काठमाडौ, फाल्गुन १४ - अन्तर्राष्ट्रिय क्यानोनिङ रेन्डेजभोस (आइसिआर) चैत २४ गतेदेखि मस्र्याङ्दीको स्याङ्गेमा हुने भएको छ ।
नेपाल क्यानोनिङ संघको पहलमा हुन लागेको क्यानोनिङमा क्यानोनहरूले हिँडेर, चढेर, पौडेर लक्षित चुनौती पार गर्नेछन् । पर्यटकहरूको बदलिँदो इच्छा र फरक गतिविधिप्रतिको चासोलाई लक्षित गरी यस्तो कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।
यसका लागि १२ मुलुकका दुई सयभन्दा बढी व्यावसायिक क्यानोनहरू सहभागी हुने भएका छन् । 'नेपालले आफ्ना गतिविधिलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ल्याउनु आवश्यक छ,' संघका अध्यक्ष तिलक लामाले भने, 'यो इभेन्टले यसका लागि समेत सहयोग पुर्याउने देखेका
छौं ।' त्यस्तै पर्यटन वर्षमा लक्षित गरिएको पर्यटक आगमनको नजिक पुग्नसमेत यसले सघाउ पुग्ने उनले बताए । 'क्यानोनिङमा सहभागी हुनेमध्ये युरोपबाट १ सय ३५ क्यानोनर आउने पक्का भइसकेको छ,' लामाले भने, 'त्यस्तै अमेरिकाबाट समेत केही नाम दर्ता भइसकेका छन् ।' एक साता लामो अन्तर्राष्ट्रिय क्यानोनिङ घोप्टे खोला, कवीन्द्र खोला, रुन्डु खोला, स्याङ्गे खोला र सन्चे फूमा गरिनेछ ।
'यो कार्यक्रम २०११ का लागि एउटा महत्त्वपूर्ण गतिविधिका रूपमा रहेको छ,' पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रचण्डमान श्रेष्ठले भने, '२०११ लाई लक्षित गरी यस्तै अन्तर्राष्ट्रिय कार्यक्रम प्रत्येक महिना गर्नु आवश्यक छ ।'
क्यानोनिङ अझै व्यवस्थित हुन सकेको भने छैन । यसका लागि आवश्यक स्थान समेत खोजी भएका छैनन् । जबकि सम्भावना निकै बढी छ । 'यस्ता स्थान खोजेर त्यसलाई व्यवस्थित गर्न सके क्यानोनिङ गन्तव्यका रूपमा मुलुकलाई चिनाउन सकिन्छ,' श्रेष्ठले थपे ।
संघले नेपाललाई हिमालयन क्यानोनिङ गन्तव्यका रूपमा स्थापित गराउन पहल गरिरहेको लामाले बताए । 'यसका लागि क्यानोनिङसँगै अन्य साहासिक गतिविधि पदयात्रा, र्याफ्टिङ, रक क्लाइम्बिङ र पर्वतारोहणलाई समावेश गरी प्याकसमेत बनाउने सोचमा छौं,' उनले भने ।
त्यस्तै विश्वको सबैभन्दा बढी उचाइमा क्यानोनिङ गर्न सकिने स्थानको खोजीसमेत संघले गरिरहेको छ । यस अभियानअन्तर्गत नेपाली टोलीले मनाङको नार फूमा ल्याहजु खोला -४ सय ८० मिटर) पत्ता लगाइसकेका छन् । अन्नपूर्ण आधार शिविर (४ हजार ६ सय ६० मिटर) रहेकामा यहाँ ५ हजार २ सय मिटरको उचाइमा क्यानोनिङ गर्न सकिन्छ ।
भोटेकोसी, सुनकोसी, ककनी र मनास्लु अहिलेका मुख्य व्यावसायिक क्यानोनिङका गन्तव्य बनेका छन् ।
source:-ekantipur









0 commentaires