नयाँदिल्ली, माघ २७ - नेपाली नागरिकसमेत मारिएको बहुचर्चित आरुषी-हेमराज हत्याकाण्डसम्बन्धी मामिला बन्द गर्ने केन्द्रीय जाँच ब्युरो सीबीआईको प्रतिवेदन अस्वीकार गर्दै यहाँको एक अदालतले थप अनुसन्धानका लागि बाटो खुला गरिदिएको छ ।
करिब तीन वर्षअघि भएको हत्यामा किशोरी आरुषी तलवारका बुवाआमा संलग्न रहेको हुन सक्नेतर्फ संकेत गरे पनि पर्याप्त प्रमाण नभेटिएको भन्दै सीबीआईले उक्त मामिला बन्द गर्न आग्रहसहित गाजियावादस्थित अदालतमा आफ्नो 'क्लोजर रिपोर्ट' बुझाएको थियो ।
उक्त प्रतिवेदनमाथि बुधबार निर्णय सुनाउँदै अदालतले भने आरुषीका बाबु राजेश तलवार र आमा नुपूरविरुद्ध पर्याप्त प्रमाण रहेको ठहर गरेको हो । प्रतिवेदनलाई नै आरोपपत्र मान्दै तलवार दम्पतीलाई हत्या गरेको र सबुद प्रमाण मेटाएको अभियोग लगाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अदालतको फैसलापछि हत्यामा नाम जोडिएका नेपाली नागरिकहरू निर्दाेष भएको औपचारिक पुष्टि भएको छ । सीबीआईको उक्त प्रतिवेदनमा समेत घरका सदस्यबाहेक बाहिरी व्यक्तिको संलग्नता नरहेको उल्लेख छ । घरेलु कामदारका रूपमा राजेशको घरमा काम गर्ने नेपाली नागरिक यमप्रसाद बञ्जाडे 'हेमराज' समेत मारिएको काण्डमा संलग्न भएको आशंकामा सीबीआईले अन्य दुई नेपाली नागरिकलाई पक्राउ गरेको थियो । सीबीआईले राजेशका कम्पाउन्डर नेपाली नागरिक कृष्ण र राजेशकै साथीको घरमा घरेलु कामदार रहेका अर्का नेपाली राजकुमारलाई पक्राउ गरेको थियो । जमानतमा रिहा गर्न आदेश दिएपछि केही समययता उनीहरू नेपालमै रहेको उनीहरूका वकिल नरेश यादवले जनाए ।
अदालतको फैसलापछि कान्तिपुरसँग कुरा गर्दै यादवले पीडितहरूले न्याय पाएको प्रतिक्रिया दिए । 'निर्दाेष नेपालीहरूलाई अदालतले यसअघि जमानतमा छाडेर पहिलो न्याय दिएको थियो', उनले भने, 'अदालतको पछिल्लो फैसलाले दोस्रो न्याय भएको छ ।' उनले हत्याका दोषीलाई जेलको कठघरामा उभ्याएपछि मात्रै ती नेपालीलाई अन्तिम न्याय मिल्ने बताए । निर्दोषलाई हिरासतमा राखी दुःख दिइएकाले क्षतिपूर्तिका लागि लड्ने पनि उनले जनाए ।
राजेशको बयानका आधारमा हेमराजलाई मुख्य सन्दिग्धका रूपमा सुरुमा खोजी गरिएको थियो । आरुषी मारिएको भोलिपल्टै हेमराजको शव पनि राजेशकै घरको बार्दलीमा भेटिएपछि घटनाले अर्कै मोड लिएको थियो । त्यसपछि दोहोरो हत्याको अभियोगमा राजेशलाई पक्रेको करिब एक महिनापछि त्यसमा संलग्न भएको आशंकामा सीबीआईले कृष्ण र राजकुमारलाई हिरासतमा लिएको थियो । अदालतले तलवार दम्पतीलाई फागुन १६ गते उपस्थित हुन आदेश दिएको छ ।
हत्याकाण्डबारे प्रमाण जुटाउन नसकेको भन्दै विभिन्न दल तथा अधिकारवादी संघसंस्थाले सीबीआईको आलोचना गरेका छन्् । सत्तारूढ कंग्रेसले सीबीआईको प्रतिवेदनबाट आफू निराश भएको बताएको छ । विपक्षी भारतीय जनता पार्टीले सीबीआई असफल भएको पुष्टि गरेको जनाएको छ ।
source:-kantipur










0 commentaires