जनावरले मानिसमाथि शासन गरेको क्षण कस्तो होला ? सुन्दै स्वैरकाल्पनिकझैं लाग्न सक्छ । यस्तै दृश्यहरूलाई क्यानभासमा उतारेका छन् चित्रकार आशा डंगोलले । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी 'अवतार एन्ड इन्टरपि्रटेसन' चित्र प्रदर्शनीमा आशाले जनावरले मानिसमाथि शासन गरेका सन्दर्भ -उल्टो अवतार) र एरिना ताम्राकारले मल्लकालीन महिलाका आकृति उतारेका छन् ।
आशाको हरेक चित्रमा जनावरहरू शक्तिशाली छन् । उनीहरू हतियार बोक्छन् र मानिसमाथि शासन गर्छन् । सेता मानवरूपी घोडाहरूले रथ तानिराखेका छन् । पछाडिबाट हात्ती र सिंहले घोडा -मानिस) लाई लखेटिरहेका छन् ।
'पशुप्रति मान्छेले गर्ने व्यवहार निर्मम हुन्छ,' आशाले नयाँ महाभारतको चित्र देखाउँदै भने, 'जनावरले मानिसलाई शासन गर्यो भने कस्तो देखिन्छ, त्यही कल्पना कोरेको हुँ ।'
प्रेममा लिप्त राधाकृष्णको जोडी झन् रोचक लाग्छ । आशाले राधा -स्त्री) लाई हरिण र कृष्ण -पुरुष) लाई बाघको रूपमा प्रस्तुत गरेका छन् । दुवै आलिंगनबद्ध देखिन्छन् । 'हरिण र बाघ कहिल्यै मिल्छन् ?' उनले सम्भावना देखाउँदै भने, 'मायामा यस्तो पनि हुन के बेर ?' मायादेवीले बुद्ध जन्माउनुअघि देखेको सपनालाई समेत उनले जनावरको कोणबाट प्रस्तुत गरेका छन् । मिथिलाशैली मिश्रति 'मायादेवीको सपना' चित्रले संवेदनाको हिसाबले जनावर र मानवबीच कुनै भिन्नता छैन भन्ने औंंल्याउँछ ।
'वराह अवतार' शीर्षकको चित्र पनि अर्थपूर्ण लाग्छ । मानिसको खप्परजडित ताज पहिरिएको बँदेल हातमा नेपालको नक्सा लिएर हात्तीमाथि चढेको छ । बँदेलका पैतालामुनि मानिसहरू निरीह भएर आकाशतिर हेरिरहेका छन् । आशाका चित्रहरूलाई मानिसभित्रको पशुत्वको रूपमा पनि हेर्न सकिन्छ ।
एरिनाले चाहिँ महिला आकृतिमार्फत उनीहरूको फरक मनोभाव चित्रण गरेकी छन् । मल्लकालीन सुन्दरीहरूको मिलेको जिउडाल, झपक्क गरगहना र सुन्दरतामा नेवारी संस्कृतिलाई पनि मिसाएकी छन् उनले । चित्रहरूमा प्रयुक्त आकृतिलाई प्राचीन अनुभूति दिलाउन गरिएको उनको रंग संयोजन परिपक्व देखिन्छ । 'अप्सरा' शीर्षक चित्रहरूमा उनले पति आशाको समेत सहयोग लिएकी छन् । मण्डला र पौभाबाट प्रभावित यी चित्रमा प्रकृति -स्त्री) र पुरुषको संयोजन पनि देखाउन खोजिएको छ ।
काष्ठमण्डप आर्ट स्टुडियो सम्बद्ध आशा र एरिनाले देशविदेशमा दर्जनौं एकल प्रदर्शनी गरिसकेका छन् । निकै लामो समयपछि यी दुई संयुक्त प्रदर्शनीमा आएका हुन् ।
१८ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्मका चित्रहरू एक्रेलिक र मिक्स मिडियामा सजिएका छन् ।
प्रदर्शनी १० मार्चसम्म चल्नेछ ।
source:-kantipur










0 commentaires