयंसेवी परिचालन गरेको छ । पशुपतिको मूल मन्दिरको गेटमै तीन एमबीबीएस चिकित्सक र नर्ससहितको ५ बेडको अस्पतालको प्रबन्ध छ । त्यसैगरी मन्दिरको कोर क्षेत्रभित्र दुई स्वास्थ्य शिविरसहित दर्जनौं संघ-संस्था छन् ।
महाशिवरात्री सुरक्षा, दर्शन र स्वयंसेवा उपसमितिका संयोजक भोला सिटौलाले अन्योल परिस्थिति रहँदा रहँदै पनि गत वर्षको तुलनामा राम्रो तयारी भएको बताए । प्रधानमन्त्री झलनाथ खनालले समेत शिवरात्रीका बेला सुरक्षा व्यवस्था राम्रो गर्न निर्देशन दिएका छन् । गौशाला तथा चावहिल क्षेत्रका होटल तथा लज विभिन्न ठाउँबाट आएका भक्तजनले भरिएका छन् । कोषले करिब १० लाख भक्तजन आउने दाबी गरेकामध्ये ४० प्रतिशत भक्तजन मंगलबार रातिसम्म भित्रिसकेको सिटौलाले बताए । 'विगतको तुलनामा भारतीय भक्तजन ५ सय प्रतिशतले बढेका छन्, पशुपति क्षेत्रमा भीड बढेको छ,' उनले भने ।
मूल मन्दिरको पश्चिम गेटमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसहितको संयुक्त सुरक्षा कमाण्ड पोष्ट राखिएको छ । सादा पोसाकका सात सयसहित झण्डै चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडांैका प्रमुख पुष्कर कार्कीले भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन र आपराधिक तत्त्व देखेमा तत्काल नजिकको पोष्ट र एक सय नम्बरमा खबर गर्न आग्रह गरेका छन् ।
ट्राफिक व्यवस्थापन
महाशिवरात्रीमा बुधबार बत्तीसपुतली, गौशाला, रातोपुल, जयबागेश्वरी, मित्रपार्क, तिलगंगा वाग्मती पुल र गौरीघाट भित्रको क्षेत्रमा सवारी निषेध गरिएको छ । ट्राफिक प्रहरी प्रभाग गौशालामा सुरक्षा निकायका मोटरहरू, देवउद्यानस्थित कोषको कार्यालयमा पासवाला सवारी साधन, तिलगंगामा दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकको गाडी र सिफल चौरमा दर्शनार्थी र तीर्थयात्रीको वाहनका लागि मात्र पार्किङको व्यवस्था छ । जथाभावी पार्किङ गरिएमा सवारी ऐन बमोजिम कडा कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
दर्शन कताबाट ?
भक्तजनका लागि तिलगंगा चक्रपथ पुलबाट चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । मित्रपार्क गौरीघाट उमाकुण्ड-रुद्रगाडेश्वर हुँदै उत्तरतर्फबाट पनि मन्दिर प्रवेश गर्न सकिनेछ । जयवागेश्वरी-भुवनेश्वरीबाट गणेश मन्दिरसँगैको सानो ढोकाबाट कोर क्षेत्र हुँदै पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने प्रबन्ध गरिएको छ । उल्लेखित सम्पूर्ण मार्गबाट दर्शन गर्ने भक्तजनले मन्दिरको पश्चिम मूल ढोकाबाट मात्र बाहिरिने व्यवस्था गरिएको छ ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login