ललितपुर, फाल्गुन १२ - ललितपुरका ४१ वटै गाविस सडक सञ्जालमा जोडिएका छन् । दक्षिणी ललितपुरका दुई गाविस गिम्दी र ठूलादुर्लुङमा यसपालि ट्रयाक खुलेपछि सबै गाविसमा सडकको पहुँच पुगेको हो ।
विकट गाउँमा सडक पुगेपछि गाउँका उत्पादनले बजार पाउने र कृषिको व्यवसायीकरण सहज हुने स्थानीयको आशा छ । दक्षिणी ललितपुर व्यावसायिक दूध उत्पादनका लागि प्रसिद्ध छ भने चन्दनपुर र ठूलादुर्लुङमा कफी र चियाखेती विस्तार भएको छ । सडक नहुँदा दुग्ध व्यवसाय फस्टाउन नसकेको उनीहरूको गुनासो थियो ।
विकट ठूलादुर्लुङमा चन्दनपुरबाट कच्ची सडक निर्माण भइसकेको र कान्ति राजपथको बघुवा विन्दुबाट गिम्दीमा सडक पुर्याइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख माधव भट्टराईले बताए ।
'यस वर्षदेखि सबै गाविसमा गाडी पुगिसकेका छन्,' उनले भने, 'ट्रयाक खोलिएका सडकको स्तरोन्नति गर्ने र मुख्य इलाकामा सडक विस्तार गर्ने योजना छ ।'
बाटोमा पर्ने खोलामा पुल नहुँदा पाँच गाविसका सडक वर्षायाममा सञ्चालन हुन कठिनाइ छ । वर्षायाम सुरु हुनासाथ प्युटार, आश्राङ, गिम्दी, ठूलादुर्लुङमा सडक अवरुद्ध हुन्छ । इकुडोलमा भने भट्टेडाँडाबाट सञ्चालन हुने रोप वेबाट सामान ढुवानी हुन्छ ।
कान्ति राजपथ आयोजनालेे टीकाभैरवदेखि माल्टासम्मको ४१ किलोमिटर दोहोरो ट्रयाक खेलेपछि लेले, भट्टेडाँडा र माल्टा गाविसमा सडक पुगेको थियो । जिविसले कान्तिको बघुवाबाट प्युटार, आश्राङ हुँदै गिम्दी ट्रयाक खोलेको हो । सडकलाई विस्तार गरी ठूलादुर्लुङ हुँदै चन्दनपुर जोड्ने योजना रहेको जिविसका प्राविधिक किशोर मोक्तानले बताए । 'दक्षिणी भेगमा दीर्घकालीन योजना बनाई पहाडी चक्रपथ विस्तार हुँदैछ,' उनले भने । पाँच गाविस जोड्ने बघुवा-गिम्दी सडकमा पर्ने खानीखोलामा साढे तीन करोडको लागतमा पुल बनाउने योजना छ ।
कान्ति राजपथको टीकाभैरवदेखि सुरु भएको १५ किलोमिटर लामो कच्ची सडक दल्चोकी, शंखु हुँदै इकुडोल पुगेको छ । बीचमा पर्ने ठोस्नेखोलामा पुल निर्माणको प्रक्रिया सुरु भएको छ ।
गिम्दीदेखि चन्दनपुरसम्म २२ किलोमिटर सडक चक्रपथ योजनामा परेको छ । उच्च पहाडी गाविस कालेश्वर गोटीखेलसँग हिउँदे कच्ची सडकले जोडिएको छ ।
पहाडी भेगमा पर्ने २१ गाविसमध्ये लेले, नल्लु र चौघरे बाहेकमा कालोपत्र सडक छैन । उपत्यकाभित्र पर्ने विशंखुनारायण, डुकुछाप र छम्पी बाहेक सबै गाविसमा पिच सडक छ । लामाटार-लाकुरीभञ्ज्याङ कच्ची सडकलाई स्तरोन्नति गर्न र पनौतीसम्म जोड्न स्थानीय र पनौतीवासीले योजना आयोगमा प्रस्ताव पेस गरेका छन् ।
ग्रामीण पुनर्निर्माण आयोजनाले लेलेदेखि चन्दनपुरसम्मको २५ किलोमिटर सडक दुई वर्षभित्र पिच गर्ने लक्ष्य छ । सार्वजनिक यातायात सञ्चालन नभएपछि टीकाभैरवदेखि देवीचौर हुँदै घुसेल पुग्ने कच्ची सडक निर्माण भइसकेको छ ।
तीन वर्षअघिसम्म ललितपुरका बुखेल, इकुडोल, आश्राङ, ठूलादुर्लुङ र माल्टा गाविसमा सडक पुगेको थिएन । ५० वर्षअघि सुरु भएको कान्ति राजपथ विस्तारका क्रममा मकवानपुरसँग जोडिएको विकट माल्टामा सडक पुगेको हो । माल्टामा सडक पुगेपछि बघुवा इलाकालाई आधार मानी जिविस र स्थानीयको श्रमदानमा गिम्दीसम्म सडक
पुगेको हो ।
दक्षिणी ललितपुरको प्रमुख नाका टीकाभैरवमा सहरी क्षेत्रबाट पुग्ने तीन सडक छन् । छम्पी-डुकुछाप सडक कच्ची छ भने चापागाउँ-टीकाभैरव सडक पिच हुने तयारीमा छ । एकान्तकुनादेखि नख्खुखोला किनारमा गत वर्ष निर्माण सुरु भएको १६ किलोमिटरको नख्खु करिडोर विवादका कारण रोकिएको छ ।
जिविसको गुरुयोजनामा कान्ति राजपथ, नख्खु करिडोर, लेले-चन्दनपुर र लामाटार-पनौती सडक प्राथमिकतामा छन् । जिविसको तथ्यांकअनुसार कालोपत्रे, ग्राभेल र कच्ची गरी ललितपुरमा कुल ५ सय ५९ किलोमिटर लामो सडक सञ्जाल छ ।
ललितपुर जिविसका पूर्वसभापति माधव पौडेलले सडक विस्तारसँग गाउँमा विकासका पूर्वाधारको पहुँच हुनुपर्ने बताए ।
source:-kantipur










0 commentaires