भक्तपुर, माघ १९ - संसद्को महिला बालबालिका तथा समाज कल्याण समितिको निर्देशनविपरीत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच वटा नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेको छ । सीटीईभीटीको सल्लाहाकार समितिको सिफारिसमा सम्बन्धन दिन लागिएको हो । समितिको एक साताअघि बसेको बैठकले तीन वर्षे प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कलेज सम्बन्धनका लागि सिफारिस गरेको छ । परिषद् बैठकले यस्ता कलेजलाई अन्तिम अनुमति दिने गरेको छ । सिफारिस गरिएका प्रायः कलेजले सम्बन्धन पाउने गरेका छन् ।
आफ्नो अस्पताल र पर्याप्त पूर्वाधार नभएको भन्दै संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिले नयाँ सम्बन्धन रोक्न निर्देशन दिएको थियो । निर्देशनविपरीत परिषद् सल्लाहकार समितिले स्टार अस्पताल सानेपा, न्युरो अस्पताल विराटनगर, राप्ती लाइफ केयर अस्पताल दाङ, सहिद स्मारक कलंकी र इवामुरा अस्पताल भक्तपुरलाई सम्बन्धन सिफरिस गरेको हो । सल्लाहकार समितिको अध्यक्षमा सीटीईभीटीका उपाध्यक्ष देवीप्रसाद घिमिरे सदस्यमा सदस्य सचिव जयबहादुर टण्डन, सम्बन्धन महाशाखा प्रमुख किशोरी झा रहन्छन् ।
त्यस्तै बैठकले आर्मी अस्पताल छाउनी, लक्ष्मी अस्पताल दमौली, सुंजग अस्पताल दीपायल, देउखुरी सामुदायिक अस्पताल दाङ, मध्यपुर अस्पताल भक्तपुर, पुष्पाञ्जलि अस्पताल भरतपुर, शान्ति अस्पताल भरतपुर, लाइफ गार्ड अस्पताल विराटनगरलाई नर्सिङ कलेज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न सिफारिस गरेको छ । मध्यपुर लगायत केही अस्पताल खोलेको वर्षदिन पनि पुगेको छैन । बिरामीको उपचार गर्नुभन्दा पनि नर्सिङ कलेज सञ्चालन गर्न अस्पताल खोल्ने प्रवृत्ति बढेको छ । सीटीईभीटीले पूर्वाधारको राम्ररी अध्ययन नै नगरी स्वीकृति दिने गरेको छ । दुई वर्षअघिसम्म ४४ वटा नर्सिङ कलेज रहेकोमा गत वर्ष मात्रै ४५ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिएको थियो ।
सम्बन्धन महाशाखाका प्रमुख झाले सल्लाहकार समितिले गरेको सिफारिस संस्था यस शैक्षिक सत्रलाई नभई अर्को शैक्षिक सत्रका लागि भएको बताए । भौगोलिक बनावट र आवश्यकताका आधारमा कलेजको न्यायोचित वितरण गर्न समितिले निर्देशन दिएको छ । 'नयाँ नीति र योजना अनुसार हुने गरी हाललाई त्यस्ता कलेज/संस्था सो क्षेत्रमा थप खोल्नका लागि बन्द गर्नुपर्ने देखिएको छ,' महिला बालबालिका समितिको अध्ययन प्रतिवेदनमा भनिएको छ ।
संसदीय समितिको निर्देशनविपरीत र शैक्षिक सत्र सकिन लाग्दा नयाँ सम्बन्धन दिन लागेकोप्रति सीटीईभीटीका कर्मचारी संघसंगठनले विरोध जनाएका छन् । 'बिरामीको उपचार गरेर नाफा कमाउने भन्दा पनि नर्सिङ कलेज सञ्चालन गरेर नाफा कमाउन अस्पताल खोलेकालाई सम्बन्धन दिने गरेका छन्,' नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रोहित दाहालले भने- 'यस्तै कार्यले सीटीईभीटीको बदनाम भएको छ ।' निश्चित मापदण्ड बनाएर मात्रै नयाँ संस्थालाई स्वीकृत दिनु पर्ने उनले बताए ।
त्यस्तै कर्मचारी संगठनका अध्यक्ष डाकुरनाथ पराजुलीले स्वीकृति दिँदा नाफामुखी मात्रै नभई विद्यार्थीको भविष्यलाई जोड दिनुपर्ने बताए । त्यस्तै, कर्मचारी संघले पनि नयाँ मापदण्ड बनाएर मात्रै संस्था स्वीकृत दिनुपर्ने बताए ।
source:-ekantipur









0 commentaires