जनक केसी, जाजरकोट माघ २५ - 'दुई सन्तान ईश्वरका वरदान' भन्ने सरकारी नारा फलाक्दै गाउँघर डुल्ने स्वास्थ्यकर्मीकै १९ छोराछोरी रहेछन्। जिल्लाको थालारैकर उपस्वास्थ्य चौकीका ग्रामीण स्वास्थ्य कार्र्यकर्ता मानबहादुर बुढाथोकीका १२ छोरा र ७ छोरी छन्। 'जन्मन त २६ जना जन्मिएका हुन्,' ५९ वर्षीय बुढाथोकीले भने, '७ छोराछोरी बाल्यावस्थामै मरे।' बुढाथोकीका दुई पत्नी छन्। जेठी पानसरीबाट ५ छोरा र ४ छोरी अनि कान्छी बालदरीबाट ७ छोरा र ३ छोरी छन्। उनका १८ नातिनातिना भइसकेका छन्।
आफू घरको एक्लो सन्तान भएको सन्तान बढाउन लागेको उनले बताए। 'सुरुमै २ सन्तान खेर गए, लगातार छोरी जन्मे,' उनले भने, 'सन्तान बढाउने र छोरा पाउने आसमा सन्तान धेरै भए।'
स्वास्थ्यकर्मी भएर पनि धेरै सन्तान जन्माउनुमा उनको नभई श्रीमतीहरुको दोष भएको छिमेकीको आरोप छ। 'सौताबीच छोरा जन्माउने प्रतिस्पर्धा हुँदा उनले चाहेर पनि रोक्न सकेनन्,' एक छिमेकीले भने, 'वास्तविकतै यही हो।'
०४६ सालमा स्वास्थ्य सेवाको जागिर थालेका बुढाथोकी गाउँ गाउँमा परिवार नियोजनसम्बन्धी सल्लाह दिँदै हिँड्छन्। 'एक त स्वास्थ्यकर्मी, अर्काे परिवार नियोजन सम्बन्धी काम गर्ने मान्छे,' सुर्खेत, दुरपालाका उनले भने, 'गाउँ नै ढाक्ने सन्तान लिएर कुन मुख लिएर सुर्खेत फर्कने?'
ज्योतिषीले सन्तान रोक्नु पाप भनेकाले रोकथामतिर नलागेको उनले बताए। 'आफ्नै सन्तानले किन समयमा परिवार नियोजन नगरेको भनेर गाली गर्छन्,' उनले सुनाए, 'तिम्रा कारणले हामीलाई गरीखान धौधौ भयो भन्छन्।' बुढाथोकी परिवार जाजरकोटमा डेरामा बस्छ। सुर्खेतमा घरमात्र छ।
आफूले दर्जनभन्दा बढी सन्तान जन्माए पनि बुढाथोकीले अरुलाई परिवार नियोजनसम्बन्धी राम्रो सल्लाह दिने गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. झलक शर्मा गौतमको भनाइ छ। 'आफू चेतिसकेकाले अरुलाई सही सल्लाह दिन्छन्,' डा. गौतमले भने, 'यो उनको राम्रो पक्ष हो।'
source:-nagriknews










0 commentaires