अबधेशकुमार झा इनरुवा, फाल्गुन १४ -प्रधानाध्यापकले अनियमितता गरेको आरोपमा स्थानीयले लगाएको ताला नखुल्दा सुनसरीको मधेशा स्थित जनहित प्राथमिक विद्यालय बिगत दुई महिना यता बन्द रहेको छ । मधेशा गाविस ४ स्थित रहेको उक्त प्राथमिक विद्यालयमा तलाबन्दी हुँदा सवा दुई सय विद्यार्थीको पढाई प्रभावित बनेको छ । विद्यालयका प्रधानाध्यापक आशाकुमारी गुभाजुले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य र अभिभावकहरुले गत पुस ७ गते तालाबन्दी गरेकोले बिद्यालय बन्द भएको हो ।
लामो समयदेखि विद्यालय बन्द भएर विद्यार्थीहरुको पढाइ प्रभावित भएपछि जिल्ला शिक्षा कार्यलय सुनसरीले प्रधानाध्यापकलाई परिवर्तन गरी समस्या समाधान गर्ने तयारी गरेको छ । जिल्ला शिक्षा समितिले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको विवाद तथा अनियमितताको कारण वालवालिका पढाइबाट बन्चित भएको ठहर गर्दै सात दिन भित्र नयाँ प्रधानाध्यापक पठाई समस्या समाधान गर्ने तयारी गरेको हो । हाल प्रधानाध्यापक रहेकी आशा गुभाजुलाई जिल्ला शिक्षा कार्यालय बोलाएर नयाँ प्रधानाध्यापक पठाइ समस्या समाधान गर्ने तयारी गरिएको जिल्ला शिक्षा अधिकारी हरीप्रसाद वस्तीले जानकारी दिए । उनले गुभाजु राहत कोटा अन्तरर्गतको शिक्षक भएकाले स्थायी शिक्षकहरु मध्ये एक जनालाइ प्रधानाध्यापक बनाएर सो विधालय पठाउने बताए । विद्यालयमा एकै परिवारका तीन जना शिक्षकका रुपमा कार्य गरीरहेको र आर्थिक हिनाहिना गरेको स्थानियको आरोप छ । उक्त बिद्यालयमा रहेका चार मध्ये तीन शिक्षक एकै परिवारका हुन् । सबै चारै जना शिक्षक राहत दरबन्दी अन्तरर्गत नै कार्यरत छन् ।
प्रधानाध्यापक गुभाजुले दलित छात्रवृद्धि रकम, पुस्तक वितरण रकम, शिक्षीका उषा चौधरीको ८ महिनाको १५ हजार रुपैंयाँ तलब, एक लाख ५० हजार शिक्षा कार्यलयको अनुदान रकम, १ लाख ५० हजार जिल्ला बिकास समितिको अनुदान रकम, १ लाख १३ हजार गाविसको सहयोग रकम लगायका आर्थिक हिनामिना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बताए । प्रअ गुभाजुले भने आरोपहरु अस्वीकार गर्दे आएकी छन् ।
source:-ekantipur









0 commentaires