२४ माघ, पोखरा । बरिष्ठ लोकगायक तथा लोक संकलक कल्याण शेरचनको ६४ वर्षको उमेरमा सोमबार विहान निधन भएको छ । बिगत एक बर्षदेखि पित्तथैलीको क्यान्सरबाट पीडित शेरचनको पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा विहान २ बजे निधन भएको हो । शेरचन डेढ महिनाअघिदेखि जण्डिस विगि्रएपछि अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।
पोखरा रानीपौवा निवासी शेरचनको शवयात्रापछि तुलसीघाटमा अन्त्येष्टि गरिने हिमाली सांस्कृतिक परिवार पोखराका अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिनुभयो । शेरचन निवासमा पुगेर आफन्त तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका छन् । ७ भाई छोरा मध्येका कान्छा छोरा शेरचनको श्रीमती र २ छोरी हुनुहुन्छ ।
२०३२ सालदेखि लोक गायनमा सक्रिय शेरचनका ‘कलिलो तामालाई सोध रामलाई’, ‘सोह्र बर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो’, ‘सुखी ज्यानलाई गुँदरी काम्लो’, ‘कता होला हितको दौंतरी’ लगायतका गीतहरु चर्चित तथा लोकपि्रय छन् । उहाँको लोकप्रिय गीत ‘च्याङ्बा हो च्याङ्बा, च्याङ्बाले आज के भन्छ………..’ बोलको गीतको धुन बीबीसी रेडियो नेपाली सेवाको सिग्नेचर ट्युनसमेत हो ।
उहाँले पहिलो पटक २०२० सालतिर ‘किन रोयौ दमिनी भाउजु दमै दाइले कुटेर टयाम्को फुटेर’ बोलको गीत गाउनुभएको थियो । जुन गीत गाउँदा उहाँलेे पहिलोपटक रेडियो नेपालबाट पुरस्कार पनि पाउनुभयो । तर २०३२ सालमा पहिलोपटक ‘घर मेरो खुदिमा, बुढो भयो ठुली के जानु रोदीमा’ भन्ने गीत रेकर्ड भएको थियो ।
लोकगीत भनेपछि बाल्यकालदेखि हुरुक्क हुने शेरचन लोकगीत प्रतियोगितामा कहिल्यै दोस्रो हुनु परेन । पारिवारीक पृष्ठभुमि एवं संगीतकार गोपाल योञ्जनसँग हिमचिम बढेपछि शेरचनको संगीतको यात्रा अघि बढेको थियो । उतिबेला कवि भुपि शेरचन, गायकहरु पुर्ण नेपाली, क्षेत्र गुरुङ सहितको उहाँको एउटा गायिकी समुह थियो ।
नेपालमा मासपिटी भित्राउने श्रेय उहाँ र ज्ञानबहादुर थापालाई नै जान्छ । उहाँले तत्कालीन राजा वीरेन्द्रको राज्यभिषेकको अवसरमा पहिलोपटक सैनिक मञ्चमा मासपिटी गर्नुभएको थियो । त्यसैले पनि उहाँलाई धेरैले मासपिटीको विशेषज्ञको उपमा समेत दिने गरेका छन् ।
source:-onlinekhabar










0 commentaires