१२ फागुन, कीर्तिपुर । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको कुरा गर्दा अपत्यारिलो जस्तै हुन्छ नेपाली परिवेशमा । अझ एसएलसीमा शतप्रतिशत पास गराउने भनेको त ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भने झैँ हुन्छ । तर, फर्पिङको अरुणोदय उच्च माध्यमिक विद्यालय भने अहिले यस्तै उद्देश्यमा जुटेको छ ।
विद्यालयले यस वर्ष एसएलसी परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई बन्दसत्रमा राखी अध्यापन थालनी गरेको छ । यस भेगका सामुदायिक विद्यालयमध्ये सबैभन्दा उच्च विद्यार्थी सङ्ख्या रहेको यस विद्यालयमा हाल ३३ छात्र र त्यति नै सङ्ख्यामा छात्रा गरी ६६ जना छात्रछात्रा एसएसलीको तयारीमा जुटेका छन् ।
वि.सं.२०६४ मा नमुना शैक्षिकग्रामको पहलमा फर्पिङ भेगका सम्पूर्ण माध्यमिक विद्यालयमा एसएलसी तयारीका विशेष कक्षाहरू सञ्चालन गरिएका थिए । सो कार्यक्रमलाई स्थानीय विद्यालयहरूले उचित व्यवस्थापन गरेका कारण सामुदायिक विद्यालयमा ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यसै सिकाइलाई संस्थागत गर्ने क्रममा पहिलोपटक सम्पूर्ण विद्यार्थीलाई बन्दसत्रमा राखेको विद्यालयका प्रधानाध्यापक रामकाजी बस्नेतले बताउनुभयो ।
विद्यालयले हरेक दुई दिनमा परीक्षा लिने, दुई दिनभित्र उत्तरपुस्तिका जाँचेर फिर्ता गर्ने, नमुना उत्तरहरूको व्यवस्था गर्ने साथै विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई विशेष जोड दिँदै आएको छ ।
‘घरमा बसेर पढेको भए लोडसेडिङका कारण मैनबत्तीको भरमा पढ्नुपथ्र्यो, तर विद्यालयले हामीलाई माया गरेर भर्खरै सोलार बत्ती जडान गरिदिएको छ, यसले परीक्षाको तयारीको लागि ठूलो सहयोग पुर्याएको छ’ शेषनारायण गाउँ विकास समितिकी छात्रा सङ्गीता गजमेर बताउनुहुन्छ ।
यस विद्यालयमा छिमेकी जिल्ला मकवानपुरका विद्यार्थीहरू पनि अध्यापनका लागि आउने गरेका छन् । रासस









0 commentaires