२१ फागुन, काठमाडौं । लामोसमयदेखि बन्द अवस्थामा रहेको साझा यातायात सेवा पुनः सुचारु गरिने भएको छ । भ्रष्टाचारले गाँजिएको साझा सार्वजनिक यातायात सेवा ऋण लिएर भए पनि सुचारु गरिने संस्थाका अध्यक्ष तथा श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले जानकारी दिनुभयो ।
साझा यातायात सहकारी संस्था लिमिटेडको सातौं साधारणसभाले साझा यातायातको स्थायित्व र विकासका लागि संस्थाको आवश्यकता अनुसार नयाँ बस खरिद गर्न तथा कर्मचारीको दायित्व भुक्तान गर्नका लागि १० करोड रुपैयाँसम्म ऋण लिन सक्ने अधिकार सञ्चालक समितिलाई दिएको छ ।
२०६६ सालदेखि मुलुककै पहिलो साझा यातायात पूर्णरुपमा बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारी बेवारिसे अवस्थामा हाजिरमात्र गरेर तलब खाने गरेका छन् ।
विक्रम संवत् २०५८ मा सरकारले साझा यातायात बन्द गर्ने निर्णय गरेपछि बन्द भएर पुनः २०६० सालमा खुलेको थियो । तर, २०६१-०६२ को तत्कालीन द्वन्द्वका बेला साझाका १३ वटा बस जलाइएपछि सरकारले कुनै क्षतिपूर्ति नदिएकाले साझा २०६४ मा बन्द भएको थियो ।
केही गाडी स्कुललाई भाडामा चलाउन दिए पनि प्रभावकारी नभएपछि २०६६ देखि पूर्णरुपमा बन्द भएको हो । एकताका एसियाकै राम्रो संस्थाको रुपमा मानिने साझा यातायातको सेवा बन्द भएपछि फुर्सदका कर्मचारीलाई तलब खुवाउन साझालाई गाह्रो भएको छ । अन्य आयस्रोत नभएपछि साझाले अहिले भाडाबाट उठेको रकमबाट कर्मचारीलाई तलब खुवाउने गरेको छ । साझाको केही जग्गा २०६५ बाट नेपाल टेलिकमले भाडामा लिएको छ । सोही जग्गामा साझा पेट्रोलपम्प सञ्चालित छ । टेलिकमबाट मात्र मासिक ५ लाख ६६ हजार ३०० र पेट्रोल पम्पबाट मासिक १ लाख १५ हजार रुपैयाँ भाडा उठ्ने गरेको छ ।
source-onlinekhabar










0 commentaires