काठमाडौ, माघ २४ - स्वास्थानी नुहाउन सांखुस्थित शालीनदी जानेसंग स्थानीय चियानास्ता पसलले मनपरी मुल्य असुल्दा तीर्थयात्री मारमा परेका छन् ।
एक कप चियाको २० देखि ५० रुपैया तिर्नु परेको तीर्थ यात्रुहरुको गुनासो छ । सिन्धुपाल्चोकका माधव दंगालको तीन जनाको परिवारको चिया, नास्ताको ६ सय रुपैया तिरेको बताए ।
'पहिले मुल्य नसोधी खाइहाले । ६ सय रुपैया तिनुपर्यो' उनले शनिबार कान्तिपुरसित भने, 'म त छक्क परे । कसरी यत्रो भयो भन्दा उत्तर दिएन् ।' पसलेहरुले मूल्य सूची नै नराखी मनोमानी ढंगले चियानास्ता, खानाको पैसा लिने गरेको उनले बताए ।
साँखु साली नदी माघ मेला व्यवस्थापन मूल समितिका अध्यक्ष गगन रन्जितले खाना, चिया नास्ता पसलेले तीर्थयात्रीबाट मनोमानी ढंगबाट पैसा उठाएको स्वीकार गरे । उनका अनुसार अरु दिन भन्दा शनिबार मेला हेर्न आउने बढी ठगिने गरिने गरेका छन् । अन्य दिनभन्दा शनिबार तीर्थ यात्रीको उल्लेख्य सहभागीता हुने भएकोले जति मुल्य उठाए पनि हुन्छ भन्ने भावना पसललेमा रहेको उनले जनाए ।
'पसललेहरुले मनोमानी ढंगले चिया, नास्ता, खानाको मुल्य उठाएको गुनासो आइरहेको छ,' उनले भने, 'अब प्रत्येक पसलमा मुल्यसूची राख्ने व्यवस्था गर्छौं ।' साँखु प्रहरी प्रभागका निरीक्षक खडगप्रसाद पौडेलले आधिकारिक रुपमा पीडितको गुनासो नआएकाले कारवाही अघि बढाउन नसकिएको दाबी गरे । 'उजुरी आए कारवाही गर्छौ,' उनले भने, 'यस विषयमा मेला व्यवस्थापन समितिसंग छलफल भइरहेको छ ।'
माओवादी सांखु इलाका इन्चार्ज ज्ञानबहादुर लामाले मनोमानी ढंगले पैसा लिएर दर्शनाथी ढगेको विषयमा व्यवस्थापन समितिसंग पटकपटक छलफल गर्न खोजे पनि चासो नदिएको बताए । 'व्यवस्थापन समितिका साथीहरुसंग छलफल लागि आग्रह गर्यौं तर मतलब गर्दै्न्' उनले भने । एमाले क्षेत्र नं २ का इलाका सदस्य शंकरमान श्रेष्ठले पनि पसलेले तीर्थयात्रीबाट चर्को मुल्य असुल्ने गरेको व्यापक जनगुनासो आएको बताए । चांडै दलका प्रतिनिधि र व्यवस्थापन पक्षसंग छलफल गरिने र चर्को मुल्य असुल्ने पसलेमाथि कारवाही गरिने उनले जनाए । सुन्टोल गाविसका कांग्रेस सभापति शुक्रराज श्रेष्ठले तीर्थयात्री ठगिनुको मुलकारण प्रशासनको कमजोरी भएको बताए । 'दलका प्रतिनिधिले के गर्न सक्न् यो प्रशासनको कमजोरी हो' उनले भने ।
source:-ekantipur









0 commentaires